शुक्रबार, कार्तिक ७ गते २०८३

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. ओझा नियुक्त


जेठ २, २०८१ बुधबार
नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. ओझा नियुक्त


काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै अध्यक्ष अग्रवालले नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए ।

जनप्रशासन विषयमा विद्यावारिधी हासिल गरेका डा. ओझासँग द काठमान्डौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरुमा काम गरेको अनुभव रहेको छ ।