शनिबार, कार्तिक ८ गते २०८३

पाँच तारा साकोसको आयोजनमा खुल्ला रक्तदान, रक्तदान बारे समुदायमा सचेतना फैलाउन सफल


चैत्र २०, २०८० मंगलबार
पाँच तारा साकोसको आयोजनमा खुल्ला रक्तदान, रक्तदान बारे समुदायमा सचेतना फैलाउन सफल

 
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको  हो । भक्तपुर रेडक्रस सोसाइटीको प्रावधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई प्रोत्साहनस्वरुप संस्थाले टिसर्ट र प्रमाणपत्र प्रदान गरेको छ ।

संस्थाले हरेक बर्ष सहकारी दिवसको अवसर पारेर रक्तदान गर्दै आएको अध्यक्ष भोला नाथ पाठकले जानकारी दिए । संस्थाले २०६७ सालदेखि निरन्तर सहकारी दिवसको अवसरमा रक्तदान गर्ने गरेको र सयौं सदस्यहरुले रक्तदानमा सहभागि हुने गरेको उनले बताए । संस्थाले र्याली समेत आयोजना गरेर समुदायलाई रक्तदानको महत्व र आवश्यकताको बारेमा जानकारी गराएको उनले बताए । ‘लाखौं पूजा करोडौ दान, त्यो भन्दा पुण्य रक्तदान’ भन्ने नाराका साथ पाँच ताराले रक्तदान गर्दै आएको अध्यक्ष पाठकको भनाई छ । कसैको घरमा विरामी नपर्दा र दुर्घटना नहुँदासम्म रक्तदानको मर्म थाहा नहुने उनले जनाए । सदस्यहरुमा रक्तदान गर्नुपर्छ भन्ने सचेतना संस्थाले दिन सकेको उनको भनाई छ ।

संस्थाले ५ पटकसम्म रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का प्रदान गर्दै आएको छ । कतिपय  रक्तदाताले स्वयसेवी रुपमा नियमित रक्तदान गर्दै आएका छन् । १० पटकसम्म रक्तदान गर्ने सदस्यहरुलाई संस्थाले विशेष सम्मान गर्ने गरेको छ । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भइ रक्तदान गर्ने सदस्यहरुलाई रेडक्रससँग समन्वय गरेर रगत आवश्यक परेको बेलामा सहजिकरण गर्दै आएको छ । आफुहरुलाई आवश्यक पर्दा संस्थाले सहजिकरण गरिदिन्छ भन्ने भावना विकास गर्न सकेकाले पनि धेरै सदस्य कार्यक्रममा सहभागि हुने गरेका छन् ।

five star blood3.JPG

जतिखेर रगत चाहियो, त्यतिखेर मात्र रगत खोज्ने परम्परा विद्यमान रहेको र त्यो परम्परालाई चिर्नुपर्छ भन्ने मान्यताले रक्तदान कार्यक्रम सुरु गरिएको उनले बताए । २०४५ सालदेखि नियमित रुपमा आफुले रक्तदान गर्दै आएको र एउटा बच्चाले रगत नपाएर मृत्युवरण गर्नु परेको कुराबाट अभिप्रेरित भएर यस अभियानमा लागेको अध्यक्ष पाठकले सुनाए । संस्थाले मानवीय र सामाजिक कार्यको रुपमा लिएर लामोसमय देखि रक्तदान गर्दै आएको छ । अहिले पनि विरामीले सजिलै रगत पाउन सकिराखेका छैनन । रक्तदान गर्ने गराउने  संघ संस्थालाई राज्यले पहिचान गर्न नसकेको उनको भनाई छ । सहकारी लगायत अन्य सामाजिक संघसंस्थाले रक्तदानमा उलेख्य योगदान गर्दै आएको भए पनि त्यसको उचित कदर हुन नसकेको उनको भनाई छ । रक्तदान गर्ने संस्था र रक्तदाताहरुलाई समेटेर बर्षमा एक पटक सरकारले रक्तदाता सम्मेलन गर्नुपर्नेमा उनको जोड छ । 

संस्थाले स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ । जसअनुसार जेष्ठ नागरिकहरुलाई फलफुल वितरण, फुटसल प्रतियोगिता, सहकारी सम्बन्धी अन्तरक्रिया, ज्येष्ठ सदस्य समितिको आयोजनामा  कविता वाचन प्रतियोगिता, कर्मचारीहरु बीचमा सहकारी अन्तक्र्रिया, बागमती प्रोस्कूनले सञ्चालन गरेको कोसिस कार्यक्रममा सम्झौता र  अन्तिम दिन रक्तदाता र ज्येष्ठ सदस्यलाई सम्मान कार्यक्रम गर्ने भएको छ । 

five star blood 2.JPG