शनिबार, कार्तिक ८ गते २०८३

वित्तीय रुपमा दोलखाका सहकारी सबल, अर्थतन्त्रमा संकुचन आउँदा ऋण लगानी बढेन


फाल्गुण २१, २०८० सोमबार
वित्तीय रुपमा दोलखाका सहकारी सबल, अर्थतन्त्रमा संकुचन आउँदा ऋण लगानी बढेन

दोलखामा रहेका सहकारी संस्थाहरुको वित्तीय अवस्था बलियो भएपनि ऋण लगानी र असुलीमा भने समस्या देखिएको छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण सदस्यहरुबाट ऋणको माग नहुँदा कतिपय संस्थामा अधिक तरलता रहेको छ । आर्थिक मन्दीका कारण व्यापारव्यवसायमा आएको मन्दीसँगै सदस्यहरुले ऋणको माग नगर्दा सहकारी संस्थाहरुमा तरलता थुप्रिएको हो । अर्कोतर्फ आर्थिक क्रियाकलापमा कमी आउँदा संस्थाहरुले गरेको लगानी असुलीमा पनि समस्या देखिएको छ । संस्थाहरुले गरेको ऋण लगानी समयमा नउठ्दा भाका नाघेको ऋण समेत बढेर गएको छ । जिल्लामा रहेका सहकारी संस्थाले विशेषत:  होटल व्यवसाय, घरजग्गा, वैदेशिक रोजगार र कृषि क्षेत्रमा ऋण लगानी गरेका छन् । पछिल्लो समय केही व्यक्ति तथा समुहले सहकारी र लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने हल्ला गरेकाले पनि ऋण असुलीमा केही समस्या भएको सहकारीकर्मीहरुले बताए । 

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुयाँल जिल्लामा रहेका कुनै पनि सहकारी संस्थालाई तरलता अभावको समस्या नरहेको बताउँछन् । जिल्लामा ४५० सहकारी संस्था दर्ता रहे पनि २५० को हाराहारीमा मात्रै सक्रिय रहेको उनले बताए । संस्थाहरुमा तरलता रकम बढेर गएको र सदस्यको बचत फिर्ता गर्न कुनै समस्या नरहेको उनले जनाए । अधिकांश सहकारी वित्तीय अनुशासनमा रहेर सञ्चालन भएकाले सदस्यहरुको विश्वास सहकारीप्रति उस्तै रहेको अध्यक्ष फुयाँलको भनाई छ । संस्थाहरुलाई बचत फिर्ताको भन्दा पनि ऋण लगानी र असुलीको भने केही समस्या रहेको उनले जनाए ।

डिभिजन सहकारी कार्यालयको खारेजी र संघियता पछि स्थानीय, प्रदेश र संघीय सरकार मातहत सहकारीको व्यवस्थापन भएपनि स्थानीय तहहले सहकारी हेर्ने कर्मचारीको समेत व्यवस्था नगरेको उनको भनाई छ । सहकारीप्रति स्थानीय तहले दायित्वबोध नै नगरेको उनको आरोप छ । स्थानीय तहलाई सहकारीप्रतिको दायित्व महसुस गराउन आफुहरु लागिपरेको उनले बताए । स्थानीय तहसँग सहकार्य गरेर सहकारीप्रतिको दायित्व महशुस गराउन संघ लागि परेको भन्दै फुयाँलले सदस्यलाई सचेतना दिने, राम्रा पक्षको उजागर गर्ने तथा कमीकमजोरी सुधारका लागि साझा अवधारणा बनाउने कामको थालनी गरिएको उनले बताए । जिल्लाका सहकारीबाट सदस्यहरुको जीवनस्तर परिवर्तनका लागि थुप्रै प्रयासहरु भएको उनले उल्लेख गरे । 
त्यसैगरी दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले वित्तीय पहुँच नभएको ठाउँमा सहकारीमार्फत् वित्तीय पहुँच अभिवृद्धि हुँदै आएको बताए। जिल्लाको दुर्गम क्षेत्रमा समेत सहकारीले सेवा दिँदै आएको र बचत फिर्ताको कुनै समस्या नरहेको उनको भनाई छ ।

सहकारी संस्थासँग पर्याप्त तरलता रहेको भए पनि ग्रामीण क्षेत्रमा वृद्धवृद्धा, केटाकेटी, अपाङ्गता भएका र विद्यार्थीमात्रै रहेकाले ऋण लगानी गर्न भने समस्या रहेको उनले जानकारी दिए । युवापुस्ता विदेशिने क्रम बढेकाले गाउँघर सुनसान जस्तै भएको र कृषियोग्य भूमि पनि घङ्गारुघारीमा परिर्वतन भएको उनको भनाई छ। सहरी क्षेत्रका केही सहकारी संस्थाले गरेको बदमासीको प्रभाव ग्रामीण क्षेत्रका सहकारीमा समेत पर्न गएको र कतिपय सदस्यहरुले आफ्नो बचत सुरक्षित हुन्छ कि हुँदैन भनेर प्रश्न गर्ने गरेको उनले सुनाए । जिल्लाको हकमा कुनै पनि संस्थामा बचत फिर्ताको समस्या नरहेको र संस्थाहरु सहकारी मूल्य, मान्यतामा सञ्चालन हुँदै आएको उनको भनाई छ । पछिल्लो समय मुलुकमा आएको आर्थिक मन्दीका कारण ऋण असुलीमा भने केहि प्रभाव परेको छ । सदस्यको व्यापार व्यवसायमा  आएको मन्दीका कारण ऋण तिर्ने क्षमतामा ह्रास आउँदा संस्थाहरुको खराब कर्जा समेत बढेर गएको र धितो लिलाममा समेत समस्या भएको उनले सुनाए । भाका नाघेको ऋण नविकरण गरेर कागजमा नाफा देखाउने काम नगरी नीतिगत रुपमा कडाइ गर्दा भाखा नाघेको ऋण बढेको र नाफा घटेको उनले सुनाए ।

