सहकारीको समस्याले अब सडकदेखि संसदसम्म तताउन थालेको छ । एक दुई संस्था गर्दै सहकारी संस्थाका बचतकर्ताको आफ्नो बचत रकम फिर्ता पाउन नसकेको समस्या चुलिँदै गएपछि अब सडक र संसद दुवैतिर यसका बारेमा बहस र चर्काचर्की हुन थालेको छ ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुरु भएको दिन सत्तारुढ दल नेपाली काँग्रेसका महाामन्त्री गगन थापा र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच यसका विषयमा दाहोरी नै चल्यो ।
संसद बैठक आफ्नो भनाई राख्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगी गर्ने जोसुकै र जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका।
सर्वसाधारण जनताले पसिना बगाएर जम्मा गरेको बचत रकम ठगी गर्ने सञ्चालक वा त्यस्तो ठगी धन्दाको मतियार हुने व्यक्ति जुनसुकै दलको वा दलबाहिरको होस्, जतिसुकै शक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुनहुने जिकिर गरे ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।
वित्तीय संस्थाहरुमा देखिएको चरम एउटा निराशाको अवस्थामा बैंक तथा सहकारी लगायतका समस्या सरकारको प्राथमिकतामा पर्नुपर्ने उनले उल्लेख गरे ।
सरकारी जग्गा किर्ते गर्ने र सहकारीमा ठगी गर्नेलाई कारवाही गर्न सरकारलाई के ले रोकेको हो भनेर लामिछानेले प्रतिप्रश्न गरे । आफ्नै दलबाट कारवाही शुरु गर्न उनले थापाप्रति कटाक्ष समेत गरे ।
यता सहकारी संस्थाबाट पीडित भएका बचतकर्ताहरुले सरकारसँग यसअघि भएको सहमति बमोजिम कामकारवाही अघि नबढेको भन्दै बिहीबार काठमाण्डौमा दवाव र्याली तथा पत्रकार सम्मेलन गर्दैछन् ।