शनिबार, आश्विन १७ गते २०८३

सर्वसाधारण र सदस्यलाई प्रदेश सहकारी रजिष्ट्रारको अपील, संस्था चिनेर मात्र सदस्य बन्नुस्

आश्विन १, २०७८ शुक्रबार
सर्वसाधारण र सदस्यलाई प्रदेश सहकारी रजिष्ट्रारको अपील, संस्था चिनेर मात्र सदस्य बन्नुस्

 

प्रदेश नम्बर १ सहकारी रजिष्ट्रार कार्यालयले सर्वसाधारण र सहकारी संस्थाका सदस्यहरुलाई विशेष अपील गरेको छ । कार्यालयले संस्थाको कार्यक्षेत्र बुझेरमात्र सदस्य बन्न, सदस्य बन्दा अनिवार्य रुपमा शेयर प्रमाणपत्र लिएर मात्र बचत गर्न तथा ऋण लिन सूचना जारी गरेको हाे ।

संस्था समुदायमा आधारित हो वा होइन? संस्थाले साधारणसभामा सबै सदस्यको सहभागिता गराइ छलफल गर्ने गरेको छ छैन ? सदस्यको सुझावलाई सुन्ने र कार्यान्वयन गर्ने गरेको छ छैन भन्ने कुरा सदस्यले राम्रोसँग बुझ्नुपर्ने कायार्लयले सुझाएकाे छ । 

सूचनामा आफु आवद्ध संस्थाको मुख्य कारोबार के हो ? सोही अनुरुप संस्थाले कामकारवाही गरेको छ छैन बुझेर सचेततापूर्वक मात्र कारोबार गर्न सदस्यहरुलाई सुझाइएको छ । समयमा लेखा परीक्षण गराएनगराएको, वित्तीय विवरण अद्यावधिक गराएनगराएको बुझेर मात्र संस्थासँग कारोबार गर्न सूचनामा भनिएको छ । 

एक कित्ता शेयर खरिद गर्ने सदस्यको पनि अन्य सबै सदस्य सरह समान अधिकार हुने भएकाले आफ्नो अधिकारको प्रयोग गर्न, शेयर लगानीका आधारमा विभेद गरिएको भए त्यस विरुद्ध साधारणसभा आवाज उठाउन र त्यसको सुनुवाई नभए प्रदेश रजिष्ट्रार कार्यालयमा लिखित उजुरी दिन समेत सुझाइएको छ ।  

सन्दर्भ ब्याजदर निर्धारण समितिले कर्जाको ब्याजदर १४.७५ प्रतिशतभन्दा बढी लिन नपाइने गरी तोकको हुँदा    सोभन्दा बढी ब्याज नतिर्न, घट्दो दरमा ब्याज तिर्न र ब्याजलाई साँवामा जोडी पुन साँवा कायम गरी ब्याज मागे नतिर्न र सो बमोजिम संस्थाले नगरेमा उजुरी गर्न सदस्यहरुलाई भनिएको छ । 

केहि संस्थाहरुले संस्थाको सदस्य बन्न सीमा तोक्ने, शेयरपुँजी र प्रवेश शुल्क बाहेक अन्य विभिन्न शुल्क लिने, निश्चित समय सदस्यता खुला गरी अरुबेला बन्द गर्ने जस्ता कृत्रिम बन्देज गरेको गुनासो आएको भन्दै त्यस्ता समस्या परेमा तत्काल कार्यालयमा लिखित उजुरी दिन भनिएको छ । 

आफू सम्वद्ध संस्थाको गतिविधिमाथि निगरानी राख्न, संस्थामा कुरा उठाउन, सुधार नभए प्रदेश कार्यालयको सहयोग लिन समेत सूचनामा सदस्यलाई सुझाइएको छ । 

Notice 1 सर्वसाधारणलाई-सूचना-736x1024.jpgnotice 2 सर्वसाधारणलाई-सूचना-१-754x1024.jpg