बुधबार, भाद्र ३ गते २०८३

संस्थागत सुशासनमा मिलिजुली कालिञ्चाेककाे प्रयास, बैठकमा एक मिनेट ढिला गरे सञ्चालकले पाउँदैनन् भत्ता


चैत्र ४, २०८० आइतबार
संस्थागत सुशासनमा मिलिजुली कालिञ्चाेककाे प्रयास, बैठकमा एक मिनेट ढिला गरे सञ्चालकले पाउँदैनन् भत्ता

सहकारी संस्थाले सदस्यहरुलाई महँगो ब्याज लिएको आरोप लाग्ने गरेको भए पनि दोलखाको एक सहकारी संस्थाले सहुलियत ब्याजदरमा सदस्यहरुलाई ऋण प्रवाह गर्दै आएको छ । सरकारले सहकारीमा १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको भए पनि मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले १६ प्रतिशतभन्दा कम ब्याजदरमा नै ऋण लगानी गर्दैआएको छ । 
संस्थाको उदेश्य सदस्यहरुलाई महँगो ब्याजरबाट छुटकारा दिनु भएको र सहुलियत ब्याजदरमा नै ऋण लगानी गर्ने गरेको संस्थाले जनाएको छ ।

समाजमा व्याप्त  गरिबी, अशिक्षा र कुलतको अन्त्य गरि सदस्यहरुमा बचत गराउने बानीको विकास गराउने उदेश्यका साथ संस्थाको स्थापना भएको हो । संस्थाले संकलन गरेको बचतलाई सदस्यहरु माझ परिचालन गरी विभिन्न सामाजिक उद्यमको प्रवद्र्धन गर्नुका साथै महँगो ब्याजबाट सदस्यहरुलाई मुक्त गराउने उद्देश्य संस्थाको रहेको सिईओ ईश्वर न्यौपानेले बताए । संस्थाले ऋणमा १३.७५ प्रतिशत भन्दा बढी ब्याज लिने गरेको छैन । २०५० सालमा २५ जना शेयर सदस्यबाट २५ सय शेयर पुँजी र ३१ सय बचत संकलन गरी जम्मा ५ हजार ६ सय पुँजीबाट संस्था सुरु भएको थियो । संस्थाले एकीकरणकको माध्यमबाट आफनो कार्यक्षेत्र दोलखासँगै पछिल्लो समय सिन्धुपाल्चोक र काठमाडौंमा समेत विस्तार गर्न सफल भएको छ । 

संस्थाले सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । वित्तीय सेवामा बचत, ऋण, रेमिटान्स र बीमा सेवा रहेका छन् भने गैर वित्तीयमा सदस्य सेवा कार्यक्रम, शिक्षा तालिम, सूचना र सामाजिक सेवाका कार्यहरु रहेका छन् ।  संस्थाले सदस्यको मृत्यु हुँदा राहत उपलब्ध गराउनुका साथै सदस्यहरुलाई जटिल रोग लागेको अवस्थामा स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको छ । सदस्य बनेको १० बर्ष पूरा भएका ७० बर्ष माथि उमेरका शेयर सदस्यलाई संंस्थाले बार्षिक २ हजार ४ सय भत्ता वितरण गर्दै आएको छ । संस्था स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ । सुत्केरी महिला सदस्यलाई राहत प्रदान गर्नुका साथै जेष्ठ सदस्यहरुलाई तिर्थाटन गराउने गरेको छ । सदस्यहरुलाई सहकारीको बारेमा बुझाउने उदेश्यले सहकारी शिक्षा, वित्तीय साक्षरता, व्यवसायिक तालिम र महिला नेतृत्व विकास तालिमका साथै मानव संसाधन क्षमता विकास जस्ता तालिम कार्यक्रम स ञ्चालन गर्ने गरेको छ । सदस्यहरुले उत्पादन गरेको वस्तुको बजारिकरण गर्ने उदेश्यले संस्थाले आफ्नै भवनमा प्रर्दशनी कक्षको समेत व्यवस्था गरेको छ । यसले सदस्यहरुलाई व्यवसायिकतामा लाग्न अभिप्रेरित गर्नुका साथै बस्तुको बजारीकरणमा पनि टेवा पुग्ने उनको विश्वास छ । 

संस्थागत सुशासमा अब्बल

मिलिजुली कालिञ्चोक संस्थागत सुशासनमा बलियो देखिएको छ । शहरी क्षेत्रमा खुलेका कतिपय सहकारी संस्थाका सञ्चालकले सदस्यको बचत दुरुपयोग गरिरहेको बेलामा मिलिजुलीमा भने फरक अभ्यास देखिएको छ । संस्थाका सञ्चालकहरु वित्तीय रुपमा पूर्ण अनुशासित त छँदैछन्, त्यो भन्दा महत्वपूर्ण कुरा त बैठकमा समयमा उपस्थित नभए भत्ता समेत बुझ्न पाउँदैनन् । बैठकमा लगातार ३ पटक अनुपस्थित रहे सञ्चालक पद स्वत: जाने व्यवस्था विनियमले गरेको छ । त्यसैगरी बैठकमा १ मिनेट मात्र ढिला भए उपस्थिति जनाउन पाईंदैन भने बैठकमा बस्न भने पाउने तर प्रश्न गर्न नपाउनुका साथै बैठक भत्ता पनि नपाइने न्यौपानेले जानकारी दिए । 

