ललितपुर स् ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापनाको २८ वर्ष प्रवेश गरेको छ । २०५० सालमा स्थापना भएको यो संघ ललितपुर जिल्ला भरको बचत तथा ऋण सहकारी संस्थाको छाता संघ हो ।
स्थापना दिवसको अवसरमा प्रतिवद्धता जाहेर गर्दै ‘दिगो साकोसमार्फत सम्बृद्ध समाज निमार्ण’ परिकल्पनाका साथ अघि बढेको संघ संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय रहेको संघका अध्यक्ष रामहरि बजगाईले बताए । संघ वित्तीय सुशासनसहित गुणस्तरीयता कायम गराउन समेत सदैव प्रतिवद्ध रहेको उनले बताए । बचत तथा ऋण सहकारी संस्थाको प्रवद्र्धन तथा संवद्र्धनका लागि संस्थाहरु बीच सहकार्य र समन्वय गर्दै संघ अघि बढ्ने प्रतिवद्धता उनले ब्यक्त गरेका छन् ।
जिल्लाको बचत तथा ऋण सहकारीको अभिभावकत्वसँगै वित्तीय कारोबार समेत संघले गर्दै आएको छ । असार मसान्तसम्म्म संघको सेयर पुँजी ६ करोड १९ लाख पुगेको छ भने कुल सम्पत्ती १ अर्ब ९४ करोड पुगेको छ ।
स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा सहकारी मन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले संघलाई शुभकामना सन्देश व्यक्त गरेका छन् ।
