शुक्रबार, कार्तिक ७ गते २०८३

एकीकृत फ्रेण्डसिप सहकारीको फड्को, दर्जन बढी संस्थासँग एकीकरण गर्न सफल


फाल्गुण ३०, २०८० बुधबार
एकीकृत फ्रेण्डसिप सहकारीको फड्को, दर्जन बढी संस्थासँग एकीकरण गर्न सफल


दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप सहकारीले हालसम्म १६ वटा संस्थासँग एकीकरण गर्न सफल भएको छ । संस्थाले दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाण्डौ मा रहेका विभिन्न १६ संस्थालाई एकीकृत गरेको हो । 
ससाना सहकारीलाई एकीकृत गरी वित्तीय रुपमा सबल र बलियो संस्थाका रुपमा स्थापित हुन सकेको छ । एकिकरण सँगै वित्तीय रुपमा मात्र नभई कार्यक्षेत्र विस्तारका हिसाबले पनि संस्था ४ जिल्लामा फैलिएको छ । 

२०४८ सालमा २५ जना सदस्य र मासिक २ रुपैया बचतबाट सुरु भएको फ्रेण्डसिप सहकारी संस्थाले एकीकरण पछि आफ्नो वित्तीय कारोबारलाई उल्लेख्य वृद्धि गर्न सफल भएको हो । कुनै संस्था एकीकरण गर्न ईच्छुक भए पहिला सहकारी ऐन नियम भित्र संस्थालाई हिँडाउने र एक बर्षसँग संस्थाको समग्र वित्तीय अवस्थालाई अध्ययन गरेर मात्र एकीकरण गर्ने गरेको छ । संस्थाको वित्तीय सुचाङ्कहरुलाई स्वस्थ बनाउन एकीकरणमा आउन चाहने संस्थाहरुको वित्तीय अवस्था विश्लेषण गरेर मात्र एकीकरण गर्ने गरेको निमित्त सिईओ राम केसीले बताए । 

दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं जिल्लालाई कार्य क्षेत्र बनाएर अगाडी बढेको उक्त संस्थाले १४ वटा सेवाकेन्द्र मार्फत आफ्ना सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको कारोबारलाई छिटोछरितो, प्रभावकारी र विश्वसनीय बनाउ प्रिमियम सफ्टवेयरको प्रयोग गर्दै आएको उनले जानकारी दिए । समाजमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी सामाजिक पुँजी निमार्ण गर्ने र उक्त पुँजीलाई प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधिको प्रयोग गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्दै सदस्यमाझ परिचालन गरी उनीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा बातावरणीय रुपान्तरण गर्ने अबको लक्ष्य रहेको उनले बताए ।

सन् २०३० सम्म सरकारले सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाई सक्ने योजना अगाडी सारेकाले संस्थाले पनि सोही अनुसार प्रविधि प्रयोगलाई प्राथमिकता दिएको छ । सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने उदेश्यले संस्थाले विभिन्न सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । संस्थाले माबाईल बैकिङ्ग, फण्ड ट्रान्सफर, देश विदेशबाट आएको पैसा सिधै सदस्यको खातामा जम्मा हुने र ईन्टरनेट बैकिङ्ग सुविधा संस्थाले दिँदै आएको छ । संस्थाले क्यु आर कोड, युटिलिटी पेमेन्ट र चेकलेस पेमेन्ट समेत सुरु गरेको छ । राजश्व भुक्तानी र बिलबुक नविकरणको सुविधा पनि संस्थाले सदस्यलाई दिएको छ भने कनेक्ट आईपिएसको प्रयोग र डिजिटल बैकिङ्गमा संस्था अगाडी रहेको छ । सदस्यलाई मोबाईल रिचार्ज गर्न सहज होस् भन्ने उदेश्यले एक मिसकल बराबर १ सय रुपैंयाको रिचार्ज गरिदिने गरेको छ । त्यसका साथै वालेट भुक्तानीको प्रबन्ध मिलाएको छ । युवा वर्गलाई सहकारीमा आकर्षित गर्न संस्थाले नयाँ योजना अगाडी सारेको र आगामी बर्ष पिएसओ मेसिन सञ्चालनमा ल्याउने संस्थाको योजना छ । 

