शुक्रबार, कार्तिक ७ गते २०८३

उत्पादनमा जाने सहकारीलाई सरकारले सहुलियत ऋण दिनुपर्छः अध्यक्ष मल्ल

आषाढ ७, २०८१ शुक्रबार
उत्पादनमा जाने सहकारीलाई सरकारले सहुलियत ऋण दिनुपर्छः अध्यक्ष मल्ल


राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी संस्थालाई उत्पादनमा जानको लागि सरकारले सहुलियत ऋण दिनुपर्ने बताएकी छिन् । महासंघले आयोजना गरेको पहिलो रोजगार दाता मेलामा बोल्दै  मल्लले राष्ट्रिय सहकारी बैंक मार्फत सहुलियत कर्जा दिन माग गरिन् ।

सहकारीले बचत तथा ऋणको मात्र कारोबार नगरेको भन्दै उनले उत्पादन र सेवाको क्षेत्रमा पनि काम गर्दै आएको बताइन् । सहकारी संस्थाबाट १४/१५ प्रतिशत ब्याज दरमा ऋण लिएर व्यवसाय गर्न नसक्ने भन्दै सरकारले सहुलियत कर्जा उपलब्ध गराउन उनले माग गरिन् । महँगोमा ऋण लिएर उद्योग व्यवसाय गर्न सम्भव नभएको भन्दै सरकारले सहुलियत ऋण उपलब्ध गराउनु पर्नेमा उनको जोड छ । सहकारीले उत्पादन गरेका वस्तुको विक्री गर्न उत्पत्तिको प्रमाणपत्र नपाएको भन्दै उनले निजी कम्पनी मार्फत वस्तु विक्री गर्नु परेको गुनासो गरिन् । सहकारी मार्फत पाँच सय साना तथा मझौला उद्योग  सञ्चालन हुँदै आएको मल्लले जानकारी दिइन् । सहकारीले चिया, कफी जस्ता वस्तुको उत्पादन गर्दै आएको र पूर्वी नेपालमा चक्लाबन्दी खेती समेत सुरु भएको उनको भनाई छ । सहकारी क्षेत्रले पनि अन्य क्षेत्र सरह नै उपदान, सामाजिक सुरक्षा कोष र सुरक्षा भत्ताको व्यवस्था मिलाएको भन्दै मल्लले अन्य निकायको तुलनामा सहकारीमा सेवा सुविधा कम नभएको उल्लेख गरिन् ।

नेपालमा श्रम  सहकारी दर्ता गरेको भए पनि सरकारको सहयोगको अभावले बन्द हुने अवस्था पुगेको उनले बताइन् । प्रहरीसँगको सहकार्यमा जेलमा रहेका बन्दीहरुलाई सिप विकास गरी रोजगारी सृजना गर्न आफुले पहल गर्ने मल्लले जानकारी दिइन् । सहकारी क्षेत्रमा पनि अवसर छ र रोजगारीको लागि विदेश जाने युवाशक्तिलाई स्वदेशमा नैे केही गर्न सकिन्छ भन्ने सन्देश मेलाले दिने उनको भनाई छ । 
 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता