(वसन्ततिलका)
थाहा छ मालिकहरू सब हुन् दलाल
बानी स्वभाव व्यवहार र दुष्ट चाल
छर्लङ्ग छन् नजरमा अपराध सारा
हुन् भ्रष्ट यी मतिविहीन र देश मारा ।१।
भण्डार यो मुलुकका बहुमूल्य खानी
बग्ने नदी अति मनोरम स्वच्छ पानी
निर्बाध बेचिन पुगे उधिनेर छानी
बाँकी छ बेच्न अब ता घरको खरानी ।२।
बुझ्छौँ सबै तर तिनैसँग मित्रता छ
दासत्वभित्र अझ सूक्ष्म विचित्रता छ
के निम्ति भक्त बनिदै किन पुज्नुपर्ने
देखिन्छ प्रष्ट किन फेरि नबुझ्नुपर्ने ।३।
छन् टाउके उपरमा दश बाह्र पात्र
हुन् बाघ भित्र परका तर स्याल मात्र
मिल्दा सिनो सँगसँगै गठजोड गर्छन्
बाझिन्छ स्वार्थ जब बाहिर भित्र सर्छन् ।४।
बेचेर नागरिक जो रुपियाँ असुल्छन्
आमा दिदी र बहिनी नचिनेर भुल्छन्
के लाउडा न धमिजा ललितानिवास
देख्यो कि रालसरि बन्दछ एक गाँस ।५।
त्यो आत्मनिर्भरपना अनि स्वाभिमान
स्वाधीनता पनि भुटिन्छ मिलेर खान
छन् अर्थहीन सब कानुन जेलनेल
यी स्वाँठका परिधिमा नखरा र खेल ।६।
रैती हुने कि अझ मालिक नै हुने हो
उठ्ने जुरुक्क कि त सालिक नै हुने हो
कस्तो निकास छ कता अब खोज्नुपर्छ
गन्तव्यको पथ सुनिश्चित रोज्नुपर्छ ।७।
भोका लुते कुकुरको जब काम छैन
उद्देश्य माफिक कुनै परिणाम छैन
छानेर काम नदिने जति छाँटकाँट
गर्दै हटाउन सकौँ न लिएर आँट ।८।
हामी प्रबुद्ध भनिने पनि खण्ड खण्ड
हुन्छौंँ जहाँ नियतिले पनि गर्छ दण्ड
जाग्नेछ एकमतले जब यो समाज
सत्ता र शासनसँगै बदलिन्छ राज ।९।
===============================
इन्द्र नारायण सुवेदी