शुक्रबार, कार्तिक ७ गते २०८३

हस्तकला महासंघद्वारा बागमती प्रदेशका तीन मन्त्रीलाई स्वागत, हस्तकलाको प्रवर्द्धनमा सघाउन आग्रह

बैशाख २, २०८१ आइतबार
हस्तकला महासंघद्वारा बागमती प्रदेशका तीन मन्त्रीलाई स्वागत, हस्तकलाको प्रवर्द्धनमा सघाउन आग्रह

नेपाल हस्तकला महासंघले ३ जना मन्त्रीलाई स्वागत गरेको छ । महासंघले एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश सरकारका नव नियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री  शैलेन्द्रमान बज्राचार्य, वन तथा  वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको हो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष  प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनको लागि बागमती प्रदेश सभामा दफावार छलफलको प्रकृयामा रहेको बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरुमा ती पालिकाहरुको प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा संचालन अध्यादेश जति सक्दो चाँडो पारित गर्न अग्रह गरे । उनले  प्रदेश स्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र संचालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता संचालन, हस्तकला विश्व विद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि आग्रह गरे ।

सो अवसरमा ३ वटै विभागीय मन्त्रीहरुले हस्तकला क्षेत्रको प्रवद्र्धनको लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरुलाई प्राथमिकता पूर्वक कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे  । उनीहरुले प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा संचालन विधयक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्था कै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु काठ, ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने आदि प्रतिवद्धता गरे ।

सो कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष  सागर शमशेर राणाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सनम शाक्यले धन्यवाद ज्ञापन गरेका थिए  भने नेपाल हस्तकला महासंघ र हस्तकला उद्योग व्यवसायको बारेमा प्रस्तुतिकरण सहित कार्यक्रम संचालन महानिर्देशक  उत्तम प्रसाद देवकोटाले गरेका थिए । 
कार्यक्रममा महासंघका सल्लाहकार पूर्व अध्यक्षहरु, कार्य समितिका पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरु, संचारकर्मीहरु र कर्मचारीहरु सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता