धर्ती छ टेक्न सिङ्गो आकाश बन्छ छानो
दुख्छन् मनुष्य व्यर्थै लागेर चोट सानो।१।
सन्तोष गर्न सक्ने मान्दैन शोक सुर्ता
त्यो ढुक्क हुन्छ आफैँ खाएर एक मानो।२।
के के न हुन्छ जस्तो हल्ला सुनेर काम्ने
बानी अझै छ उस्तै हो यो व्यथा पुरानो।३।
अन्धो भएर लाग्ने त्यो स्वार्थको भकारी
के ठान्छ कुन्नि आफू हो राष्ट्रको अखानो।४।
बन्छन् विभेदकारी मान्छे भएर मान्छे
कोही छ काँध चढ्दै कोही हुँदा अचानो।५।
इन्द्र नारायण सुवेदी