काठमाण्डाै। यही २०८० माघ १७ का दिन रुसी भवन काठमाडौँमा नेपाल–रुस संस्कृति र साहित्यका सेतु, लेखक, अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्णप्रकाश श्रेष्ठको सम्झनामा समर्पित “स्मृतिको तरेलीमा स्व. कृष्ण प्रकाश श्रेष्ठ” पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । तीस र चालीसको दशकमा उहाँले गर्नुभएको अनुवादको आँखीझ्यालबाट धेरैले सोभियत समाज चियाउने अवसर पाएका थिए ।
नेपाल रुस साहित्य समाजद्वारा आयोजित उक्त कार्यक्रम रुसी भवनका प्रतिनिधि सुशील सिग्देलको स्वागत मन्तव्यबाट शुरु भयो । साहित्यकार एवम कृष्ण प्रकाशका भाइ तेज प्रकाश श्रेष्ठबाट उहाँको पारिवारिक पृष्ठभूमि प्रस्तुत गरे ।
लेखक सम्पादक वसन्त थापाले स्व. कृष्ण प्रकाशलाई सन् १९७३ मा भेटेको र १४ वर्ष अघि पछिल्लो पटक भेटदा सोभियत संघ नरहेको, रुसमा भएको परिवर्तनसंगै सुरक्षा अवस्था खस्केको विषम परिस्थितिमा पनि उहाँ एकनिष्ठतापूर्वक जीवनभर लागिरहनु भएको देखेर त्यो उर्जा कहाँबाट आयो भन्नेमा आफु दङ्ग भएको र उहाँ वास्तविक कलमवीर, सांस्कृतिकदूत र कर्मयोगी हुनुहुन्थ्यो भन्नु भयो ।
प्रा.डा. खेम कोइराला बन्धुले कृष्णप्रकाश नम्र, सरल स्वभावका धनी थिए भन्नु भयो । उहाँले नेपाल र रुस जोडने काम गर्नु भयो भन्दै हामीले कृष्णप्रकाश बारे समग्र ग्रन्थ निकाल्न नसके पनि सारांश पुस्तक सङ्कलन प्रकाशन गर्न सक्छौं र गर्नु ऐतिहासिक हुन्छ भनी बताउनु भयो ।
सन १९५९ को डिसेम्बर २३ मा एउटै जहाज चढेर सँगै मस्को उडेका उहाँको दौँतरी ई राजेन्द्र बहादुर अधिकारीले रोचक ढंगले स्व. कृष्णप्रकाश श्रेष्ठका आनीबानी र सङ्गै बिताएका पलहरूको संस्मरण प्रस्तुत गर्नु भयो । उहाँले तासकण्दबाट उडेको जहाज मस्कोमा भएको व्यापक हिमपातको कारण फर्केको, शुरुमा कृष्णप्रकाश विरामी परेको, जस्तोसुकै दुःखमा वा आलोचना गर्दापनि उहाँ हाँसीदिनु हुन्थ्यो , मुस्कान उहाँकाृ नवरत्न थियो भनी ६५ वर्ष अघिको सहपाठीसँगका आफ्ना दिनहरू सम्झनु भयो । हामीले इन्जिनियर पढ्यौं उहाँले पैसा नकमाउने पेशा चुन्नुभयो , प्रज्ञा पुरस्कार थाप्न जान पनि पैसा छैन भन्नुहुन्थ्यो र तीन चौथाई जीवन रुसमै बिताउनु भयो भन्दै उहाँको सादगी जीवन शैली बारे प्रकाश पार्नुभयो । उहाँले पछिल्लो समय बुद्ध सम्बन्धि अनुसन्धानमा व्यतित गर्नु भयो ।
उहाँको अर्का मस्को समकालिन राजकिय विश्व विद्यालयका सहपाठी वरिष्ठ कुटनीतिज्ञ तथा पूर्वमन्त्री निलाम्बर आचार्यले कृष्णप्रकाश श्रेष्ठ उमेर, योगदान, अनुवाद सबैको दृष्टिले आफूभन्दा जेठो भएको तर असल मित्र थियौं । हामीले संग संगै रुसी– नेपाली अनुवाद शुरु गर्यौ, मस्को रेडियोमा नेपाली कार्यक्रम संचालन गर्यौं । पछि मैले छोडें तर कृष्णले त्यसलाई निरन्तरता