शुक्रबार, कार्तिक ७ गते २०८३

जीवनलाई मित्रको वरदानले सुसज्जित बनाउनु पर्छ : लता मंगेशकर


माघ २४, २०८० बुधबार
जीवनलाई मित्रको वरदानले सुसज्जित बनाउनु पर्छ  : लता मंगेशकर
लता मंगेशकर (१९२९–२०२२) भारतीय उपमहाद्विपकी सबभन्दा लोकप्रिय गायिका हुन् । यिनी ६ दशकभन्दा पहिलेदेखि गायनको क्षेत्रमा आफ्नो कोकिल–कण्ठले स्रोतालाई मन्त्रमुग्ध बनाउँदै आएकी थिइन् । यिनले ३६+ भाषाका फिल्मी वा गैरफिल्मी गीत गाएकी छन् । गायिका आशा भोंसले उनैकी बहिनी हुन् । कुन्दनलाल सहगलको एउटा फिल्म ‘चण्डीदास’ हेरेपछि उनले आफू पनि बयस्क भएपछि फिल्ममा गीत गाउने अठोट लिएकी थिइन् ।
लताको जन्म मराठी पिता दीनानाथ मंगेशकर र गुजराती आमा शेवन्ती (नाम हेरफेर गरेर सुधामति भन्न थालिएको) बाट आज मध्यप्रदेशमा पर्ने इन्दौरमा भएको हो । उनका पिता थिएटरका अभिनेता र शास्त्रीय गायक थिए । लताका मावली हजुरबा ठूला ब्यापारी र जमिन्दार थिए । लताकी आमा पिताकी दोस्री पत्नी हुन् । पहिली पत्नीको देहान्त भएपछि दीनानाथले उनकै बहिनी सुधामतिलाई विवाह गरे।
 
लताका सहोदर बहिनी र भाईमा आशा भोँसले, हृदयनाथ मंगेशकर, उषा मंगेशकर र मीना मंगेशकर छन् । लता १३ वर्षको उमेरमा पिताको हृदयरोगबाट निधन भएपछि मंगेशकर परिवारका साथी विनायक दामोदर कर्णाटकी (मास्टर विनय) ले लतालाई गायनको क्यारियरमा लगाएका थिए । लताले आजसम्म कति गीत गाएकी छन्, यकिन छैन । गिनिज बुक्स् अफ् वल्र्ड् रेकर्डमा १९७४ मा विवाद उठ्यो । १९४७ देखि १९७४ सम्म लताले २८ हजार गीत गाएको अनुमान गरेर गिनिजले विश्वमा सबभन्दा धेरै गीत रेकर्ड गराउने उनैलाई ठहरायो, यद्यपि उनले कति गीत गाइन्, उनैलाई यकिन छैन ।
 
जानकारहरू लताले नेपाली, हिन्दी, मराठी लगायतका ३६ भन्दा धेरै भाषामा ५० हजार गीत गाएको बलियो अनुमान लगाउँछन्। उनले भारतभित्रका ‘भारत रत्न’ देखि कुनै राष्ट्रिय पुरस्कार र सम्मानसम्म पाउन बाँकी छैन । उनले १९४२ देखि १३ वर्षकै उमेरमा मराठी भाषाको गानाबाट आफ्नो गायन यात्रा शुरु गरेकी थिईन् ।
लताजी अविवाहित थिईन्, तर राज सिंह दुगडपुर नामक एक राजपरिवारका सदस्य र खेलाडीसँग र असमका प्रख्यात गायक भूपेन हजारिकासँग विहे हुने सम्भावना भएको तर अनेक कारणवश टरेको यथार्थलई जानकारहरू उपेक्षा गर्दैनन् । लता गीत गाउँदा नाङ्गै खुट्टाका साथ गाउन चाहन्थिन् । १९८० देखिचाहिँ उनी फिल्ममा कमै गाउँथिन्, स्टेज शोहरूमा प्रस्तुति दिन रुचाउँथिन् ।
 
लामो बिमारीपछि, आईतबार २३ माघ २०७८ का दिन सरस्वती पूजा को अवसर बीच सरस्वती देवी लताको निधनभयो । उनको निधनसँगै हिन्दी संगीत जगतमात्र होईन, समग्र संगीत संसारमा एउटा युगको अन्त्य भयो।
लताको यो भनाई २०१३ नोभेम्बर १३ का दिन प्रकाशित ‘सन्डे इन्डियन’ बाट लिइएको हो ।
साभार : गौतमजको मुहारपुस्तिका