भविष्यमा सञ्चालक हुन चाहने सदस्यहरुको लागि संस्थाले तालिमको व्यवस्था मिलाएको छ । संस्थाले विगत ४ बर्षदेखि एनएफआरएस विधिबाट लेखा परिक्षण गर्दै आएको छ । सहकारी ऐन २०७४ ले उक्त विधिबाट अडिर्ट गर्न सक्ने व्यवस्था गरेकाले सोही अनुरुप अडिट गर्न थालेको उनले जनाए । समितिले नीति नियमको निमार्ण गर्ने र कर्मचारीले नीति कार्यान्वयन गरेर जाने प्रष्ट पद्धति संस्थामा रहेको छ । संस्था सदस्यसँग नजिक रहेको र संस्थाको हरेक गतिविधिको बारेमा सदस्यलाई जानकारी दिने गरेकाले पनि सदस्यको विश्वास बढेर गएको न्यौपानेको भनाई छ । संस्था गोएमएलमा आवद्ध भएर नियमित रुपमा वित्तीय कारोबारको जानकारी सम्बन्धित निकायलाई गराउने गरेको छ ।
 
वित्तीय अवस्था 

संस्थामा २५ हजार ५३२ सदस्य आवद्ध रहेका छन् । त्यसैगरी बाल बचतकर्ता ९ हजार ३३७ जना गरी कुल सदस्य ३४ हजार ८६१ जना पुगेका छन् । संस्थाको बचत संकलन ९४ करोड माथि, ऋण लगानी ९८ करोड गरी कुल कारोबार १ अर्ब ३० करोडको हाराहारीमा रहेको छ । जगेडा कोष ८ करोड रहेको छ भने संस्थामा १२ करोड भन्दा माथ तरलता रकम रहेको छ । सदस्यले आवश्यकता अनुसार बचत राख्न र झिक्न सक्नुका साथै वित्तीय संकटका बीचमा पनि तरलतामा कुनै समस्या नभएको उनले जनाए । 

संस्थाको कुल बचत मध्ये नियमित बचतको हिस्सा ६५.५ प्रतिशत रहेको छ । आवधिक बचत २५.९४ प्रतिशत र ऐच्छिक ८.४८ प्रतिशत रहेको छ । संस्थामा नियमित बचतको हिसा बढी हुनु नै संस्थाको बलियो आधार भएको उनले जनाए । नियमित बचत कम हुनेहुँदा नै शहरी क्षेत्रका सहकारी संस्थामा समस्या आएको उनको बुझाई छ । कतिपय समयमा साथीभाईले गलत बाटोमा हिँडन उक्साउने गरको भए पनि सचेत भएर अगाडि बढ्नु पर्ने उनको अनुभव छ । नीति, विधि र प्रविधिमा आधारित दिगो र विश्वसनीय संस्था बनाउने उनको भनाई छ । 

सहकारीको उदेश्य लिलाम गर्नु नरहेको र कतिपय अवस्थामा बाध्य भएर त्यस्तो प्रक्रिया अगाडी बढाउनु परको उनले जानकारी दिए । सदस्यहरुलाई ऋण व्यवस्थापन र वित्तीय साक्षरता तालिम दिएर मात्र ऋण लगानी गर्ने गरेको छ । कर्जा सूचना केन्द्र नहुँदा गलत मनसाय भएका सदस्यहरुले ऋण भुकतानीमा आलटाल गर्ने गरेको उनले सुनाए । नयाँ कर्जा सूचना स्थापना गरेपनि वित्तीय क्षेत्रको जस्तै अवस्थामा पुग्न १५ बर्ष लाग्ने भएकाले अहिलको व्यवस्थामा नै संस्थाहरु सहभागी हुने पाउने व्यवस्था भए प्रभावकारी हुने उनको भनाई छ । संस्थाले विद्यालयस्तरमा वित्तीय साक्षरता सञ्चालन गर्दै आएको छ । संस्थाको सम्पूर्ण कागजातलाई कम्प्युटराईज गर्ने प्रक्रिया अगाडी बढाएको र कागजरहित कार्यालयको अवधारणाबाट अगाडी बढेको उनले सुुनाए । संस्थाले १३ वटा संस्था एकीकरण गरी ११ वटा सेवा केन्द्र मार्फत सदस्यलाई वित्तीय सेवा दिँदै आएको छ । 