अब गुणस्तरीय सेवा सहितको दीगो, प्रतिस्प्रर्धी सहकारी संस्था निमार्ण गरी प्रविधि मैत्री सेवामा लाग्नुको विकल्प नभएको उनको भनाई छ । प्रविधि प्रयोगमा जान नसके सहकारीले बैंक तथा वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्न नसक्ने र सहकारीको भविष्य अन्धकार हुने उनको बुझाई छ । संस्था ४८ वटा नीति र कार्यविधि बनाएर अगाडी बढेको छ । संस्थाले ४ बर्षे रणनीतिक योजना बनाएको र आगामी बैशाखमा समय सकिने भएकाले पून: रणनीतिक योजना बनाएर अगाडी बढ्ने तयारी गरेको छ । सदस्यहरुले विभिन्न व्यवसाय गर्दै आएको र विविध कारणले व्यवसायलाई अगाडी बढाउन समस्या भए संस्थाले व्यवसाय निरन्तरता योजना मार्फत् थप ऋण सुविधा दिँदै आएको उनले जानकारी दिए । 

१४ वटै सेवा कार्यालयहरुमा के कस्ता क्रियाकलाप भएका छन् भनेर सिसिटिभी मार्फत मुख्य कार्यालयबाटै अनुगमन गर्न सक्ने व्यवस्था मिलाएको छ । संस्थाले अपाङ्गता भएका सदस्यहरुको लागि अपाङ्गमैत्री बाटो, शौचालय र कार्यालय व्यवस्थापन गरेको छ, ताकि उनीहरुले सहज रुपमा वित्तीय सेवा लिन सकुन् । राष्ट्र बैकसँग समन्वय गरेर दशैंमा नयाँ नोट सबै सेवा केन्द्र मार्फत वितरण गर्ने गरेकाले पनि सदस्यकको आकर्षण संस्थामा बढेर गएको उनले सुनाए  ।

यस्तो छ वित्तीय अवस्था 

संस्थाको यस आर्थिक बर्षको माघ मसान्तसम्म शेयर पुँजी १० करोड ८९ लाख,  जगेडा कोष ६ करोड ५२ लाख, अन्य कोष २ करोड ६२ लाख र बचत १ अर्ब १० करोड ९७ लाख रहेको छ । त्यसैगरी संस्थामा १७.८८ अर्थात १९ करोड ८४ लाख तरलता, ऋण लगानी १ अर्ब १ करोड ४९ लाख र कुल सम्पत्ति १ अर्ब ३५ करोड ४५ लाख पुगेको छ । संस्थामा १५ हजार ५९१ सदस्य र ४ हजार २७९ बाल बचतकर्ता रहेका छन् । संस्थाले सकृय र निस्कृय सदस्यको रुपमा वर्गिकरण गर्ने गरेको छ । लगातार ३ बर्षसम्म साधारण सभामा उपस्थिति हुनेलाई संस्थाले सक्रिय सदस्य मान्दछ र ३ बर्षसम्म साधारण सभामा भाग नलिने र कारोबार पनि नगर्ने सदस्यलाई निस्कृय सदस्यको रुपमा संस्थाले परिभाषित गरेको छ । १७ हजार ८६८ जना संस्थामा कुल सदस्य रहे पनि निस्कृय सदस्यलाई घटाएर १५ हजार ६११ जनालाई सक्रिय सदस्यको रुपमा लिएको उनले बताए । 

