काठमाण्डाै । कतार र इजिप्टको मध्यस्थतामा भएको युद्धविराम सम्बन्धी सम्झौताको प्रस्ताव प्यालेस्टिनी विद्रोही समूह हमासले स्वीकार गरेको छ । सम्झाैतामा पहिलो चरणमा छ हप्ताको युद्धविराम गर्ने र त्यस अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकको रिहा गर्ने उल्लेख रहेको इजिप्टका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
अनि हमासले रिहा गरेको ती प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गर्ने प्रस्तावमा उल्लेख ग।रिएकाे बताइएकाे छ । यस्तै प्रस्तावमा इजराइली सेना विस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुने र जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिने उल्लेख रहेको सीएनएनको खबरमा उल्लेख छ । हमासले स्वीकार गरेको यो प्रस्तावमा सम्झौता भएमा गाजामा चलिरहेको द्वन्द्व रोक्न सम्भावित सफलताको प्रतीक भएको सीएनएनले जनाएको छ ।
याे इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गरेका छन् । तर इजरायलले यो प्रस्ताव आफ्ना माग पूरा गर्न नसक्ने भन्दै रफाहामा सैन्य कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको सीएनएनले जनाएको छ ।एकजना अमेरिकी उच्च अधिकारीले हमासले प्रस्ताव स्वीकार गर्नु महत्त्वपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय दबाबबाट इजरायल पनि यो प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरेकाे समेत सीएनएनले जनाएको छ ।

तर यी कुराहरू चलिरहेकै बेला इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोही रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर आक्रमण गरेको थियो । इजरायली सेनाले पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएकोमा विरोध गर्दै इजिप्टले यो कदम खतरनाक रहेको बताएको समाचारमा उल्लेख छ ।
नेपालपत्र संवाददाता