अर्थमन्त्री वर्षमान पुनले नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको उनको भनाई छ ।
यद्यपि अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे । विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको भन्दै पुनले नेतृत्वले संकटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरे । नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भए पनि नकारात्मक पक्षका बारेमा मात्र बढी चर्चा हुने गरेको टिप्पणी उनले गरे ।
नेपाल मानव विकास सूचकांकमा विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि भएको विश्वव्यापी रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भन्ने हल्ला गरिनु दुःख रहेको बताए । ‘राम्रोलाई राम्रो भनेर बाँकी सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो’, पुनले भने ।