शनिबार, कार्तिक ८ गते २०८३

सहकारीमा समस्या आउनुमा सबैपक्ष उत्तिकै जिम्मेवार छन्, सबै मिलेर समाधान खाेज्नुपर्छ


जेठ १६, २०८१ बुधबार
सहकारीमा समस्या आउनुमा सबैपक्ष उत्तिकै जिम्मेवार छन्, सबै मिलेर समाधान खाेज्नुपर्छ

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले गोष्ठी आयोजना गर्नुको उदेश्य के हो ? 

हामीले सहकारी संस्थामा भएका पदीय जिम्मेवारी रहेका पदाधिकारीलाई लक्षित गरेर अनुसार तालिम तथा गोष्ठी आयोजना गर्दै आएका छौं । सहकारी ऐननियम अनुसार संस्था सञ्चालन गर्न सघाउने उदेश्य गोष्ठीको रहेको छ । कोषाध्यक्षहरुलाई तालिम तथा शिक्षाको माध्यमबाट सबल र सक्षम बनाई संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न गोष्ठीले सघाउँछ भन्ने हाम्रो विश्वास छ । 

संस्थाका पदाधिकारीहरु सक्षम भएनन् भने सदस्यको बचत दुरुपयोग हुन सक्छ र यसले सहकारी अभियानप्रति नै नकरात्मक सन्देश जान सक्छ । यसर्थ, यस्ता तलिम तथा गोष्ठीको माध्यमबाट जिम्मेवारी बोध गराएर उनीहरुलाई सक्षम  बनाउन हामी लागि परेका छौं । हामीले यस अघि अध्यक्षहरुको गोष्ठी गरिसकेका छौं । उक्त गोष्ठीमा कतिपय संस्थाका अध्यक्षहरुलाई आफ्नो काम, कर्तव्य र अधिकार नै थाहा नभएको हामीले पायौं । संस्थामा अध्यक्षको भूमिका के हुन्छ, कसरी संस्था सञ्चालन गर्दा सहकारी राम्रो हुन्छ भन्ने जस्ता विषयमा अध्यक्षहरुलाई गोष्ठी प्रशिक्षित गरेका थियौं । 

अध्यक्ष मात्र सक्षम भएर पुग्दैन र एउटा संस्थालाई राम्रो बनाउनको लागि सिङ्गो टिम नै सक्षम हुनुपर्छ भन्ने हाम्रो बुझाई हो । यस अनुरुप हामीले कोषाध्यक्ष गोेष्ठी गर्न लागेको हौं । कतिपय कोषाध्यक्षहरुमा संस्थामा आफ्नो भूमिका के हो भन्ने कुरा थाहा नभएको पनि हामीे पाएका छौं । कोषाध्यक्ष निस्कृय हुँदा पनि संस्थामा समस्या आउँछ र संस्थालाई वित्तीय रुपमा अगाडि बढाउन समस्या पर्छ । कतिपय संस्थाका कोषाध्यक्षहरुले आफुलाई कोषाध्यक्षको भूमिका थाहा नै नभएको र साथीभाईले बस्दे भनेको भएर बसेको भन्नेहरु हामीले भेटेका छौं । त्यसले गर्दा अहिले संस्था दुर्घटनमा परेको हामीले पायौं । कोषाध्यक्षको भूमिकालाई बुझाउन र संस्थालाई वित्तीय दुर्घटनामा पर्न नदिनको लागि गोष्ठी गर्दैछौं । यस पटकको गोष्ठीमा चार वटा सेसन राखेका छौं र ती  सेसनमा कोषाध्यक्षको भूमिका, काम कर्तव्यका विषयमा प्रशिक्षण दिइन्छ । 

गोष्ठीमा कस्ता संस्थाका कोषाध्यक्ष सहभागी हुनुहुन्छ ?

