सुलभाः पुरुषा राजन् सततं प्रियवादिनः ।
अप्रियस्य च पथ्यस्य वक्ता श्रोता च दुर्लभः ।।
अपहरित सीतालाई ससम्मान फर्काउन र रामसँग युद्ध नगर्न आफ्नो दाजु रावणलाई सुझाव दिँदै रावणका भाई विभीषण आफ्ना विचार यसैगरी व्यक्त गर्दछन् ।
लंकाका राजा रावणको कान्छो भाई, शुरूदेखि नै रामभक्त विभीषण रामायणका एक महत्वपूर्ण पात्र हुन्।
तीन दाजुभाई रावण, कुम्भकर्ण र विभीषणले धेरै दिनसम्म कठोर तपस्या गरेर ब्रह्माजीलाई रिझाएपछि तीनैजनाले ब्रह्माबाट वरदान पाए, जसमा रावणले तिनै लोकमा विजयी हुने, कुम्भकर्णले ६ महीना इन्द्रासन पाउने र विभीषणले भगवद्भक्तिको शक्ति पाउने याचना थियो ।
दुवैले मागेको वरदान त पाए । तर कुम्भकर्णले इन्द्रासन नै मागेकोले भयानक खैलाबैला मच्चिएपछि ब्रम्हाकी छोरी सरस्वती कुम्भकर्णको मुखमा गएर बसिदिएर ‘इन्द्रासन’ भन्न खोजेको जिब्रो रड्केर ‘निद्रासन’ भएकोले कुम्भकर्ण सुताहाको उदाहरण भएको हो ।
आफ्नो परिवार र वंशमाथि घात गरेको कारणले समाजको नैतिक चेतनाले रामायणका धेरै पात्रहरूसँग मिल्ने नामकरण गर्न रुचाउँदैनन् । यसमा, दरबारमा कुरा लगाएर राजपाट भाँड्ने मन्थरा, जसको चरित्र हिजोआज देखिनुलाई ‘मन्थरावृत्ति’ भनिन्छ । उत्तराधिकार क्रम मिचेर आफ्नो छोरो राजा बनाउने आशक्ति र सौतेनी दाउपेच बोकेकी कैकेयी, र दाजुको राज्य ध्वस्त गरिदिने भाई विभीषण । कैकेयी, मन्थरा र विभीषणलाई अनैतिक र धोकेवाज चरित्रको रुपमा समाजले चिनेको छ ।
आलोचनात्मक र विश्लेषणात्मक ढङ्गले पढ्दैजाँदा रामायणमा धेरै विरोधाभास पाइन्छ र रामको राज्यलाई ‘रामराज्य’ मान्नु पनि अनर्थ हुनपुग्छ । सौतेनी दाउपेच, निहित स्वार्थ र ‘मन्थरावृत्ति’ को भरमा राज्यारोहण र वनबासमा भाँडिएको दरबारलाई कसरी रामराज्यलाई सुहाउँदो दरबार मान्ने ?
पतिव्रता सीताको सतित्वमाथि नै निराधार १२–२७ कुरा काटेर आखिर सीतालाई गर्भवती अवस्थामै दरबार र परिवार छोडेर हिंड्न विवश बनाउने, यस्तै हुन्छन् रामराज्यका उदाहरणीय जनता ? अस्तु ।
चन्द्रमणि गाैतम