मध्यपुर थिमीमा मुख्य कार्यालय रहेको अन्नपुर्ण बहुमुखी सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका तरकारी पकेट क्षेत्रका सदस्य र किसानहरुसँग समन्वय गरी उनीहरुले उत्पादन गरेका तरकारीको बजारीकरण गर्ने भएको छ । संस्थाले किसानबाट उत्पादित तरकारीलाई अन्नपूर्ण तरकारी तथा फलफूल बजारमा ल्याइ विक्री वितरण गर्ने र किसानहरुको माग र आवश्यकताका आधारमा तरकारी संकलन केन्द्र समेत स्थापना गर्ने जनाएको छ । त्यसैगरी संस्थाले यस आर्थिक वर्षमा काभ्रेलाई तरकारीको पकेट जिल्लाको रुपमा लिइ तरकारी तथा फलफूल उत्पादनमा जोड दिनका लागि सदस्यहरुलाई सहुलियत ब्याजदरमा ऋण दिने र उत्पादनलाई संस्थाले सञ्चालन गरेको बजारबाट विक्रीको व्यवस्था मिलाउने अध्यक्ष देवराज न्यौपानेले बताए ।
त्यसैगरी कुन्ताबेसी तथा चाँगुनारायण सेवाकेन्द्रबाट रासायनिक मल वितरणका लागि राज्यबाट स्वीकृति लिने तथा माग र आवश्यकताका आधारमा कृषि उपकरण विक्री केन्द्र समेत सञ्चालन गर्दै जाने उनले जानकारी दिए ।
संस्थाले हालै २४औं साधारणसभा सम्पन्न गरेको उनले जानकारी दिए । २०५४ साल भाद्र १२ गते स्थापना भएको संस्थाले गत आ.व.को असार मसान्तसम्म ३५०० शेयरसदस्य र ९१ करोड माथिको वासलात बनाउन सकेको उनले जनाए । त्यसैगरी शुरुका दिनमा भक्तपुरबाट मात्रै सदस्यहरुलाई सेवा दिँदै आएकोमा यस अवधिमा आइपुग्दा मुख्य कार्यालयसहित ६ स्थानबाट सेवा दिन सकेको उनले बताए । संस्थाले गत आ.व.मा गोकर्णेश्वर न.पा. जोरपाटीमा रहेको भाग्यशाली साकोस र काभ्रेको मण्डन देउपुरमा रहेको सुलीकोट साकोसलाई एकिकरण गरिसकेको बताए । एकिकरणसँग संस्थाको कार्यक्षेत्र काठमाण्डौ र काभ्रेमा समेत विस्तार भएको छ ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्म ७ करोड ७१ लाख २९ हजार संकलन गरेको छ भने बचत संकलन ६२ करोड ७३ लाख ८० हजार र ऋण लगानी ७१ करोड ४३ लाख ४४ हजार गरी १ करोड ८५ लाख ३१ हजार नाफा आर्जन गर्न सफल भएको छ ।
संस्था सहकारी बैंकले सञ्चालन गरेको केयर कार्यक्रममा आवद्ध रहेको छ । संस्थाले सामाजिक सुरक्षा तथा राहत कार्यक्रम अन्तर्गत सदस्यहरुलाई जटिल रोग लागि उपचार गर्दा २५ हजार र सदस्यको मृत्यु हुँदा निजको आश्रित परिवारलाई १० हजार आर्थिक राहत दिने गरेको छ ।
संस्थाले प्रविधिको उच्चतम प्रयोग गरी मोबाइल र एसएमएस बैंकिङका साथै रेमिटान्स सेवा सञ्चालन गर्ने भएको छ ।