संस्थाले विभिन्न २० प्रकार बचत सेवा सञ्चालनमा ल्याएको छ । घरदैलो बचत सेवा देखि मोबाईल बचत सेवा संस्थाले सञ्चालनमा लयाएको छ भने ऋणमा ६५ प्रकारका सेवा रहेको उनले जनाए । उत्पादक र अनुत्पादक क्षेत्रमा बर्गिकरण गरेर संस्थाले ऋण लगानी गर्ने गरेको छ । संस्थाले दिर्घकालिन बचत अनुसार  मासिक बचतलाई प्राथमिकतामा राखेको छ । १ लाख मासिक बचत पुगेका सदस्यका लागि १ लाख बराबरकै दुर्घटना बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

सामाजिक क्रियाकलाप

संस्था सामाजिक क्रियाकलापमा पनि अगाडी देखिएको छ । सदस्यहरुको सामुहिक दुर्घटना बीमा, मृत्यु बीमा वा असक्त हुँदाको लागि पनि बीमाको व्यवस्था गरेको छ । सदस्यहरुका लागि स्वास्थ्य सुरक्षा तथा राहत कोष स्थापना गरेको छ । सदस्यहरुको सहभागितामा उक्त कोष स्थापना गरेको र ६४ बर्ष मुनिका सदस्यलाई बीमा कार्यक्रममा आवद्ध गराएको र ६४ बर्ष माथिका सदस्यलाई संस्थागत फन्डको व्यवस्था गरी सुविधा प्रदान गर्दै आएको छ । ६४ बर्ष माथिका सदस्यको हकमा आफन्तलाई ५० हजारसम्म मृत्यु राहत दिने गरेको छ । सो भन्दा कम उमेरका सदस्यलाई बीमा कम्पनि मार्फत ५० हजार र किरिया खर्च बापत संस्थाले १५ हजार प्रदान गर्दै आएको जनाएको छ । त्यसैगरी सदस्यले लिने ऋणको २५ लाखसम्मको बीमा गरेको उनले जानकारी दिए । 

सदस्यहरुमा फजुल खर्च घटाइ भविष्यको लागि बचत गर्ने बानीको विकास गर्न टोल टोलमा गएर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सदस्य जागरण कार्यक्रम अन्तर्गत विभिन्न सचेतनाको कार्यक्रम गर्दै आएको उनले जनाए । संस्थाले सहकारी ऐन र नियमावलीमा भएका व्यवस्थाका बारेमा सदस्यसँग छलफल गरेर नीतिमा परिमार्जन गर्ने गरेको छ । नगरपालिका र गाँउपालिकासँग समन्वय गरेर संस्थाका क्रियाकलापलाई अगाडी बढाउँदै आएको छ । प्रत्येक सेवा केन्द्रम २५ जना महिला दिदीबहिनीको टिम बनाएको र उक्त टिमले नै महिला सदस्यको सम्पूर्ण समस्या समाधान गर्दै आएका छन् । एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई संस्थाले सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ । 

महिला सदस्य सुत्केरी हुँदा २ हजार आर्थिक सहयोग संस्थाले उपलब्ध गराउँछ भने सदस्यका बच्चालाई नि:शुल्क खाता सञ्चालनको व्यवस्था गरिन्छ । संस्थाको दिर्घकालिन सदस्य भनेको नयाँ शिशुहरु भएको र उनीहरुलाई अहिले देखिनै बचत गर्ने बानीको विकास गर्नुपर्छ भन्ने उदेश्यले खाता सञ्चालन गरिदिने गरेको केसीले बताए । संस्थाले सदस्यहरु बिमारी पर्दा तत्काल २५ हजार रुपैंया उपलब्ध गराउँदै आएको छ र एक महिना भित्र भुक्तानी गरेमा ब्याज नलिने व्यवस्था गरेको छ । जिरी अस्पतालसँग सहकार्य गरेर रकतदान कार्यक्रम गर्दै आएको छ भने असल ऋणी र नियमित बचतकर्तालाई सम्मान गर्ने गरेको छ । 