दिए भन्नुभयो । कृष्णप्रकाशले शुरु गरेको कार्यलाई कता–कता जंगब चौहानजीले निरन्तरता दिनुभएको छ यसले सत्कार्यको सम्मान भएको छ भन्दै वहाँले खुशी व्यक्त गर्नुभयो । जो पनि नेपाली साहित्यकार मस्को जान्थे तिनलाई सहयोग गर्न कृष्णप्रकाश संधै तत्पर रहनुहुन्थ्यो, वहाँलाई माया गर्ने धेरै छन्, वहाँको नेपाली भाषा, साहित्य र नेपाल रुस मित्रता प्रति अगाध प्रेम थियो; वहाँले तयार गर्नुभएको रुसी –नेपाली शब्दकोष, रुसीमा महाकवि देवकोटा र अन्य नेपाली साहित्यका कृति अनुवाद गर्ने योगदान अत्यन्त प्रशंसनिय छ भन्नु भयो । कृष्ण कहिल्यै थाक्दैन थिए, लगनशील थिए, अध्ययन, काम, भाषा साहित्य, अनुवाद, समाचारवादन मात्र नभै धेरैलाई थाहा छैन हामी वैचारिक रुपमा पनि संगसंगै थियौं र रेडियोमा काम गर्दागर्दै उनको एलिना संग विवाह भएको समेत आचार्यले बताउनु भयो ।
कार्यक्रममा बोल्दै त्रि वि वि का पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले कृष्णप्रकाश श्रेष्ठ हाम्रो युगको अत्यन्त क्रियाशिल, अनुवादक, लेखक, समालोचक, बहुप्रतिभाका धनी र नेपाल आमाका सच्चा सपुत भएको भन्दै यौटा व्यक्तिले कति धेरै काम गर्न सकेको हो भन्नुभयो । वहाँले रुसी भूमी साहित्यको दृष्टिले पनि अत्यन्त संबृद्ध, सौन्दर्य र कलाका दृष्टिबाट पनि विश्वमै अब्बल रहेको भन्दै कृष्णप्रकाशले संसारका सबैभन्दा उत्कृष्ट इतिहास भएको मुलुकमा अध्ययन गर्नुभयो । त्यहाँबाट दिक्षीत भएकाहरुमा देशभक्तिको संस्कार छ, जनताप्रति उत्तरदायित्व छ , मानवता प्रति आदर छ भन्नु भयो । । त्यहाँबाट फर्केका इन्जिनियर, डाक्टरहरुको मुलुकको नवनिर्माणमा ठूलो योगदान छ । स्व. कृष्णप्रकाशले “स्थानको नाम कोष” हिमाल, पहाद, तराइ भेग समेटेर लिपिवद्ध गर्ने काम शुरुगर्नु भयो । नेपाली समाजका किंवदन्तीहरु जस्ता उत्कृष्ट रचनाको सम्पादन गर्नुभयो जुन वैज्ञानिक र अमत्र्य छ र यो सामाजिक दृष्टिकोणले , संस्कृतिको संरक्षणको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ ।
रुसी साहित्य सम्बन्धि विश्लेषण प्रस्तुत गर्दै प्रा. त्रिपाठीले भन्नु भयो – सोभियत शिक्षा पद्धति मूलभूतरुपमा रुसी शिक्षा पद्धति हो र त्यसपछि थपिएका माक्र्सवादी आयाम हो । गद्य होस या पद्य कृष्णप्रकाश श्रेष्ठले नेपाली रुसी रचनाहरुको उत्कृष्ट सौरभमय अनुवाद गर्नुभयो । वहाँको लेख्ने छाँटकाट देवकोटा र लेखनाथ जत्तिकै छ । रुसीमा नेपाल नेपालीलाई चिनाउने काम गर्नुभएको छ । समालोचनाको पनि समालोचना रुसी साहित्य चिन्तन पद्धतिलाई आधार बनाएर कृष्णप्रकाशले “नेपाली समालोचना र समालोचकहरु” रच्नुभएको छ, जसमा वस्तुनिष्ठ विश्लेषण छ । त्यसमा अरुसबै अटाएका छन तर उनी आफै छुटेका छनु । इश्वर बराल भन्दा कम्ताको समालोचक वहाँ देखिनुहुन्न । कृष्णप्रकाश श्रेष्ठ महान भाषाविद, रुसी साहित्यविद थिए र उहाँका कृतिहरु नेपालको अनुसन्धानलाइ सही दिशातर्फ डोर्याउन उत्कृष्ट छन । कृष्णप्रकाश श्रेष्ठले नेपाली वागंमयमा ठूलो काम गरेर जानु भएको छ । वहाँको हाम्रो संझनाको बैकुण्ठमा वास होस भन्दै अन्त्यमा छोरी मरिनाको कविता वाचन गरेर सुनाउनु भयो ।

