नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन ।
सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए ।
पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा उनको छ ।
“हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,” ढकालले भने, “पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।”
कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।
ढकालले आफूहरुले हालैमात्र ग्लोबल आईएमई बैंकका कर्मचारीलाई सुविधास्वरुप उपलब्ध गराउँदै आएको वार्षिक १५ दिनको बिदामध्ये सात दिन अनिवार्य रुपमा नेपालभित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गरे ।
उनले भने, “ग्लोबल आइएमई बैंकमा लगभग ३५ सय कर्मचारी छन्, ति कर्मचारीको परिवारले सात दिनमात्र पनि आन्तरिक गन्तव्यमा घुम्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखेर नै यस्तो व्यवस्था गरेका हौं, यो व्यवस्थाले लुम्बिनीसहित पोखरा, चितवन लगायतका क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं ।”
सरकारले ल्याएको बिदा पर्यटनसम्बन्धी कार्यक्रम कार्यान्वयन हुन नसकीरहेका बेला आफूहरुको सानो प्रयासले दूरगामी महत्व राख्ने ढकालको विश्वास छ ।
ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिए ।
बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उहाँको भनाइ छ ।