शुक्रबार, कार्तिक ७ गते २०८३

‘मैले समस्त श्वानलोकको लागि स्वर्गमा विश्वास गर्छु, जहाँ मेरो . - पाब्लाे नेरुदा


आषाढ ५, २०८१ बुधबार
‘मैले समस्त श्वानलोकको लागि स्वर्गमा विश्वास गर्छु, जहाँ मेरो . - पाब्लाे नेरुदा
हजुर ! म समस्त श्वानलोकको खातिर स्वर्गउपर विश्वास गर्छु /जहाँ मेरो कुकुर मित्रताको रुपमा प्रशंसकझैँ आफ्नो पुच्छर-पंखा हल्लाएर / मेरो आगमनको प्रतीक्षा गरिरहेको हुन्छ....  – पाब्लो नेरुदा

दक्षिण अमेरिकी मुलुक चिलीका प्रख्यात कवि पाब्लो नेरुदा (१९०४–१९७३) सही अर्थमा जनकविको उपाधि पाउन लायक थिए, जसले प्रेमलाई विद्रोह र विद्रोहलाई प्रेम मान्छन् र यी दुईलाई नदीको दुई किनारा मान्छन्, जो जनमानसमा प्रवाहित भइरहेका हुन्छन् ।

नेरुदालाई विश्वसाहित्यको शिखरमा विराजमान गर्नमा उनका कविताहरू मात्र होइन, बरु उनको बहुआयामी व्यक्तित्व पनि कारक थियो । उनी कविका अतिरिक्त राजनीतिक नेता तथा कुटनीतिज्ञ पनि थिए । चिलीका तानाशाहको बिरुद्ध आवाज उठाउँदा उनीबिरुद्ध पक्राउ वारेन्ट जारी भएपछि ज्यान बचाउन देश छोडेर इटलीमा शरण लिनुपर्यो । तर त्यहाँ पनि उनलाई सहज भएन ।

मीठो रक्सी, राम्रा महिला र पीडित मानिसहरूलाई मन पराउने यी कविको कवितामा त्यस्तो के थियो, जसलाई हजारौँ प्रेमी–प्रेमिकाहरूले आफ्ना प्रेमपत्रमा समेत सजाएर राखेका हुन्थे । मूख्य कारण थियो, प्रेम र विद्रोहको अद्भुत समन्वय ।

उनका कविताहरू मसीले होइन पीडितहरूको रगत लेखिन्छ पनि भनियो । ‘माच्चुपिच्चुको टुप्पो’ र ‘कैन्टो जर्नेल’ उनका प्रख्यात कृति हुन् । ‘एकजुट मानिसहरुलाई कुनै शक्तिले हराउन सक्दैन....’ भन्ने गीतले उनको जिन्दगीका अन्तिम दिनहरूलाई सम्झना दिलाउँछ, जो उनको जीवनका नाटकीय वर्ष पनि भए ।

१९७० मा चिलीमा साल्भाडोर अलेन्देले कम्युनिस्ट सरकार बनाए, जसलाई लोकतान्त्रिक प्रक्रिया तथा निर्वाचनद्वारा सत्तामा पुर्याएको पहिलो कम्युनिस्ट सरकारको रुपमा उल्लेख गरिन्छ । त्यो सरकारले अर्को वर्ष उनलाई फ्रान्सका लागि चिलीको राजदूत बनायो ।

सोही वर्ष नेरुदाले साहित्यमा नोबेल पुरस्कार पाए (१९७१)। १९७३ मा अगस्टो पिनोचेले अलेन्देको हत्याका साथै सत्ता पल्टाएर आफैँ शासक बने । अलेन्दे समर्थक हजारौँ चिलियनहरूको समेत हत्या भयो । क्यान्सरका बिमारी नेरुदाले यो जनसंहारको अन्त्यका लागि प्रार्थना गरे तर अलेन्देको हत्याको १२ दिनपछि उनको पनि दुःखद निधन भयो । उनको घर पनि पिनोचे शासनका सेनाले तोडफोड गरिदिए । (बीबीसीका आधारमा)

२३ वर्षको उमेरमै उनको पहिलो कविता संग्रह ‘ट्वेन्टी लभ पोएम्स् एन्ड ए सङ् अफ डिस्पेयर’ प्रकाशित भएको थियो ।
माथिको कवितांश, व्यंग्य शैलीको उनको उत्कृष्ट कवितामध्येको एक ‘कुकुर मरेको छ’ (ए डग ह्याज डाइड) बाट झिकिएको हो :

Yes, I believe in a heaven for all dogdom
where my dog waits for my arrival
waving his fan-like tail in friendship.