बुधबार, भाद्र ३ गते २०८३

रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा


फाल्गुण २५, २०८० शुक्रबार
रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

रोजा लक्जम्बर्ग तथा क्लारा जेट्किनहरु समाज तथा महिलामाथिको शोषणबाट तिनलाई मुक्त गर्ने विश्व महिला संघर्षका अग्रदूत हुन् । 

शाेषण र अन्यका बिरूध्द खाशगरी श्रमजीबी महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने ऐतिहासिक महत्वकाे  निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । याे क्रममा अगाडि बढ्दै गएर छ बर्षपछि १९१७ मा पुग्दा रूसी महिलाहरूले पहिलाे विश्व-युद्धका बिरूद्ध लड्दै जाने क्रममा  ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार गरे र त्यसै अनुरुप विश्वभरि नै यो दिवस मनाउन थालियो ।

त्यसकाे पनि बशेष कारण छ ।  १९१७ मा रुसी महिलाहरुले युद्धको बिरोध गर्दै र रोटी र शान्तिको माग गर्दै ४ दिनसम्म ठूलाे हडताल गरेका थिए । त्यसपछि नै रुसका निरंकुश शासक  जारले सत्ता छोड्नु परेको थियो । त्यसपछि बनेको रूसकाे अस्थाई सरकारले महिलाहरुलाई पनि मतदानको अधिकार दिएको थियो । त्यो सफल हडताल रुसी पात्रो अनुसार २३ फेब्रुअरी र अग्रजी पात्रो अनुसार ८ मार्चमा परेको थियो । त्यसैले प्रत्येक बर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल ध्येय महिलाहरुको कामकाजको शोषणकारी स्थितिका विरुद्ध महिला मजदुरहरुको संघर्ष र आफ्ना हकहितका माग गर्ने संघर्षमा निहित छ र यही संघर्ष आजसम्म जारी रहेको छ । यस  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व तीन बर्ष अघि किन पनि बढेको थियो भने २०२१ काे ५ मार्चका दिन महान्‌ महिला मार्क्सवादी सिद्धान्तकार रोजा लक्जम्बर्गको १५०औँ जन्मजयन्ती पनि परेको थियो । रोजा लक्जम्बर्ग तथा क्लारा जेट्किनहरु समाज तथा महिलामाथिको शोषणबाट तिनलाई मुक्त गर्ने विश्व महिला संघर्षका अग्रदूत हुन् ।

रोजा लक्जम्बर्गले चलाएको संघर्षकै बलमा त्यतिबेला महिलाहरुले केही अधिकार जितेका थिए र उनीहरुको कामकाजको स्थितिमा केही सुधार पनि आएको थियो । तर समाजको पितृसत्तात्मक सोच, महिलाको कामको मूल्यांकन नगर्ने प्रवृत्ति, ज्याला तथा अवसरमा असमानता लगायतका अनेक भेदभावहरु हिजाेदेिख आजसम्म पनि विश्वभरि नै जबर्जस्तरुपमा कायम रहेका छन् । आज विश्वभरिका महिलाहरु मजदुर र शोषित पीडित तप्काका जनताको जीवनले नव उदारवादी नामको साम्राज्यबादी हमलाको ठूलो बोझ ञधधसमेत झेलिरहेका छन् ।

भारतकी एक प्रसिद्ध महिला अर्थशास्त्री जयाती घोषका अनुसार महिलाहरुलाई तिनको कामको मूल्य कम गरेर आँकिन्छ र कम पैसा त दिइन्छ नै, त्यसका साथै ‘महिलाहरुलाई प्राप्त हुने रोजगारीमा आएको कमीले वास्तवमा ज्याला प्राप्त हुने कामबाट ज्याल प्राप्त नहुने कामतर्फको सिफ्ट या परिवर्तनलाई दर्शाउँदछ’ । यहाँ घरेलु कामलाई ‘काम’ नै मानिँदैन । यस्ता काम नमानिने काममा ‘खाना बनाउने, घाँस, दाउरा गर्ने, पानी-पँधेरो गर्ने, ढिकी जाँतो चलाउने, सिलाइ-बुनाइ गर्ने आदिजस्ता अनेक पारिवारिक काम नमानिएका कार्य भित्रपर्दछन् ।

यसै गरेर अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेण्ट (ओइसीडी) ले पनि महिलाहरुको काम र स्थितिको सम्बन्धमा प्रकाशित एक प्रतिवेदनमा भनेको छ कि यस्ता बिना पैसाको काममा महिलाहरुले दिनको ६ घण्टा समय जति दिन्छन्, जबकि पुरुषहरुले केवल दिनको ५२ मिनेट जति मात्र पैसा नपाउने काममा समय दिन्छन् । यस स्थितिमा अनुसन्धाताहरुले के पनि निष्कर्ष निकालेका छन् भने यदि महिलाहरुका यस्ता घरेलु र असंगठित क्षेत्रका बिना पैसाका कामलाई जोड्ने हो भने कतिपय देशमा यस्ता काममा संलग्न पुरुषहरुको ७९.८ प्रतिशतभन्दा बढी महिलाहरुको प्रतिशत ८६.२ प्रतिशतभन्दा बढी पुग्दछ ।

