शुक्रबार, कार्तिक ७ गते २०८३

बुद्धिमानी र इमानदारीका साथ वर्तमानमा बाँचः गौतम बुद्ध


जेठ १०, २०८१ बिहीबार
बुद्धिमानी र इमानदारीका साथ वर्तमानमा बाँचः गौतम बुद्ध
‘एशियाका ज्योति’ भगवान गौतम बुद्ध (ई.पू.५६३/४८०–४८०/४००) लुम्बिनी (आधुनिक नेपाल) मा जन्मेको सर्वप्रथम यकिन गर्ने कलिङ्ग (आधुनिक उडिसा, भारत) का सम्राट अशोक (ई.पू. ३०४-२३२) हुन् । लुम्बिनीको अशोक स्तम्भ त्यसमा ब्राम्ही लिपीमा लेखिएको ब्यहोरा त्यसैको प्रमाण हो । अशोक स्तम्भमा लेखिएको छ, “जब राजा देवानाम्प्रिय प्रियदर्शिनलाई बीस वर्षअघि अभिषेक गरिएको थियो, तब उहाँ स्वयं यहाँ (लुम्बिनीमा) आउनुभयो (सन् तेस्रो शताब्दी) र पूजा गर्नुभयो, किनभने बुद्ध शाक्यमुनीको जन्म यहीँ भएको थियो । उहाँले घोडा कुँदिएको ढुङ्गा बनाउन लगाउनुभयो, जो वरदान प्राप्त यहीँ जन्मनु भएको देखाउनका लागि हो । उहाँले लुम्बिनीको गाउँलाई करमुक्त बनाउनु भयो, र आफ्नो उपजको आठौँ अंशमात्र बुझाउँदा हुने बनाइदिनु भयो ।” सोही अशोक स्तम्भमा १३औँ वा चौधौँ शताब्दीतिर रिपु मल्लले ‘ॐ मणि पद्मे हूँ’ थप्न लगाए ।\
 
मूर्तीपूजा र बलिप्रथाको पुरातन नेपालमा बुद्ध जन्मभूमि झाडी र जङ्गलले छोपेको उपेक्षित र बेमतलबको अथाह स्थानका रुपमा थियो । भारतको औपनिवेशिक शासनका ब्रिटिशहरूलाई सन् १८१६ (बि.सं. १८७२) मा सुगौलीको सन्धी गर्दासम्म यो तथ्य थाहा थिएन । थाहा हुँदो हो त सो सन्धी गर्दा लुम्बिनीलाई नेपालसँग रहन दिने थिएनन् ।
 
बुद्धका ‘३२ लक्षण’ थिए रे ! उनले शाक्य परम्पराअनुसार बिहे गर्नुअघि रणकौशल तालिम लिएका थिए । सुगठित शरीर, सुन्दर अनुहार, लामालामा कान, नीला आँखा, तेज स्मरण शक्ति, अद्वितीय चिन्तनशक्ति आदि ३२ गुण बताइएको छ । भगवान बुद्धका उपदेश विश्वभरि निर्विवाद र श्रद्धाका साथ पढिन्छ । मुसलमानहरू पनि बुद्धलाई यथोचित श्रद्धा गर्छन् । संसारमा सबभन्दा धेरै र सबभन्दा ठूला मूर्तीहरू बुद्धकै छन् । यसमा भारतीयहरूको कपटाचारले बिथोल्न खोजेको छ । उनीहरू ‘बुद्ध भारतमा जन्मेका हुन्’ भन्ने प्रपोगण्डा गर्न छोड्दैनन् । लुम्बिनीमा जन्मेका बुद्ध कसरी भारतमा जन्मेका हुन्छन् ? भनी सोध्यो भने उनीहरू ‘सिद्धार्थ गौतम लुम्बिनीमा जन्मे, तर सिद्धार्थको बुद्धत्व त भारतमै जन्मेको हो नि !” भन्ने कुतर्क गर्छन् ।
buddhopades.jpg
बुद्धलाई चिनाउने काम प्राचीन कालमा मौर्य सम्राट अशोकले गरे । भारतका अन्य मौर्य सम्राटहरूले पनि गरे । आधुनिक कालमा बुद्ध जन्मभूमिको पहिलो उत्खनन् खड्ग शम्शेर (वि.स. १९२८-७८) ले एक जर्मन वैज्ञानिकका साथ गरेका हुन् । त्यसपछि राष्ट्र संघका महासचिव ऊ थान्टले राष्ट्र संघबाट लुम्बिनीका लागि आवश्यक प्रारम्भिक कार्यक्रम अगाडि सार्नुका साथै विश्व प्रसिद्ध जापानी डिजाइनर केन्जो टाङ्गेलाई लुम्बिनी विकासको गुरूयोजना बनाउन लगाए । जापानका दशौँ सामाजिक संस्थाहरूले बुद्धका उपदेशहरू प्रकाशित गरी संसारभरि पुर्याए ।
 
दरबारको उत्तराधिकारी राजकुमार सिद्धार्थले राजपाट त्यागेर बुद्धत्व आर्जन गरे । उनी बैशाख पूर्णिमाका दिन जन्मे । सोही तिथिमा बुद्धत्व प्राप्त गरे । सोही तिथिमा ८० वर्षको उमेरमा आज भारतमा पर्ने कुशिनगरमा महापरिनिर्वाण (देहान्त) भए । उनको निधन भीक्षाटनमा पाएको दूषित खानाबाट फूड प्वाइजनिङ् बाट भएको विश्वास गरिएको छ ।