संस्थागत उपलब्धि 

२०६९सालमा नै राष्ट्रिय सहकारी बैंकले मध्यमाञ्चलको उत्कृष्ट संस्थाको रुपमा सम्मान गरेको थियो । कर कार्यालयले ३ पटक उत्कृट करदाताको रुपमा सम्मान गरिसकेको छ भने नेफस्कूनले सञ्चालन गरेको एक्सेस कार्यक्रममा सहभागी भएर २०७४ सालमा एक्सेस ब्रोन्च र २०७५/७६ एक्सेस सिल्भर प्राप्त गर्न सफल भएको उनले जानकारी दिए । कोभिड १९ कारण भाका नाघेको ऋण ५ प्रतिशत माथि रहेकाले २०७७ यता संस्थाले एक्सेस ब्राण्ड नविकरण गर्न सकेको छैन । त्यसैगरी नेफस्कूनले एकीकरणमा नेपाल उत्कृष्ट संस्थाको रुपमा २०७६ सालमा सम्मान प्रदान गर्नुका साथै २०७७ सालमा साकोसहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक सम्मान प्रदान गरेको थियो । नेफस्कूनबाट नै २०७८ सालमा उत्कृट अध्यक्ष सम्मान प्राप्त गर्नुका साथै संस्थाले विभिन्न जिल्लास्तरिय सम्मान तथा पुरस्कार समेत प्राप्त गरिसकेको छ । 
 
सामाजिक सेवा 

सामाजिक सेवामा पनि संस्था क्रियाशील छ । संस्थाले रक्तदान, स्वास्थ शिविर, सरसफाई कार्यक्रम, डस्टबिन वितरण, प्रतिक्षालय तथा शौचालय निमार्ण, अनाथालय र अपाङ्गहरुलाई स्थापना दिवसमा सहयोग गर्दै आएको छ । त्यसका साथै दैवी प्रकोप पीडितलाई सहयोग लगायत अन्य थुप्रै गतिविधि संस्थाले सञ्चालन गर्दै आएको छ । 

प्रविधि प्रयोगमा अगाडी

दोलखा हिमाली जिल्ला भएकाले प्रविधिको क्षेत्रमा बामे सर्दै गरेको न्यौपानेले बताए । जसले गर्दा सदस्यहरुलाई प्रविधि प्रयोगको बारेमा पूर्ण रुपमा बुझाउन नसकेको उनले जानकारी दिए । प्रविधि प्रयोगलाई प्रभावकारी रुपमा अगाडी लैजानु पर्ने र यसका लागि संघ महासंघले भूमिका बढाउन आवश्यक रहेको उनले जनाए । संस्थाले इन्फिनिटी सफ्टवेयर प्रयोग गरेर सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । संस्थाले कलाउड डाटा स्टोरेज गर्नुका साथै मोबाईल बैकिङ्ग, एटिएम, बैंक ट्रान्र्सफर, एसएमएस सेवा, फोन पे, क्यु आर कोड जस्ता सुविधा सदस्यलाई दिएको छ । 

सुविधासम्पन्न भवन

संस्थाले भिमेश्वर नगरपालिकको पिपिएमओ पोटल प्रयोग गरेर ई विडिङ्गमार्फत्  भवन निमार्ण गरेको जनाएको छ । संस्थामा सुशासन कायम गनुपर्छ भन्ने उदेश्यले नगरपािलकाको ई विडिङ्ग अनुसार भवन निमार्ण गरिएको उनले जनाए । सहकारी सिद्धान्त अनुसार सञ्चालन भएको छ कि छैन भन्ने कुराको मापन संस्थाले सुरु गरेको छ । के कति काम सिद्धान्त अनुसार भयो र के कति काम सिद्धान्त अनुसार भएन भनेर कारण खोज्न थालनी गरिएको न्यौपाने बताउँछन् । यसले संस्थालाई सिद्धान्तमा हिडाउने पद्धतिको विकास भएको उनले बताए । 

मानव संशाधनमा लगानी

संस्थाले कर्मचारी भर्ना छनोट गर्दा कार्य विधि अनुसार गर्ने गरेको र सरुवामा सहज बनाउन दुर्गममा गएर काम गर्ने कर्मचारीलाई बढी अंक दिने गरेको उनले जनाए । यसले गर्दा दुर्गममा जाने कर्मचारीमा बढुवाको सम्भावना बढी हुने गर्छ । सरकारले दिने पारिश्रमिक दर भन्दा न्युन तलब नभएको उनले जानकारी दिए । कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइएको छ । संस्थाले विभिन्न क्षेत्र र समुदायका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरेको छ । संस्थाले कर्मचारीको क्षमता विकासको लागि समय समयमा हुने तालिम तथा गोष्ठीमा सहभागी गराउँदै आएको छ ।  आम्दानीको स्तर वृद्धि हुँदा, परिवारलाई समय दिन पाउँदा, स्वास्थ्य अवस्था राम्रो हुदाँ र आफ्न्तहरुसँग सम्बन्ध राख्न पाउँदा कर्मचारी खुशी हुने हुँदा गुगल सिट मार्फत कर्मचारीको खुशी मापन गर्ने गरेको छ । संस्थाले सञ्चालक र कर्मचारीमा अध्ययनशीलता बढाउन सहकारीका साथै नयाँ विषयमा अध्ययन गर्ने बानीको विकास गर्दै आएको छ । सदस्यहरुलाई राम्रो सेवा दिन उनीहरुको आनी बानी अनुसारको व्यवहार गर्नुपर्ने र प्रविधिको उपयोग गर्नेतर्फ उनीहरुलाई उन्मुख गराउँदै आएको छ ।