राष्ट्रिय सहकारी बैंकले कर्जा लगानीको सुरक्षा र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने भएको छ ।
“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने मूल लक्ष्य लिएको बैंकले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा बैंकका सम्पूर्ण सदस्य संघसंस्था र सरोकारवालामा शुभकामना प्रकट गर्दै बैंकले नियामकीय अनुपालना, वित्तीय जवाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्र्तनिहित जोखिम व्यवस्थापन लाई प्राथमिकतामा राखी कार्यसम्पादन गरेको जनाएको छ ।
बाह्य अर्थतन्त्रमा देखा परेको संकटका कारणले सहकारी क्षेत्रमा अत्याधिक दबाब पर्न जाँदा सहकारी अभियानले विश्वास आर्जनका लागि कठिन अवस्थामा पुगेको भन्दै बैंकले बितेको वर्ष सहकारी अभियान र बैंकका लागि समेत चुनौतिपूर्ण बनेको औंल्याएको छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले हरेक महिना तोकिएको मापदण्ड बमोजिम पेश भएको तथ्याङ्कका आधारमा गैर–स्थलगत निरीक्षण गर्नुको साथै नियमित रूपमा स्थलगत सघन अनुगमन गर्दै आएको भन्दै वर्ष २०८० मा सहकारी विभाग र राष्ट्र बैंकबाट संयुक्त रूपमा स्थलगत अनुगमन भएको र वर्ष २०८० सहकारी अभियान तथा बैंकका लागि चुनौतीपूर्ण वर्षको रूपमा रहेको उल्लेख गरेको हो ।
राष्ट्रिय सहकारी महासंघले गठन गरेको अनुगमन टोली, बैंकको लेखा सुपरिवेक्षण समिति, आन्तरिक लेखा परीक्षक र बाह्य लेखा परीक्षकबाट समेत बैंककोे नियमित अनुगमन तथा निरीक्षण हुँदै आएको उल्लेख गरेको हो । बाह्य अर्थतन्त्रमा देखा परेको संकटका कारणले सहकारी क्षेत्रमा अत्यधिक दवाब पर्न जाँदा सहकारी अभियानले विश्वास आर्जनका लागि कठिन अवस्थामा भए पनि आफनो सदस्यलाई दिने सेवामा कुनै कमि नराखेको बताइएको छ । सहकारी विभाग र नेपाल राष्ट्र बैंक सहितको नियमनमा रही नियमनकारी निकायले तोकेका नियामकिय निर्देशन तथा सघन अनुगमनका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै संस्थागत सुशासन कायम गर्ने सवालमा बैंकले शून्य सहनशीलताको नीति अङ्गीकार गरेको सन्देशमा भनिएको छ ।
त्यसैगरी बैंकलाई यो अवस्थामा पु¥याउने योगदान दिनुहुने सम्पूर्ण सदस्य सहकारी संघ÷संस्था लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्दै मुलुकको समग्र अर्थतन्त्रको शिथिलता को असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा समेत सरोकारवाला निकायको साथ, सहयोग र सुझाबले बैंकको वित्तीय सूचक सन्तोषजनक रहेको जनाएको हो ।
देशभरका सदस्य सहकारी संघ÷संस्था, नियामकीय निकाय, तथा सम्पूर्ण सरोकारवालाको विश्वास, साथ, सहयोग र रचनात्मक सुझाव सदाझैँ आगामी दिनहरुमा पनि कायम रहनेछ भन्ने विश्वासका साथ धन्यवाद ज्ञापन गरेको छ । सन्देशमा नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा शान्ति, समृद्धि, सु—स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ वर्षले हामी सबैमा नयाँ सोचका साथै थप जोस, जाँगर सिर्जना गरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
तरलता ४३ प्रतिशत माथि
बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको छ । बैंकमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ८८२ रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ८० करोडमाथि रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ७३ लाख, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ रहेको छ ।
चैत्र मसान्तमा बैंकमा तरलता रकम २५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब ४७ करोड ३१ लाख, विभिन्न कोषको जम्मा रकम १७ करोड ९६ लाख र कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
