बुधबार, भाद्र ३ गते २०८३

बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ


श्रावण २८, २०८३ बिहीबार
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ
इन्द्रनारायण सुबेदी
==========
छिचोल्दै अप्ठ्यारा समयसँग भिड्दै अघि बढे
अनेकौँ घुम्तीमा कठिन दिन खेप्दै कति लडे
गरौँ श्रद्धा आस्था मन हृदयले बोझ नबनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।१।

थियौँ बच्चा कच्चा जुन बखतमा बालक थियौँ
उनैले हुर्काए कति किसिमका झन्झट दियौँ
सिकौँ सिक्ने धेरै विषय म छु सर्वज्ञ नभनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।२।

चलेको यो यात्रा युगयुग छ पुस्ता कति गए
कहाँ हुन्थ्यौँ हामी युगजनित सम्बन्ध नभए
छिचोल्दै आएका कठिन दिन सम्झौँ सब गनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।३।

बगाए माटोमा श्रम र पसिना साधन गरी
यहाँ सम्मन् आए कहरसरिका जीवन तरी
तिनै हुन् आस्थाका अनुपम कला न्यून नगनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।४।

छँदा सानो हामी कति कति बिते रात अनिदा
बसी भोको नाङ्गो हरपल दिलाएर सुबिधा
उपध्रोका पोका कलह पहिलेका नउधिनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।५।

पिता माता द्यौता सरह भवका तारक बुझौँ
बनी आज्ञाकारी कर चरणमा दैनिक पुजौँ
सिकाएका कैयौँ हितकर कुरा हुन् अझ गुनौंं
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।६।

मिठो बोली बोल्ने नजिक रहने गर्छ जसले
खुसी पारी राम्रा अकल पनि सिक्ने छ उसले
रही सामुन्नेमा वचन तिनका हर्दम सुनौँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।७।