नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २९औँ साधारणसभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कँडेलले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन, गरिबी घटाउन र रोजगारी सिर्जना गर्न सहकारीले विशेष योगदान पुर्याएको जनाए । सहकारीहरुले छरिएर रहेको पूँजी, सीप र क्षमतालाई एकीकृत गरी नागरिकको जीवनस्तर उठाउन, रोजगारी सिर्जना गर्न र उत्पादनमूलक क्रियाकलाप अघि बढाउन सबैभन्दा बढी प्रभावकारी रहेको उनले उल्लेख गरे । केही सहकारीले गरेको बदमासीका कारण सहकारी क्षेत्रको काम कारबाहीमा प्रश्न तेर्सिने गरेको उनले उल्लेख गरे ।
त्यसैगरी सभामा बोल्दै प्रदेश नं १ का सरकारका सहकारी रजिस्ट्रार बलराम निरौलाले सहकारीले व्यावसायिकता र सेयर सदस्यको पेशाव्यवसायलाई प्रवर्धन गर्न संस्थाहरु लाग्नुपर्ने औंल्याए ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एनएमसीको कूल सम्पत्ति रु ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७८५ रहेको छ उल्लेख गरे। एक लाख पाँच हजार भन्दा बढी सेयर सदस्य रहेको संस्थाको सेयर पूँजी रु. एक अर्ब ११ करोड ६० लाख छ हजार रहेको छ । संस्था र यस अन्तर्गत सञ्चालित विभिन्न उद्योग व्यवसायमा ८०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।