संस्थाले संरक्षित पुँजी फिर्ता कोष अन्तर्गत् बचतमा ४० प्रतिशत र ऋण कारोबारमा ६० प्रतिशत रकम प्रदान गर्दै आएको छ । ७० बर्ष माथिका सदस्यलाई साधारण सभाको अवसर पारेर बार्षिक रुपमा १ हजार २ सय रुपैंया दिने गरेको छ । सदस्यहरुको क्षमता विकास गर्न जिरी प्राविधिक शिक्षालयसँग समन्वय गरेर विभिन्न तालिम आयोजना गर्दै आएको छ । संस्थाले प्रयोगमा ल्याएको प्रविधि सञ्चालनमा सहयोग पुर्याउन संस्थाले प्रविधि सञ्चालन सम्बन्धी तालिमहरु पनि दिने गरेको छ । सेवा केन्द्र र टोल टोल टोलमा गएर यस्ता तालिम गर्ने गरको उनले बताए ।  बजार सफाई तथा डस्टबिन वितरणका साथै अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरणमा पनि संस्था क्रियाशील छ । संस्थाका २ सय लघुवित्त समुह रहेको र उक्त समुहको अग्रसरतामा विभिन्न सामाजिक कार्य हुँदै आएको उनले जनाए । संस्थाले सामुदायिक विकास कोषबाट सामुदायिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको छ । 

बस्तु तथा सेवा बजारीकरण 

सदस्यबाट उत्पादित बस्तु तथा सेवा बजारीकरणमा पनि संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा वस्तुको विक्री गर्न प्रदर्शनी कक्षको व्यवस्था मिलाउने गरेको छ । पर्यटन प्रवद्र्धनमा पनि संस्थाले अग्रणी भूमिका खेलेको र यस बर्षमा  मात्रै २६ संस्थाका ६४६ जनाले संस्थाको भ्रमण गर्दा जिरीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको उनको भनाई छ । सदस्यहरुलाई स्वरोजगार बनाउन स्थानिय तहसँग सहकार्य गरेर स्वरोजगार कर्जा उपलब्ध गराउँदै आएको छ । गत बर्ष ३७ जना र यस बर्ष २५ जना सदस्यलाई  सहुलियत ऋण प्रदान गरेको छ । सदस्यहरुलाई लगानी गर्नु पूर्व अभिमुखीकरण तालिम सञ्चालन गर्ने गरेको र उनीहरुलाई आत्म निर्भर बनाउन सिप र पुँजी उपलब्ध गराउँदै आएको छ।

संस्थागत उपलब्धी 

संस्थाले गत बर्षसम्म नेफस्कूनले सञ्चालन गरेको नेपाल स्तरको प्रोबेशन ब्राण्ड प्राप्त गरेको छ । त्यसैगरी लगातार ३ पटक सर्वोत्कृष्ट करदाताको रुपमा संस्था कर कार्यालयबाट सम्मानित भएको छ । बागमती प्रोस्कून र जिल्ला बचत संघ, दोलखाबाट पनि संस्था सम्मानित भइसकेको छ । यस बर्ष राज्यलाई ५५ लाख कर बुझाएको उनले जानकारी दिए । अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिए पनि त्यसको मुल्याङ्कन राज्यले नगरे पनि सहकारीले  राज्यलाई सहयोग गर्दै आएको उनले जनाए । सहकारीले तिरेको करमध्ये ५० प्रतिशत रकम मात्रै सहकारीको विकासमा खर्चन सके सहकारी क्षेत्रलाई बलियो बनाउन मदत पुग्ने उनको विश्वास छ । 

संस्थाको सञ्चालकमा आउन चाहने व्यक्तिहरुलाई लक्षित गरी संस्थाले क्षमता विकास तालिम गर्दै आएको छ । त्यसैगरी विद्यालय स्तरमा हाजिर जवाफ, वादविवाद, गीत प्रतियोगिता र विभिन्न क्रियाकलाप गर्ने गरेको छ ।