कार्यक्रमको अन्त्यमा नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा डा जंगब चौहानले स्व. कृष्णप्रकाश श्रेष्ठ सम्बन्धि आजभएको कुराकानीबाट आफु भावविहल भएको बताउदैं सोभियत संघको विघटन पश्चात मस्कोमा पटक पटक कृष्णप्रकाश संग भेट भएको सस्मरण गर्नुभयो । अब सोभियत युग एकादेशको कथा भैसकेको सन्दर्भमा पछिल्लो पटक वहाँले सन २०१७ मा १२ वटा नवप्रकाशित कृतिहरुको उपहार बोकेर जाँदा कृष्णप्रकाशको श्रीमती एलिनाले “ ए जंगब यत्रो विधी के बोकेर आएको ? सारा मान्छेहरु पैसाको पछि दौडेका छन, तिमी दुइजना पागलहरु किताबको पछाडि ” भनेको तीतो सत्य सुन्दा ओहो अब पहिलेको सरल जमाना त हैन नि भनी झल्यास्स भएको कुरा पोख्नु भयो । त्यो युगमा सोभियत संघमा जानु केवल शिक्षा प्राप्तगर्नु मात्र थिएन, त्यो प्रथम समाजवादी राष्ट्र् बाँकी विश्वभन्दा बेग्लै संसार बाट अनेकन अनुभव र संस्कृतिहरु पनि सिक्नु थियो । पछिल्लो पटक जाँदा भने सपनाहरु भंग भएजस्तै भान हुन्थ्यो । तर कृष्णप्रकाश निराश हुनुहुन्थेन । प्रतिकुल आर्थिक अवस्था र त्यहाँको सरकारले हात झिकेको बेलामा पनि वहाँले कु्ृतिहरु अगाडि बढाइराख्नु भएको थियो, अनुसन्धान जारीराख्नु भएको थियो । उनी ६ दशक भन्दा बढी मस्कोमा बिताउने साधक थिए र उनको परिवार नेपाल रुस मित्रताको प्रतिक थियो । हामीले वहाँसंगै मिलेर “संझनामा रुस” प्रकाशन गरेका थियौं र विमोचन गरेका थियौं जुनबेला वहाँ अस्पतालको बेडमा छटपटाइरहनु भएको थियो । वास्तवमा स्व. कृष्णप्रकाश नेपाल र रुस जोडने जनस्तरका हार्दिक कुटनीतिज्ञ थिए भन्दै सभाध्यक्ष जंगब चौहानले सबै पाहुनालाई सहभागिताको लागि धन्यवाद र हल उपलब्ध गराएकोमा रुसी भवनलाई दिदैं कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
नेपाल रुस साहित्य समाजका महासचिव वरिष्ठ साहित्यकार इ. चन्द्र कान्त आचार्य ज्यूको व्यवस्थापन, संस्थाका उपाध्यक्ष वरिष्ठ साहित्यकार इ. विष्णु बहादुर सिंह द्वारा आतिथ्य स्वागत र वरिष्ठ भूगर्भविद इ. आमोद मणी दिक्षीत बाट उदघोषित उक्त कार्यक्रम भव्य र सभ्य रुपबाट बाट समापन भयो ।
“सम्झनाको तरेलीमा स्व। कृष्ण प्रकाश श्रेष्ठ” ३० जना लेखकहरू को साझा सङ्कलन हो । यसका सम्पादकहरू प्रा डा जंगब चौहान, ई. चन्द्र कान्त आचार्य, ई. विष्णु बहादुर सिंह र ई. रामविन्दु श्रेष्ठ हुनुहुन्छ ।
साभार - शब्दपथ
नेपालपत्र संवाददाता