आइतबार, आश्विन १८ गते २०८३

आजदेखि लगानी सम्मेलन शुरू हुँदै ५५ देशका लगानीकर्ता सम्मिलित हुँने


बैशाख १६, २०८१ आइतबार
आजदेखि लगानी सम्मेलन शुरू हुँदै ५५ देशका  लगानीकर्ता सम्मिलित हुँने

काठमाडौँ : आजदेखि काठमाण्डौमा शुरु हुन लागेको  दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १ हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको लगानी बाेर्डले जनाएकाे छ । उपलब्ध जानकारी अनुसार यस सम्मेलनमा  २ हजार ४ सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। 

सम्मेलनमा बिभिन्न ५५ देशका लगानीकर्ता  आउँदै छन्। यसमा  नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय क्षेत्रबाट चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदै छन्। 

त्यसरी नै दक्षिण कोरिया, अस्ट्रेलिया र मलेशियाका ९/९ जना सम्मेलनमा सहभागी हुन लागेका पनि लगानी बोर्डले जनाएको छ। पाकिस्तानबाट ८, सिङ्गापुरबाट ६, कतार र घानाबाट ५/५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४/४ जनाको सहभागिता रहने बताइएको छ।

यसमा अझ थप स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका ३/३ जना सम्मलेनका लागि नेपाल आउँदै छन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट २/२ जना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ।

इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेशिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहनेछ। 

आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ।

आज शुरु हुने उक्त सम्मेलनका लागि १५० आयोजना शोकेसमा राखिँदै छन् भने सम्मेलन स्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन्। 

सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको पनि बताइएकाे छ। आशयपत्र आह्वान गरिने, शोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल १५० परियोजना प्रस्तुत हुनेछन्। 

सम्मेलनकाे पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन्। दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन्।