संघमा आवद्ध सदस्य संस्थाहरुले गोष्ठीमा सहभागिता जनाइदिए  हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । तर सबै संस्थाका कोषाध्यक्ष एकै पटक सहभागी हुन सम्भव नहोला । संस्थाहरुले आवश्यकता महसुस गरेको खण्डमा क्रमशः यस्ता गोष्ठी गर्दै जाने हाम्रो योजना छ । गोष्ठीमा समस्या परेका संस्थाहरुलाई सहभागी नगराउने भन्ने हुँदैन । संघको  सदस्य बनेका संस्थाहरुलाई व्यवसायिक र सक्षम बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । 
सबै संस्थाबाट सक्रिय सहभागिताको हामीले अपेक्षा गरेका छौं । गोष्ठीमा कोषाध्यक्षहरुलाई मात्र सहभागी गराउछौं र त्यस बाहेका पदाधिकारी सहभागि नगराउने निर्णय गरेका छौं । गोष्ठीमा सदस्यको बचत कसरी सुरक्षित गर्ने र सहकारीमा जुन समस्या आइरहेको छ, त्यसको कसरी समाधान गर्ने भन्ने विषयमा पनि सिकाइन्छ । कोषाध्यक्ष पदमा रहेर पनि आफ्नो भूमिका के हो भन्ने थाहा नभएका साथीहरु हुनुभयो भने गोष्ठीले साथर्कता पाउने हाम्रो विश्वास छ । पदको महत्व र जिम्मेवारी नबुझेकासाथीहरु सहभागी हुनु भयो भने संस्था र स्वयं व्यक्तिलाई पनि फाइदा पुग्छ । 

संस्थामा कोषाध्यक्षले आफ्नो जिम्मेवारी नबुझ्दा कस्ता समस्या आएको पाउनुभयो ?

पदिय रुपमा आफ्नो जिम्मेवारी पुरा गर्न सकिएन भने संस्था दुर्घटनामा पर्न सक्छ । बचत तथा सहकारीले पैसाको कारोबार गर्ने भएकाले कोषको महत्व नबुझेका व्यक्ति पदमा रहिरहँदा ठुलो जोखिम निम्तिन सक्छ । पदमा बस्ने तर केहीपनि थाहा नपाउने पदाधिकारीका कारण सहकारी समस्यामा परेको हामीले पायौं । कतिपय संस्थामा पैसाको प्रलोभन देखाएर जिम्मेवारीमा राखिदिएका कारणले पनि धेरै दुर्घटना भएका छन् । यस्ता समस्यालाई चिर्नकै लागि हामीले यो गोष्ठी राखेका हौं । 

ललितपुर रहेका सबै बचत तथा सहकारी संस्थाका कोषाध्यक्षलाई समेटेर कार्यक्रम गर्न सकेको भए अझ प्रभावकारी हुन्थ्यो होला नि ? 

सहकारी अभियानको सुद्धिकरणको लागि हामीले निरन्तर रुपमा बहस पैरवी गर्दै आएका छौं । संस्थाहरुलाई सबल बनाउनको लागि हामीले शिक्षा तथा कार्यक्रमलाई प्राथामिकतामा राखेर अगाडि बढाएका छौं । संघले सदस्य संस्थाको विकास र प्रवर्धननको काम गर्न सकेन भने संघको केही अस्तित्व हुँदैन । संघमा आवद्ध संस्थाहरुले आवश्यकता महसुश गरे भने यस्ता तालिम तथा गोष्ठीलाई निरन्तरता दिन्छौं । एकैपटक सबै संस्थाहरुलाई  समेटेर गोष्ठी गर्दा प्रभावकारिता आउन सक्दैन । तर क्रमशः सबै संस्थाका पदाधिकारीहरुलाई तालिम गोष्ठी मार्फत प्रशिक्षित गर्दै जाने हाम्रो योजना छ । 

दुई दिनको गोष्ठीमा कुन कुन विषयमा सिकाइन्छ ? 

