शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले भदौ २७ गतेदेखि ३१ गतेसम्म सदस्यहरुमा वार्षिक प्रतिवेदन वितरण तथा उपस्थिति पुस्तिका खुल्ला गरी साधारणसभा सम्पन्न गरेको हो ।
कोभिड १९ महामारीका कारण एकैपटक सबै सदस्यहरु उपस्थिति भएर साधारणसभा गर्न असम्भव भएकाले संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अनुरुप सभा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, लेखा समिति तथा लेखा परिक्षकको प्रतिवेदनमाथि छलफल तथा प्रस्ताव पारित गरेको हो । संस्थाको एकिकरण, कार्यक्षेत्र एवं सेवाकेन्द्र विस्तार र कोषको बाँडफाँड र लाभांश वितरण जस्ता विषयमा छलफल भएको थियो ।
सभामा अध्यक्ष याम्बर बहादुर कार्कीले कोभिड १९ महामारीको विषम परिस्थितिमा पनि शेयरसदस्य, सञ्चालक समिति र कर्मचारीको सक्रिय सहभागिताले संस्थाले उल्लेख्य प्रगति गर्न सकेको बताए । संस्थाले गत आ.व.को असार मसान्तसम्म शेयरपुँजी ४९ प्रतिशतले वृद्धि गरी ३ करोड ११ लाख २८ हजार बचत संकलनमा ७४ प्रतिशतले वृद्धि गरी ४६ करोड ५५ लाख र ऋण लगानी ५६ करोड ६० लाख पु¥याएको अध्यक्ष कार्कीले बताए । संस्थाको गत आर्थिक वर्षको कुल कारोबार अघिल्लो आ.व.को तुलनामा ८७ प्रतिशतले वृद्धि भई ८७ करोड १८ लाख पुगेको छ ।
संस्थाको कर्जा जोखिम कोषमा ८७ लाख ९८ हजार पुगेको छ भने गत आ.व. सञ्चालन नाफा ५८ लाख माथि रहेको छ । संस्थाले विभिन्न बचत योजना सञ्चालन गरी सदस्यहरुबाट ससानो रकम बचतको रुपमा संकलन गर्दै आएको छ भने सदस्यहरुको आवश्यकता र माग अनुसार ऋण लगानी गर्दै आएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ भने मोबाइल एपको प्रयोग गरी युटिलिटी पेमेन्ट, अन्य भुक्तानी तथा बचत हिसाबको जानकारी सदस्यले घरै बसीबसी हेर्न मिल्ने सुविधा दिएको छ ।