सर केयर स्टारमर (१९६२– ), बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा करिब दुईतिहाई बहुमत (४११ सांसद) को शानदार विजयबाट १४ वर्षपछि सत्तामा पुगेको लेबोर पार्टीका नेता र नयाँ (५८औं) प्रधानमन्त्री हुन् । पेशाले नामुद कानुन व्यवसायी, फूटबलका राम्रा खेलाडी, संगीतमा भ्वाईलिन वादक, पत्नी भिक्टोरिया स्टारमर (१९७३- ) पूर्व वकिल हाल राष्ट्रिय स्वास्थ्यसेवाकी अधिकृत, १–१ छोरा र छोरीका पिता प्रधानमन्त्री स्टारमर, कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका भारतीय कुल वा मूलका हिन्दू धर्मावलम्बी ऋषि सुनकको उत्तराधिकारीको रुपमा सत्ताको बागडोर सम्हाल्न थालेका छन् ।
बीबीसी लगायत अन्य संगठनहरूले गरेको ‘एक्जिट पोल’ लगायतका मत सर्वेक्षणबाट पहिले नै थाहा भईसकेको थियो, यसपाली सत्तारुढ कन्जरभेटिभ पार्टी संसदीय निर्वाचन नराम्रोसँग हार्दैछ । १२१ सिटमा मात्र जीत कन्जरभेटिभ पार्टीको यस्तो नराम्रो हार १८३२ पछिको पहिलो हो भनिन्छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्सिट) पछि उत्पन्न विवाद र अस्थिरता, अध्यागमन तथा अवैध आप्रवासी सम्बन्धी मामिलामा कमजोरी, कोरोना महामारी र लकडाउनले पारेका असर, कन्जरभेटिभ पार्टीले सत्ता सम्हाले (२०१०) देखि राष्ट्रिय स्वास्थ्यसेवाको स्तर खस्किँदै गएको, अर्थतन्त्र सम्हाल्न नसकेको र मुद्रास्फीति र महँगी अत्यधिक बढेको, डलरको तुलनामा पउन्ड स्टर्लिङ् कमजोर हुँदैगएको, युक्रेन र गाजाका युद्धलाई ठूलो सहायता पुर्याएको आदि, कन्जरभेटिभ पार्टीको १४ वर्षे सत्तारोहण विसर्जनको कारण भए ।
बेलायतमा लिखित संविधान छैन । स्थापित परम्परा अपनाउँदै राजदरबार र संसदकाबीच उच्च समझ्दारीका आधारमा सत्ता सञ्चालन र हस्तान्तरणको प्रक्रिया अमनचैनका साथ गर्ने चलन छ । यो समझ्दारी र चलन स्थापित गर्नको लागि बेलायतले सयौं वर्षको कसरत गरेको इतिहास छ । राजदरबार र संसद मिलेर चले भने संविधान पनि चाहिन्न भन्ने उदाहरणका लागि बेलायत नै रहेको छ । बेलायतको इतिहासमा सबभन्दा लामो पदावधि सम्हाल्ने रोबर्ट वालपोल (१६७६–१७४५) दुई दशकसम्म (१७२१–१७४२) प्रधानमन्त्री बने भने लिज ट्रस (१९७५– ) सात हप्ता प्रधानमन्त्री (२०२२) भएर पचासौं दिनमा निवृत्त भईन् । स्टारमर दम्पत्तिमा, औजार निर्माणका श्रमिक बाबु रोड्नी र नर्स आमा जोसेफाईनका चार छोराछोरी मध्येका केयरलाई यो नाम, लेबोर पार्टीलाई संसदमा नेतृत्व गर्ने संस्थापक नेता जे. केयर हार्डी (१८५६–१९१५) को नामबाट प्रेरित भएर राखिएको रहेछ । उनी आफूलाई श्रमिक समुदायको मानिस भन्न रुचाउँछन् । ‘मेरो कार्यकालको पहिलो दिनदेखि ब्यापक सुधारको काम सुरू भईहाल्ने छ....’ भन्ने आश्वासन दिएर आएका प्र.म.को कार्यकाल गत शुक्रबारदेखि शुरू भएको छ ।
................
(विभिन्न सञ्चारस्रोतबाट बटुलिएको जानकारीको आधारमा)
चन्द्रमणि गाैतम