सिक्ने र सिकाउने कुरा जीवन भरी चलिरहने प्रक्रिया हो । दुई दिनको बसाईमा धेरै कुरा त सिक्न नसकिएला तर कोषाध्यक्षहरुको लागि आवश्यक पर्ने मुख्य टुल्सहरु पक्कै पनि सिक्नहुनेछ । विश्व अर्थतन्त्रमा आएको मन्दी र यसले  सहकारी क्षेत्रमा पारेको प्रभावको विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी वित्तीय संस्थामा संस्थागत सुशासन कायम गर्न गर्नुपर्ने मुख्य प्रावधान, साकोसलाई व्यवस्थित गर्न अपनाउनु पर्ने विधिहरु के के हुन, सहकारी संस्था सञ्चालनमा कोषाध्यक्षको भूमिका के हुन्छ र सहकारीको आन्तरिक र वाह्य लेखा परिक्षणको सम्बन्ध र लेखा परिक्षण गर्दा अपनाउनु पर्ने विधि र प्रक्रिया के के हुन सक्छन् भने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । 

विगतमा सहकारीमा व्यवस्थापन प्रमुख नै सबै थोक हो भने थियो, तर अहिले सबै पदधिकारीहरुलाई जिम्मेवार बनाउन खोजिएको देखियो नि ? 

हिजोका दिनमा सहकारीमा व्यवस्थापकलाई मात्र सम्पूर्ण जिम्मा दिँदा समस्या आयो भन्ने कुरा आएको छ । ऐननियमले पनि सञ्चालक समितिलाई एपेक्स बडीको रुपमा परिभाषित गरिदिएको छ । बोर्डले पोलिसी बनाउने र व्यवस्थापनले लागु गर्ने गरी ऐनले स्पष्ट पारिदिएकोे छ । पोलिसी बनाइरहँदा संस्था कसरी सञ्चालन भइराखेको छ, सदस्यहरुको बचत सुरक्षित तवरले परिचालन भएको छ कि छैन भन्ने कुरामा सञ्चालक समितिले हेर्नुपथ्र्यो । त्यसमा सञ्चालक समिति चुकेको छ । जसले गर्दा सहकारीमा अहिले ठुलो समस्या सृजना भएको छ । व्यवस्थापन र सञ्चालक समिति सँगसँगै गयो भने मात्र संस्था राम्रो हुन्छ । 

सहकारी संस्थाहरुमा समस्या आउनुको कारण के हो ?  

सहकारी संस्थामा समस्या आउनुका धेरै वटा कारण छन् । यसमा सञ्चालक समिति र व्यवस्थापन मात्रै दोषी छैनन् । त्यसका साथै सरकार पनि त्यत्तिकै दोषी छ । सदस्यहरुले खाइनखाई राखेको स सानो बचतलाई सञ्चालकहरु दुरुपयोग गरेका छन् । यो दुखद पक्ष हो । भविष्यका लागि भनेर गाँस कटाएर राखेको पैसा अचलन हुनु राम्रो होइन । सहकारीमा समस्या आउनुमा सबै पक्ष जिम्मेवार छन् । धेरै बर्ष अगाडि सहकारीमा यस्तै प्रकृतिको समस्या आइसकेपछि राज्य बेलामा सचेत हुनपथ्र्यो । ओरेन्टल सहकारीको समस्या अहिलेको समस्या होइन । धेरै बर्ष अगाडि समस्या आएको थियो । त्यहि समस्यालाई हेरेर सरकारले राम्रो पोलिसी बनाएर लागु गरेको भए आज यो समस्या आउने थिएन । सरकारले वित्तीय कारोबार गर्न अनुमति दिने तर नियमन तथा अनुगमन प्रभावकारी रुपमा नगर्दा नै यो समस्या आएको हो । सहकारीमा समस्या आउनुमा राज्य पनि दोषी छ । त्यसका साथै अभियानको तर्फबाट पनि गल्ती भएको छ । 

सहकारीका छाता संघहरुले संस्थालाई सदस्य बनाउने तर ती संस्थाले के गरिराखेका छन् भनेर नर्हेदा पनि समस्या आयो भनिन्छ नि ? 

