छिमेकी भारतका एघारौँ राष्ट्रपति (२००२–२००६) अबुल पाकिर जैनुलअब्दिन (एपीजे) अब्दुल कलाम (१९३१–२०१५) वैज्ञानिक तथा ईन्जिनियर पेशागत पृष्ठभूमिबाट ख्याति कमाउँदै भारतको सर्बोच्च ओहोदामा पुगेका तेस्रो मुस्लीम व्यक्तित्व हुन् । समुद्रमा माछा मारेर निर्वाह गर्ने (मछुवार) परिवारमा जन्मेर, आमाका चुरा बेचेर कलेज भर्ना भएका र भारतको सर्वोच्च ओहोदासम्म पुग्नसक्ने कलामको जीवन स्वयंमा कर्मयोगी सन्देश एवं प्रेरणादायी मान्नुपर्छ ।
उनले करिब चार दशक भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन र अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) मा आफ्नो अद्वितीय योगदान पुर्याए । भारतको पहुँच अन्तरिक्षसम्म पुर्याउने (१९८० मा ‘रोहिणी’ उपग्रह प्रक्षेपण) कार्यको अतुलनीय श्रेय यिनलाई दिईन्छ । भारत रत्न, भारत भूषण, भारत विभूषणलगायत अनेक प्रसिद्ध पुरस्कार विजेता, यिनले भारतलाई पहिलो र दोस्रो परमाणु शक्ति परीक्षण (१९७४ र १९९८), ब्यालेस्टिक मिसायल तथा प्रक्षेपण–यानको प्रविधि विकासमा निर्णायक योगदान पुर्याए ।
यसैबीच भनिहालूँ, भारत विरोधाभास मान्यता प्रशस्तै भएको राष्ट्र हो, जो महात्मा गान्धीको अहिंसावादी सर्वोपरि नेतृत्वमा स्वतन्त्र त भयो तर स्वतन्त्रतापछि भएका विभाजन, दङ्गा, रक्तपात र नरसंहारको हिंसात्मक द्वन्द्व दुनियाको आजसम्मकै विराट र भयानक मानिन्छ । भारत संसारको सबभन्दा विशाल लोकतान्त्रिक मुलुक हो, तर त्यहाँ लोकतन्त्रको सुदृढीकरणलाई उछिनेर सैन्य सुदृढीकरण अगाडि गईरहेको देखिन्छ । विश्वमा चीनपछि दोस्रो धेरै सैन्यसंख्या भएको भारत, हतियार आयात वा खरिद गर्ने अग्रणी मुलुक हो । कलाम साहेबको योगदान भारतलाई शक्तिशाली बनाउने कार्यमा नै केन्द्रित रह्यो ।
कुरान र गीता एकसाथ पढ्ने, कर्नाटकका भक्तिसंगीत हरेक दिन सुन्ने, हिन्दु संस्कृतिमा आस्था राख्ने, यी व्यक्तित्व सादगी र सदाचारका लागि ज्वलन्त उदाहरण वा प्रमाण मानिन्छन् । २०७३ साउने संक्रान्तिकै दिन उनी असमको एउटा इन्स्टिच्युटमा बसोबासयोग्य ग्रहको निर्माण (Creating a Livable Planet Earth) विषयमा ब्याख्यान दिँदादिँदै गम्भीर हृदयाघात भएर त्यहीँ ढले । स्थानीय अस्पताल पुर्याउँदा उनलाई ‘अब छैनन्’ घोषणा गरियो ।
उनको उपरोक्त भनाई अरविन्द गुप्ता, मुकुल चतुर्वेदी र अक्षय जोशीको सम्पादनमा २००४ मा प्रकाशित संगालो ‘सुरक्षा र कुटनीति : जरुरी दस्तावेज’ (Security and Diplomacy: Essential Documents) को पृ. १४४ मा उल्लेख छ :
"If a country is to be corruption free and become a nation of beautiful minds, I strongly feel there are three key societal members who can make a difference. They are the father, the mother and the teacher."
चन्द्रमणि गाैतम