त्यसैगरी जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले संंस्थामा २० प्रतिशत माथि तरलता रहेको बताए । जिल्लाका सहकारी संस्थाहरुमा तरलताको कुनै समस्या नरहेको उनले जानकारी दिए । जनसचेतनले यस आर्थिक बर्षभित्रमा १७८ करोड बचत संकलन गर्ने लक्ष्य लिएको भए पनि गत माघ महिनामा नै १८३ करोड बचत पुगेको उनले बताए । सहकारीप्रति  सदस्य र समुदायको  विश्वासमा कुनै कमी नरहेको उनले जनाए । दोलखाका कुनै पनि सहकारी संस्थालाई सदस्यले अविश्वास नगरेको र बचत ऋणको कारोबार राम्रोसँग भईरहेको अध्यक्ष चौलागाईले उल्लेख गरे । कुनै समय ब्याजको लोभमा सहकारीको पैसा बैंकमा गएको तर हाल आएर त्यो अवस्था नरहेको उनको भनाई छ । सहकारी मूल्य, मान्यता र सिद्धान्त पालना गरेर अगाडि बढेकाले संस्थाहरुमा वित्तीय समस्या नरहेको उनले प्रष्ट पारे ।

संस्थाले नियमित बचतलाई अनिवार्य गरेको र संस्थाको मेरुदण्ड नै नियमित बचत भएको उनले बताए । संस्थामा कुल बचत मध्ये नियमितको हिस्सा ४२ प्रतिशत रहेको छ । सदस्यले मासिक रुपमा न्यूनतम २ सय रुपैंया अनिवार्य रुपमा बचत गर्नुपर्ने हुन्छ । भुकम्प पछिको पून: निर्माणको लागि संस्थाबाट ठुलो मात्रा ऋण लगानी हुँदा असुलीमा केही समस्या भएको उनले सुनाए । त्यही समयमा गरेको लगानी धेरै भएकाले घर जग्गाको ऋण ४० प्रतिशतको हारहारीमा रहेको र त्यसलाई अहिले क्रमश घटाउँदै लगेको संस्थाले जनाएको छ । भाका नाघेको ऋण असुलीका लागि असुली शाखा नै स्थापना गरेर अगाडि बढेको र घर जग्गामा कम ऋण लगानी गर्ने नीति संस्थाले लिएको छ । ऋणी सदस्यको वास्तविक पहिचान गरी व्यवसाय पुन:स्थापनाको सम्भावना रहे संस्थाले सहयोग गर्ने नीति लिएको छ । आर्थिक क्रियाकलापमा आएको कमी र सदस्यको ऋण तिर्न सक्ने क्षमतामा ह्रास हुँदा ऋण असुलीमा केही समस्या भएको र खराब कर्जा बढेको उनले स्वीकार गरे ।

त्यसैगरी मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले कुल बचतमा नियमित बचतको हिस्सा ६७ प्रतिशत रहेको बताए । सहकारीले ससानो बचतलाई प्राथमिकता दिनुपर्नेमा शहरमा खुलेका केहि सहकारीले ठूलो रकमलाई प्राथमिकता दिँदा ती संस्थामा समस्यामा आएको उनले औंल्याए । मिलिजुली साकोसमा तरलताको कुनै समस्या नरहेको र सदस्यहरुले मागेका बेलामा उनीहरुले आफ्नो बचत फिर्ता पाइरहेको उनको भनाई छ । पछिल्लो समय केहि व्यक्तिले लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम फिजाउँदा सहकारीका केहि सदस्यहरुमापनि ऋण तिर्नु पर्दैन कि भन्ने मानसिकता विकास भएको उनले सुनाए । कतिपय सदस्यले आर्थिक मन्दीका कारण व्यापारव्यवसायमा गिरावट आउँदा समयमा ऋणको साँवाब्याज तिर्न नसकेपनि केहि सदस्य भने ऋण मिनाहाको आसमा बसेको उनले जनाए । 

सबै प्रकृतिका सहकारीले बचत र ऋणको मात्रै कारोबार गर्दा पनि राज्य र छाता संघहरुले त्यसको अनुगमन गर्न नसकेको उनको आरोप छ । सम्पत्ति शुद्धिकरणका डरले सिद्धान्तबाहिर चलेका संस्थामा अधिक रकम जम्मा हुन जाँदा पनि अहिलेको समस्या निम्तिएको हुन सक्ने उनको आशंका छ । नीति, विधि र मापदण्डमा सञ्चालन हुने संस्थाहरु कहिल्यै नबिग्रिने उनले बताए । गलत गर्ने संस्थाको प्रचारप्रसार गर्नुभन्दा पनि सहकारीमाफत् भएका राम्रा कामहरु उजागर गर्न सके यसले मुलुक र जनताको समृद्धितर्फ डोर्‍याउने उनको विश्वास छ ।