संघहरुको काम बहस तथा पैरवी गर्ने हो, त्यो काम हामीले गरिराखेका छौं । वित्तीय रुपमा ठुलो कारोबार गर्दै आएका केही संस्थाहरुले संघहरुलाई समेत टेर्दैन थिए । ‘म नै सर्वेसर्वा हुँ’ भन्ने गलत सोचका कारण अहिले ती संस्थासँगै सिंगो अभियानले समस्या भोग्नु परिराखेको छ । त्यस्ता संस्थाहरु नै वित्तीय रुपमा संकटमा परेका छन् । संघमा आवद्ध भएका र शिक्षा तालिममा सहभागी भएका संस्थाहरुमा कमै मात्रामा समस्या देखिएको छ । संघ, महासंघ नै नचाहिने र आफु खुशी सञ्चालन भएका संस्थाहरुले गर्दा नै सहकारीप्रति अविश्वासको वातावरण बनेको हो । वित्तीय रुपमा ठुलो कारोबार गर्ने सहकारी संस्थाहरु राजनीतिक पहुँचका आधारमा पनि चले । राज्यका निकायसँग पहुँच भएको देखियो र पहुँच भएपछि सबै कुरा सम्भव हुने भएपछि कसैको डर भएन । राजनीतिक नेतृत्व देखि प्रशासनका मान्छेहरुलाई समेत आफ्नो हातमा लिएर उनीहरुले संस्था सञ्चालन गरे । अहिले तिनै संस्थाहरु प्रमुखरुपमा समस्यामा परेका छन् । ती संस्थाहरुलाई नियमन तथा अनुगन गरी समयमा कारवाही गर्न नसक्दा यस्तो अवस्था निम्तिएको हो । 

एक दुई प्रतिशत सहकारीमाा आएको समस्याले सिङ्गो अभियानलाई प्रभावित पारेको देखियो नि ? 

सहकारीप्रति फैल्याइएको भ्रमलाई चिर्नै पर्छ तर यो भ्रम चिर्न चुनौती छ । सबै सहकारी समस्यामा छैनन् । पहिलो कुरा त सदस्यहरुले सहकारीको मर्म नै बुझ्न सकेनन् । ब्याजको लोभमा परेर जुनसुकै संस्थामा बचत गर्ने प्रवृतिले पनि समस्या ल्याएको हो । अर्कोतर्फ सरकारले पनि सहकारीलाई उद्देश्य अनुसार चलाउन नसक्दा समस्या आयो । समयमा प्रभावकारी नियमन भएन । यसमा राज्यको पनि कम्जोरी रह्यो । अहिले सहकारी भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था छ । यसलाई चिर्न अभियान एकजुट भएर लाग्नुपर्छ । सहकारीमार्फत् आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सरकारले लिएको छ । संविधानले पनि सहकारीलाई अर्थतन्त्रका ३ खम्बा मध्ये एक खम्बाको रुपमा परिभाषित गरेको छ । तर व्यवहारमा त्यो देख्न पाइएको छैन । सहकारीप्रतिको गलत बुझाईलाई चिर्न संघ, महासंघ र सबै सरोकारवाला पक्ष लाग्नुपर्छ । समाजलाई योगदान पुर्याएका सहकारी संस्थाहरु पनि समाजमा धेरै छन् । सदस्य र समाजप्रति उत्तरदायी भएर काम गर्ने संस्थाहरु पनि कम छैनन् । ती संस्थाहरुको प्रचार प्रसार हुन सकेको छैन । राम्रा सहकारीको बारेमा प्रचार गर्न सके सहकारीप्रतिको भ्रम कम गर्दै  लैजान सकिन्छ । 

सहकारीले गरेको लगानी समयमा फिर्ता नहुँदा पनि समस्या बढेको भनिन्छ नि ? 

