आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१ खर्ब २२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले उक्त कुरा देखाएको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.११९ अर्ब ६० करोड बराबरको भएको थियो । त्यसैगरी यस अवधिमा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई रु.१२६ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो । यस अवधिमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.६ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैकले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल वस्तु आयात २.४ प्रिितशतले कमी आई रु.१३०३ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई रु.११७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।
नेपालपत्र संवाददाता