यहाँ अर्को उल्लेखनीय कुरा के छ भने यो कामको मूल्य नदिइने कुराले केवल महिलाहरुलाई मात्र प्रभाव पार्दैन । यसले त परिवार बाहिर समाजमा गरिने महिलाको कामको पनि मूल्य पनि घटाइदिन्छ । फलतः महिलाहरुको पाउने ज्याला पनि कम दिने गरिन्छ । खास गरेर कम विकसित र पिछडिएका कृषिप्रधान देशहरुमा कृषक महिलाहरु यसरी यो ज्याला नपाउने काममा लगाइएका र सित्तैमा काम गर्न बढी दलिएका हुन्छन् । चाहे त्यो घरभित्रको काम होस् या घर बाहिरको काम । यसरी बिना पैसा गरिने काममा अविकसित र पछिपरेका देशमा मात्र होइन विकसित देशहरुमा पनि महिलाहरुले पुरुषको तुलनामा धेरै गुणा बढी समय लगाउने गरेको पाइन्छ ।

कतिसम्म भने नर्वेजस्तो लैङ्गिक समानता सबैभन्दा बढी भएको मानिएको देशमा पनि यो ‘जेण्डर ग्याप’मा २०२० को मूल्याङ्कनमा दोस्रो नम्बरमा परेको छ । त्यहाँ पनि पैसा नपाउने घरेलु कार्यका लागि पुरुषकोभन्दा दोब्बर समय महिलाहरुले खर्च गर्ने गरेको तथ्यांक प्रकाशित छ ।

यसरी नै विकसित जापानजस्तो देशमा पनि पुरुषको तुलनामा चार गुणा बढी समय महिलाहरुले दिनु पर्दछ । यी किसित देशका एक-दुईवटा उदाहरण मात्र हुन् । वास्तवमा महिलाहरुको कामको मूल्य नहुने र यसलाई महिलाको काम भनेर बेवास्ता गरिने प्रवृत्ति धेरथोररुपमा प्रायः सर्वत्र नै छ । यस कुराको जड ऐतिहासिक श्रम विभाजन तथा निजी सम्पत्ति र त्यसको उत्तराधिकारको विकासका साथ पिृतसत्ताको विकासमा निहित रहेको छ ।

त्यसैले आज पनि विश्वभरि महिलाहरु आफूले गर्ने गरेको कामलाई कामकारुपमा मान्यता दिलाउन, यस्तो कामको मूल्य कम आँक्ने प्रवृत्तिका विरुद्ध, समानताका लागि तथा समान कामको समान बेतनका साथै एउटा नागरिककारुपमा समाजमा समान हकअधिकार स्थापनाका लागि लडिरहेका छन् । विशेषगरी महिला मजदुर संगठित क्षेत्रको मजदुरकारुपमा मान्यता पाउन, त्यो कामको लागि समान बेतन पाउन, मातृत्वको सुविधा, लालनपालन गृहको सुविधा, सबै किसिमका लैङ्गिक उत्पीडनबाट मुक्ति, सुरक्षित कार्यस्थल र समाजमा प्रतिष्ठित हैसियत र गरिमा पाउनका लागि संघर्षरत रहेका छन् । उनीहरु श्रम संहिताकारुपमा मजुदर वर्गमाथि शासक वर्गबाट भइरहेका हमलाका विरुद्ध, संगठित हुन पाउने र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारजस्ता ठुलो मूल्य चुकाएर प्राप्त गरेका अधिकारहरुमाथि भइरहेका अतिक्रमण र हमलाका विरुद्ध चलिरहेका आन्दोलनहरुमा पनि सहभागी भइरहका छन् ।

समग्रमा विश्वभरि नै नवउदारवादी शोषणकारी नीतिलाई परास्त गर्न तथा अमानवीय पितृसत्तालाई पालितपोषित गर्ने व्यवस्थाका विरुद्ध संघर्षशील रहेर नै महिलाको चौतर्फी मुक्तिको ढोका खोलिन्छ भन्ने कुरा आजका संघर्षशील महिला अभियन्ता र अग्रगामी महिला संगठनहरुले बुझ्नु-बुझाउनु पर्ने आवश्यकता देखिन्छ । रोजा लक्जम्बर्ग र क्लारा जेटकिनहरुले देखाएको मूल बाटो वास्तवमा यही नै हो ।उनीहरुले अंगीकार गरेकाे महिला मुक्तिकाे लागि संघर्षकाे मूल बाटो हाे ।

पुनर्प्रकाशित