शनिबार, कार्तिक ८ गते २०८३

सहकारीको नेतृत्वमा पुरुष हावी, महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक

चैत्र १९, २०८० सोमबार
सहकारीको नेतृत्वमा पुरुष हावी, महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक


भक्तपुर बचत संघको आयोजनामा महिला नेतृत्व तथा उद्यमशीलता उत्पे्ररणा तालिम सम्पन्न भएको छ । संघ लि. को महिला सशक्तिकरण उपसमितिको आयोजनामा एक दिने महिला नेतृत्व तथा उद्यमशीलता उत्प्रेरणा तालिम भएको हो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले  सिलाई कटाई, बुनाई, व्यटिसियन जस्ता सिपमूलक तालिममा मात्र सीमित रहेर अहिलेको प्रतिस्पर्धात्मक समयमा महिलाहरु अगाडि बढ्न नसक्ने हुँदा क्षमता अभिवृद्धिका तालिमहरु पनि आवश्यक रहेको जनाए । 

सहकारीमा महिला सदस्य र महिला कर्मचारी तुलनात्मक रुपमा पुरुषको भन्दा बढी सहभागिता रहेता पनि पुरुष नेतृत्वकै हावी भइरहेको अवस्थालाई चिर्न पनि महिला नेतृत्वको आवश्यक रहेको उनले बताए । सहकारीको समस्या समाधान गर्न हाल राज्यले नयाँ सहकारी दर्ता बन्द गरेको र प्रभावकारी नियमन गर्त दोस्रो तहको नियामक निकाय गठनमा लागेको उनले बताउनुभयो ।
संघका सचालक एवं उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्ने विचार भन्दै महिलाहरुलाई नेतृत्व र उद्यममा प्रेरित गर्न तालिमको आयोजना गरेको जनाइन् । 

मेटिभेसनल स्पिकर डा तारा प्रसाद गिरीले हामी सँग जे छ त्यसमा सन्तुष्ट हुनुपर्ने र सानो सानो कुराहरुमा ध्यान दिनुपर्ने कुरा बताए । समाज बदलिन आफुलाई आफैले माया गर्नुपर्ने र आफुले आफूलाई नै पहिला बदल्नुपर्ने उल्लेख गरे । पुरानो सोच हटाई नयाँ सोचमा ल्याउन सिकाईलाई निरन्तरता दिनुपर्ने उनले जनाए ।

सहजकर्ता सुन्दर श्याम घिमिरेले सिप विकास तालिम र उद्यमशीलता तालिम बिच भिन्नता रहेको बताउँदै उद्योगको महत्व, जोखिम र समस्याहरुबारेमा जानकारी दिए । सिप सिकेका सबै उद्यमी बन्न नसक्ने भएकोले उद्यमशीलताको तालिम समेत आवश्यक रहेको उनले उल्लेख गरे । 

महिला सशक्तिकरण उपसमिति सदस्य सूवर्ण प्रभा गुरागाइले  धन्यवाद मन्तव्य दिँदै अन्य तालिमहरूमा  महिलाहरूलाई जोड दिइने बताइन् । साथै आफु भित्र लुकेको प्रतिभालाई उजागर गर्न यस उत्प्रेरणात्मक तालिमले सहयोग गर्ने उनको भनाई थियो । उपसमितिका सदस्य निर्जला ढुगेंलले सञ्चालन गरेको सो तालिममा ४४ जनाको सहभागिता रहेको थियो ।