बुधबार, भाद्र ३ गते २०८३

राष्ट्र बैंक अध्ययनः कोशी प्रदेशका सहकारीमा देखियो पुँजी वृद्धि

आषाढ १०, २०८१ सोमबार
राष्ट्र बैंक अध्ययनः कोशी प्रदेशका सहकारीमा देखियो पुँजी वृद्धि


कोशी प्रदेशमा रहेका सहकारी संस्थाको पुँजीमा वृद्धि भएको देखिएकाे छ। नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले उक्त कुरा देखाएको हो ।

केन्द्रीय बैंकले प्रकाशित गरेको आ.व.२०८०/८१ अर्धवार्षिक प्रतिवेदनले  कोशी प्रदेशमा रहेका सहकारी संस्थाको पुँजी वृद्धि भएको देखाएको छ । अध्ययन अनुसार २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा सहकारी संस्थाको कुल पुँजी ५.६ प्रतिशतले वृद्धि भएको छ । २०७९ पुस मसान्तमा सहकारी संस्थाको पुँजी ७.५ प्रतिशतले वृद्धि भएको थियो ।  समीक्षा अवधिमा सहकारीको कुल बचत १५.८ प्रतिशतले बढेको छ भने कुल कर्जा २.८ प्रतिशतले घटेको छ । २०७९ पुस मसान्तमा सहकारीको बचत १४.२ प्रतिशत र कर्जा ४.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सहकारी संस्थाको सदस्य संख्या ६.७ प्रतिशतले बढेको छ भने कर्मचारीे संख्या २.४ प्रतिशतले घटेको छ ।

वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा सहकारी संस्थाको सदस्य संख्या १४.१ प्रतिशत र कर्मचारी संख्या २२.६ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये ऋण लगानीका आधारमा नमूना छनौट गरिएका १० वटा ठुला बचत तथा ऋण सहकारी संस्थाबाट प्राप्त विवरणको आधारमा सहकारी क्षेत्रको अवस्था विश्लेषण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी ब्याज पाइने, आफ्नो बसोबास गरेको स्थानमा वित्तीय सुविधा पाइने, सहज पहुँच हुने हुनाले निक्षेपमा वृद्धि भएको देखिन्छ भने कर्जा लिनेप्रक्रिया छोटो र कम झन्झटिलो भएता पनि अधिक ब्याजदरका कारण सहकारी संस्थाहरुबाट प्रवाह हुने कर्जा घटेको अध्ययनले देखाएको छ । अध्ययनले हाल बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्याहरुको समाधान गर्न सुझाएको छ ।    

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता