शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले समुदायमा आधारित सहकारी संस्थामा बचत फिर्ताको नभई तरलतामा वृद्धि भएर ऋण लगानीमा समस्या भएको बताएका छन् ।
संस्थाको २४औं स्थापना दिवसको अवसरमा आयोजित समापन कार्यक्रममा बोल्दै उनले संस्थामा पर्याप्त तरलता रहेकाले ऋण लिएर उद्यमी बन्न सदस्यहरुलाई आग्रह गरे । सदस्यहरुको व्यवसायिक योजना र तिर्न सक्ने क्षमताको आधारमा संस्थाले २ करोडसम्म ऋण लगानी गर्ने उनले जानकारी दिए । सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नति नै संस्थाको ध्येय भएकाले ऋण सुविधा लिएर व्यापार व्यवसाय गरी जीवनस्तर उकास्न उनले आग्रह गरे ।
संस्थाले ४ बर्षे रणनीतिक योजना बनाएको र आगामी असार मसान्त सम्म १ अर्ब ५० करोड कुल कारोबार पु¥याउने संस्थाको लक्ष्य रहेको भन्दै उनले अहिले लक्ष्यको नजिक पुगेको उल्लेख गरे । २ प्रतिशत बढी ब्याजको लोभमा संस्थाका सञ्चालक चिन्दै नचिनी बचत गर्दा भक्तपुरका जनताको पनि सहकारीमा बचत डुबेको उनको भनाई छ । बाहिरका सञ्चालकले सहकारी खोल्ने र स्थानिय व्यक्तिहरुलाई कर्मचारी राखेर कमिशनको प्रलोभनमा बचत संकलन गर्न लगाएकाले अहिले धेरैजना मानिस सहकारीबाट पीडित भएको कासुलाले बताए । यहाँँको बचत लगेर तराई लगायतका केही जिल्लामा जग्गा किनेको र अहिले घरजग्गामा मन्दी आएकाले सदस्यको बचत डुबेको उनको भनाई छ ।
सहकारी अभियान्ता र नियमक निकायको कम्जोरीका कारण सहकारीमा समस्या आएको उनले बताए । शुभकामना सामुदायिक संस्था भएको र सदस्यको बचतको सुरक्षाको जिम्मा आफुहरुले लिने उनको भनाई छ । सदस्यहरुमाझ सहकारी शिक्षा निरन्तर चलाउन आवश्यक रहेको उनको भनाई छ । संस्था बिग्रनु र सप्रनुमा सञ्चालकहरुको हात रहने भन्दै उनले कतिपय संस्थाका सञ्चालकको स्वार्थले सहकारी क्षेत्रमा समस्या बढेको बताए । संस्थाले नाफालाई मात्र नहेरी समुदायको हितको लागि पनि विभिन्न सामाजिक गतिविधि गर्दै आएको उनले जानकारी दिंए । संस्थाले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई तहगत रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

संस्थाकी व्यवस्थापक रेश्मी श्रेष्ठले संस्थाको समग्र वित्तीय अवस्थाको वारेमा जानकारी दिँदै २०५७ सालमा ७५ जना सदस्य र जनही १० हजार रुपैया शेयर पुँजी गरी कुल ७ लाख ५० हजारबाट संस्था सुरु भएको बताइन् । गत बैशाख मसान्तसम्म शेयर पुँजी १० करोड ७८ लाख ६४ हजार, जगेडा कोष १४ करोड २७ लाख,७० हजार,संस्थागत पुँजी १४ करोड ४२ लाख २५ हजार र अन्य कोषहरु ६१ लाख २४ हजार रहेको उनले बताइन्। संस्थामा कुल बचत १ अर्ब ५ करोड ३७ लाख ३३ हजार र ऋण लगानी १ अर्ब ४५ लाख १८ हजार पुगेको र १० हजार २१० जना सदस्य सहित कुल सम्पत्ति १ अर्ब ४३ करोड ५६ लाख ४८ हजार पुगेको उनको भनाई छ ।
सदस्यहरुले संस्थाप्रति विश्वास गरी निरन्तर कारोबार गरेका कारण वित्तीय रुपमा सबल बन्दै गएको उनले बताइन् । सामाजिक क्रियाकलाप, सदस्य सन्तुष्टी र चुस्त आन्तरिक व्यवस्थापनका कारण संस्था सबल भएको उनले जनाइन् । सदस्यहरुमा सिपमुलक र आयमुलक तालिम प्रदान गरी उनीहरुको आयस्तर वृद्धिमा संस्थाले सघाउँदै आएको उनले बताइन् । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न शुभकामना मोबाइल बैकिङ्ग, इटेलर र अन्य सेवाहरुमा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमा नै कनेक्ट आइपीएस सुविधा ल्याउने भएको छ । संस्थाले ऋणमा १६ प्रकार र बचतमा २३ प्रकारको प्रडक्ट सञ्चालनमा ल्याएको छ । कुल सम्पत्तिमा नियमित बचतको हिसा ५५ प्रतिशत रहेको समेत व्यवस्थापक श्रेष्ठले जानकारी दिइन् ।
संस्थाका कोषाध्यक्ष नारायण बहादुर बासुककलाले संस्थाले बनाएको कार्यविधि–२०८० अनुसार असल ऋणी छनौट गरेको बताए । ऋण लिएको मितिबाट नै ऋणको साँवाब्याज नियमित भुक्तानी गर्ने सदस्यहरुलाई असल ऋणीको रुपमा सम्मान गर्ने गरिएको उनले उल्लेख गरे । कार्यक्रममा ७ जना असल ऋणीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । १० लाख भन्दा माथी ऋण लिएर २ बर्षसम्म नियमित रुपमा किस्ता तिर्ने ऋणीहरुलाई असल ऋणीको रुपमा सम्मान गर्ने र १ प्रतिशत ब्याज छुट एवं २ लाखसम्म बिनाधितो इजी लोन दिने उनले बताए । संस्थाबाट ६६८ जनाले ऋण लिएको र त्यस मध्ये ४९२ जनाले नियमित ऋण भुक्तानी गर्दै आएका छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष वालमुकुन्द सुवालले संस्था वित्तीय रुपमा सुरक्षित रहेको र शेयरपुँजी भन्दा जगेडा कोष बढी रहेको बताए । संस्थालाई सबल बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न उनको आग्रह छ । संस्थाका निर्वतमान अध्यक्ष न्हुच्छेकुमार त्वायनाले समुदायमा शुभकामना उत्कृष्ट संस्थाको रुपमा स्थापित भइसकेको बताए ।
कार्यक्रममा उपाध्यक्ष निर्मला सुवालले स्वागत मन्तब्य राखेकी थिइन भने सचिव पुष्पलाल तिमिलाले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २४ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा संस्थाले रजत वर्षको लोगो समेत लोकार्पण गरेको थियो ।

नेपालपत्र संवाददाता