कतिपय सहकारी संस्थाका साथीहरुले बिना धितो गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भएको बताउनु भएको छ । जो जसँग धितो राख्ने पैसा छैन, त्यस्ता व्यक्तिहरुलाई बिना धितो ऋण लगानी गरेर उनीहरुको आर्थिक उन्नति गर्नु सहकारीको मर्म हो । तर अधिकांश सहकारीले ऋण उठाउन सहजीकरण गरिदिन भन्दै हामीलाई आग्रह गर्ने गर्नुभएको छ । हामीसँग पनि त्यस्तो मेकानिज्म छैन । कानुनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण गठन हुन सकेको भए यो समस्या आउँदैन थियो र ८० प्रतिशत समस्या हल हुन्थ्यो । पछिल्लो समय प्रदेश र स्थानीय सरकारले ऋण चुक्ता गर्न लागि सूचना निकालिदिएपछि त्यसको प्रभाव सामान्य रुपमा भएपनि देखिएको छ । सरकारले  ऋण नतिर्ने सदस्यहरुको हकमा विद्युत, पानी, नागरिकता, बैंक खाता जस्ता सुविधाबाट बञ्चित गरिदिने हो समस्या समाधान हुन्छ र संस्थाहरुले गरेको लगानी पनि उठ्छ । सरकारले सहयोग गरिदिने हो हामी सघाउन तयार छौं र आवश्यकता अनुसारको तथ्याङ्क उपलब्ध गराउछौं । 

ललितपुर सहकारी अभियानका लागि नमुना जिल्ला भए पनि त्यो साखलाई जोगाउन सकेन नि ? 

यो दुखद कुरा हो । हामीमा पनि कमीकमजोरी रह्यो होला । वित्तीय रुपमा ठुलो कारोबार गर्ने संस्थाहरु संघमा आवद्ध नै छैनन् । ती संस्थाहरु समस्या पर्दा जिल्लाको सिङ्गो अभियान नै प्रभावित भयो । हल्लाकै भरमा बचत फिर्ता माग्न संस्थाहरुमा लाइन लाग्नु आवश्यक छैन । सहकारी भनेको सदस्यकै हौ । संस्थामा सम्पत्ति र दायित्व कति छ, त्यसलाई विश्लेषण गरेर हेर्नुपर्छ । संस्थाको सम्पत्ति र दायित्व बराबरी छ भने ढुक्क भएर कारोबार गर्न म आग्रह गर्दछु । सदस्यहरुले पनि संस्थाको साधारण सभामा भाग लिदाँ सबै कुरा बुझ्नुपर्थ्याे । बार्षिक साधारण सभामा अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति प्रतिवेदनका साथै संस्थाको सम्पुर्ण कारोबारमाथि छलफल गरी पारित गर्नुपर्थ्याे । त्यो बेलामा प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरी गलत गरेको भए सञ्चालकहरुलाई सचेत गराउनुपथ्र्यो । सदस्यहरु साधारण सभामा जाने भत्ता लिएर मात्र हिँड्ने काम भयो । त्यही बेलामा राम्रोसँग वित्तीय प्रतिवेदनहरु अध्ययन गरेको भए आज यो समस्या आउने थिएन । अहिलेको समस्यालाई समाधान गर्न सदस्यहरुको बचतफिर्ता गर्नैपर्छ । केही समय ढिला होला तर सदस्यले छाक  कटाएर जम्मा गरेको बचत फिर्ता पाउनैपर्छ । राष्ट्र बैंकले सहयोग गरेन भने ए क्लासको बैंकले नै एकै पटक पैसा फिर्ता दिन सक्दैन । सहकारी भनेको आफैले आफुलाई नियमन गर्ने हो र हामी नै मालिक र कामदार हौं । नियतवश गलत गर्नेलाई कारवाही गर्नुपर्छ । एकै पटक नसके पनि क्रमश सदस्यको बचत फिर्ता गर्दै जानुपर्छ ।