०शिखरिणी छन्द०
कठै चौरासीको मिसन पनि बोलिन्छ अहिल्यै
त्यही छक्कापन्जा जहर पनि घोलिन्छ पहिल्यै
लुटी खाने गर्छन् हरपल निचोरेर दुनियाँ
पुरानै पाखण्डी मिसन कसरी बन्छ र नयाँ ।१।
पुछी ऐना कालो मयल मुखको जान्छ र कहाँ
गधाले गाडीको वजन कहिल्यै धान्छ र कहाँ
सडेका छन् थोत्रा पतित पथ रोज्ने दलहरू
बनी चौरासीको मिसन किन गर्छन् बल अरू ।२।
हिजो केले छेक्यो अनि पछि हुने के छ र भर
रुँदै छन् नेपाली अबल निमुखा झन् घरघर
तिनैलाई डस्ने कुटिल छल बोक्ने मिसनमा
छुरा कैँची बोक्छन् हृदयबिच माया वदनमा ।३।
बिके झोले चम्चे पनि सँगसँगै मूढ छ मति
जुठो चाट्दै बन्छन् अधिक तिनकै सेवक सती
यिनैले हाँक्ने हो मिसन अनि को पुग्छ र कहाँ
डकार्छन् डुक्रिन्छन् अफिम र नशा केवल यहाँ ।४।
थिए नाङ्गा खुट्टे अघि अब पुगे ती महलमा
नअड्काई निल्छन् अरब अरबौँ एक पलमा
निलून् यो ब्रह्माणडै सहज तर पुग्दैन कतिले
कहाँ लान्छन् होला मिसन अब यो दुष्ट मतिले ।५।
बन्यो देशै वृद्धाश्रम सरह नाङ्गो छ अब ता
यिनैको यो कालो करतुत उदाङ्गो छ अब ता
कुरेको चौरासी किन विगतका औसर चुके
झुटो नारा हल्ला दिनदिन लगाई किन भुके ।६।
सधैँ पोस्छन् बेच्दै मुलुक यिनले भाइ भतिजा
बिकेका छन् आफैँ पनि विगतको यै छ नतिजा
कहाँ हुन्थे आफ्नो सबल गुण सामर्थ्य भरमा
छ नामर्दी शैली मिसन पनि बेच्छन् डलरमा ७।
इन्द्र नारायण सुवेदी