श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय ‘श्रमाधान रोजगार मेला’ शुरू भएको छ ।
ललितपुरस्थित पाटन बहुमुखी क्याम्पस परिसरमा आयोजित मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताइन् ।
मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने भन्दै मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन् ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । मेलाको उपलब्धी आजको भोलि नै नदेखिने भन्दै यसले दीर्घकालीन रुपमा सकारात्मक परिणाम देखाउने जनाए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दैनिक १५सय को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न मद्दत पुग्ने बताए । मेलालाई ठूलो उपलब्धी रुपमा लिन सकिने बताए । मेलामा नीजि तथा सरकारी प्रतिष्ठानका ८० वटा स्टल रहेका छन् ।