शुक्रबार, कार्तिक ७ गते २०८३

खिम्ती-२ जलविद्युत आयोजनाको सेयर व्यवस्थापकमा नागरिक लगानी कोष नियुक्त

जेठ ३१, २०८१ बिहीबार
खिम्ती-२ जलविद्युत आयोजनाको सेयर व्यवस्थापकमा नागरिक लगानी कोष नियुक्त

पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको सेयर प्रत्याभूति व्यवस्थापन कार्य  नागरिक लगानी कोषले गर्ने भएको छ।

पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा  कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । 

पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको जारी पुँजी तीन अर्ब ३० करोड रुपैयाँमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको हो । साधारण सेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरले उक्त सेयरको मूल्य ६६ करोड रुपैयाँ छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । आयोजनाको २.२९ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्स र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको उनले बताए । पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताए । 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता