शनिबार, आश्विन १७ गते २०८३

व्यवसाय विस्तार गर्दै एनएमसी सहकारी, सेवा केन्द्र पनि थप्ने

भाद्र २९, २०७८ मंगलबार
व्यवसाय विस्तार गर्दै एनएमसी सहकारी, सेवा केन्द्र पनि थप्ने

 

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले व्यवसाय विस्तार गर्ने भएको छ । यसअघि डेरी, नमूना कृषि फार्म, चिया खेती र सहकारी पसल सञ्चालन गरिरहेको एनएमसीले थप ४ वटा व्यवसाय शुरु गर्न लागेको हो । थप गरिन लागेका व्यवसाय एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उद्योग, चामल मिल तथा तोरी मिल रहेका छन् । 

संस्थाको २९औं वार्षिक साधारण सभाको कार्यक्रमहरु सार्वजनिक गर्दै ती विषयमा संस्थाले जानकारी गराएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र संचालक सदस्य डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा वार्षिक प्रतिवेदन पुस्तिका सार्वजनिक गर्दै साधारण सभाको मिति समेत घोषणा गरेका थिए । संस्थाले असोज ३ गते देखि ९ गते सम्म क्षेत्र इकाईगत रुपमा साधारण सभा गर्ने तालिका प्रकाशन गरेको छ । 

nmc brand.jpg

त्यसैगरी संस्थाले बचत तथा ऋण व्यवसायको सेवा विस्तारका लागि संस्थाको स्वीकृत कार्यक्षेत्र झापा, मोरङ र इलाममध्ये चालु आर्थिक वर्षभित्र अधिकांश पालिकाहरूमा सेवाकेन्द्र विस्तार गर्ने जनाएको छ । त्यसैगरी सहकारी पसल व्यवसाय स्वीकृत कार्यक्षेत्रभित्र विस्तारलाई प्राथमिकतामा राखिएको संस्थाले जनाएको छ । कृषि व्यवसायमा आवद्ध किसानहरूका बीचमा व्यावसायिक कृषि उत्पादनमा सहयोग पुग्नेगरी, कृषि यान्त्रीकीकरणमा सहयोग पुग्नेगरी, कृषि उत्पादन लागत घटाउने र कृषि क्षेत्रको उत्पादकत्व बढाउने गरी संस्थाद्वारा सञ्चालित एकीकृत नमुना कृषि फर्म मार्फत् बेर्ना बैंक सञ्चालन, कष्टम हायरिङ सेन्टर सञ्चालन, चक्लाबन्दी खेती, सामूहिक खेती र गह्रा सुधार कार्यव्रmम संस्थाको स्वीकृत कार्यक्षेत्रभित्रका सम्भाव्य स्थानहरूमा विस्तार गरिनेछ ।

१ लाख ४ हजार ७ सय ८७ जना शेयर सदस्यहरु रहेको संस्थाको आर्थिक वर्ष २०७७/७८ सम्ममा शेयरपुँजी एक अर्ब ११ करोड ६० लाख पुगेको छ । सो अवधिमा ८ अर्व ८५ करोड ४२ लाख निक्षेप मौज्दात रहेको संस्थाको ९ अर्ब २४ करोड ६ लाख कर्जा लगानीमा रहेको छ । संस्थाले गत आर्थिक वर्षमा २७ करोड ४० लाख ६९ हजार नाफा आर्जन गरेको छ ।