भक्तपुरको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले १३औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी ३ दिन सदस्य उपस्थिति तथा प्रतिवेदन वितरण गरी विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।
सदस्यहरुबाट प्राप्त सल्लाहसुझावलाई समेत समेटेर गत शनिवार सीमित सदस्यको उपस्थितिमा साधारणसभा सम्पन्न गरेको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष राजेश कुमार राजथलाको सभापतित्व एवं नेफ्स्कुनका पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ४ का अध्यक्ष उत्तम थापा, भक्तपुर बचत संघका लेखासमिति संयोजक बालमुकुन्द उपाध्याय, जिल्ला सहकारी संघ भक्तपुरका सञ्चालक सहाना पसखलः एवं विभिन्न सहकारी संस्था प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
सभामा संस्थाका उपाध्यक्ष महेन्द्र राजथलाले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष राजथलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६५ सालमा स्थापना भएको संस्था सहकारी मुल्यमान्यता अनुरुप अगाडि बढेको र सदस्यहरुको वित्तीय एवं आर्थिक सामाजिक उत्थानका लागि क्रियाशील रहेको बताए । संस्थाको कार्यक्षेत्रभित्र रहेका सदस्य र समुदायको मन जितेकाले दरिलो, विश्वसनीय र संस्कारयुक्त संस्थाको रुपमा स्थापित भएको उनले जनाए ।

संस्थाले अण्डरग्राउण्ड सहितको जनता सदस्यमैत्री भवन निर्माण कार्य अगाडि बढाइसकेको समेत उनले जनाए । संस्थाले एसएमएस र आइपीएस बैंकिङका साथै क्यूआरकोड भुक्तानी सुविधा सञ्चालनमा ल्याएको र विभिन्न रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी सदस्यहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आएको बताए । यस आ.व.मा संस्थाको पुँजीकोष वृद्धि गरी पुँजीको आधार बलियो बनाउने, लगानीलाई विविधिकरण गर्ने, थप गुणस्तरीय सेवा प्रदान गर्ने, वित्तीय शिक्षा तथा तालिम दिने, सदस्यको माग अनुसार सेवा केन्द्र विस्तार गर्ने, स्वास्थ्य तथा बीमा योजना सञ्चलान गर्ने योजना रहेको उनले बताए ।
संस्थाका सचिव राजु प्रजापतिले आ.व. २०७७।०७८ को प्रगति प्रतिवेदन तथा चालु आ.व.को प्रस्तावित कार्ययोजना सभामा प्रस्तुत गरेका थिए । प्रस्तावित कार्ययोजमा संस्थाले महिला सशक्तिकरण कार्यक्रम अगाडि बढाउने, सीपमूलक, आयमूलक र जानकारीमूलक तालिम आयोजना गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने रहेको कार्यक्रम रहेको छ ।
संस्थाका कोषाध्यक्ष कृष्णगोपाल राजथलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी २ करोड ५९ लाख ६४ हजार, जगेडा कोष १ करोड ५५ लाख २२ हजार, बचत २० करोड ४२ लाख, ऋण लगानी १९ करोड ४८ लाख ३३ हजार गरी कुल कारोबार २४ करोड ८२ लाख १२ हजार रहेको जानकारी गराए । संस्थाले सो अवधिमा २५ लाख ३६ हजार खुद बचत गर्न सफल भएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सडकमा वेवारिसे अवस्थामा जीवनयापन गर्न बाध्य व्यक्तिहरुलाई सेवा पु¥याउन समर्पित सेवाघरलाई सहयोग गरेको छ भने ‘एक रुपैया गरिबका लागि, मेरो सेवा सधैंका लागि’ कार्यक्रम अन्तर्गत प्रतिशेयर सदस्य १२ रुपैयाका दरले ३४ हजार ३३२ नेपाल ज्येष्ठ नागरिक सहकारी संस्थालाई प्रदान गरेको छ ।