नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदनका लागि सूचना निकालेको हो ।
बीमा ऐन, २०७९ बमोजिम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्नेछन् । सीईओमा आवेदन दिन बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक तथा बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष एवं दुवै क्षेत्रमा भएमा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ । यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष पूरा नभएको हुनु पर्ने सूचनामा उल्लेख छ ।
दर्खास्त दिनेले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनीमा पेस गर्नु पर्नेछ भने पाँच हजार शब्दमा नबढाइ व्यवसायिक कार्ययाेजना समेत समावेश गर्नुपर्नेछ।