बुधबार, भाद्र ३ गते २०८३

बागमती साकोस समिटले साझा धारणा विकास गरी अभियानलाई मार्गनिर्देश गर्छ


फाल्गुण ९, २०८० बुधबार
बागमती साकोस समिटले साझा धारणा विकास गरी अभियानलाई मार्गनिर्देश गर्छ

सहकारी क्षेत्रमा वर्तमान समयमा जे जस्ता समस्याहरु देखा परेका छन्, त्यसका लागि अभियानले साझा धारणा दिनुपर्छ र साकोस अभियानमा ऐक्यवद्धता कायम गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कार्यदिशा तय गरेर अगाडि बढ्नका लागि बागमती प्रदेश स्तरीय साकोस समिट गर्न लागेका हौं । यसलाई सफल बनाउन बागमती प्रदेश भित्रका १३ वटै जिल्ला बचत संघहरुलाई सह–आयोजक बनाएका छौं । संघमा आवद्ध ५ सय संस्थामध्ये २५० संस्थाका प्रतिनिधिहरु समिटमा सहभागी गराउँछौं । समिटमा सहभागि हुन धेरै संस्थाका प्रतिनिधिहरुले नाम दर्ता गरिराख्नुभएको छ । समिटप्रति चासो बढेर गएको छ । विषयवस्तुहरुलाई पनि समसामयिक बनाएका छौं । विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुन्छ भने टिप्पणीकर्ताले पनि विषयवस्तुमा रहेर आफ्नो धारणा राख्नुहुनेछ। सहकारीसँग आवद्ध रहेका केन्द्रिय संघ, जिल्ला बचत संघ र बचत ऋण सहकारी संस्था सबैलाई समेटेको हुनाले समिटको तयारी व्यापक भएको छ।

महासंघ, नेफ्स्कुन र जिल्ला संघहरुले पनि यस प्रकारको समिट गर्ने गरेका छन् । राज्यको पुनर्संरचना पछाडि बागमती प्रोस्कुन दर्ता भएको हो । यस्ता समिट तथा गोष्ठी सबैले गर्ने गरेतापनि त्यसले सार्थकता र साझा धारणा दिन नसकेको हामीलाई महसुस भएको छ । सदस्य संस्थालाई सही मार्गदर्शन दिन सकिएन भने गोष्ठी गोष्ठीमा नै सीमित हुन्छ । तसर्थ भोलिका लागि मार्ग प्रशस्त गरेर साकोस अभियानलाई उपलब्धीमूलक बनाउन हामी लागिपरेका छौं । अहिले के सहकारी क्षेत्र समस्यामा नै हो त ? भन्ने जटिल प्रश्न खडा भएको छ । वास्तवमा अहिले जसरी प्रचार भइरहेको छ, त्यो अवस्थामा नेपालको सहकारी अभियान पुगेको छैन । समुदाय र सदस्यकेन्द्रित सहकारी संस्थाहरु विषम परिस्थितिमा पनि राम्रोसँग सञ्चालन भइरहेका छन् । शहरकेन्द्रित केहि सहकारी नीति, विधि र प्रविधिमा नचल्दा र मुल्य, मान्यता र सिद्धान्तविपरित कम्पनी मोडलमा अगाडि बढ्दा समस्या आएको हो । सहकारी संस्था आफैले बनाएको नीति, मापदण्ड, विनियम र कार्यविधि अनुसार चल्नुपर्छ । त्यो कुरा सिकाउनु छाता संघहरुको दायित्व पनि हो । त्यसका लागि बाटो निर्देश गर्नुपर्ने जरुरी ठानेर नै समिटको आयोजना गरेका हौं । यो हाम्रो बाध्यता नभई कर्तब्य हो । सामुहिक प्रतिवद्धता जारी गर्दै आगामी दिनका लागि बाटो तय गर्न समिटले टेवा पुग्नेछ ।  यो अहिलेको आवश्यकता हो । समिट अरु संघ, महासंघले गरेजस्तै त होला नि भन्ने सहभागिहरुलाई लागेको हुनसक्छ । तर त्यस्तो होइन । सबै संघसंस्था मिलेर साझा धारणा निर्माण गरिने हुँदा सहभागिता उत्साहजनक भइरहेको छ । साझा संकल्प निर्माण हुनेछ । समिटबाट साझा धारणा निर्माण गर्नेछौं र भोलिका दिनमा साकोस अभियानलाई कसरी अगाडि बढाउने भनेर बाटो तय गर्छौं । सहकारी अभियान र यससँग सम्बन्धित सबै निकायसँग जोडिएर समिट गर्न लागेकाले उपलब्धीमूलक हुने हाम्रो विश्वास छ । समिटले साझा सन्देश दिनेछ । बागमती प्रदेशका सबै साकोसहरुलाई सक्रिय सहभागिताका लागि म पून: अनुरोध गर्दछु ।