शनिबार, कार्तिक ८ गते २०८३

२५ सय रुपैयाबाट सुरु भएको सृजना महिला साकोस यसरी बन्यो सफल


पौष १८, २०८० बुधबार
२५ सय रुपैयाबाट सुरु भएको सृजना महिला साकोस यसरी बन्यो सफल

 
ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको सृजना महिला बचत तथा ऋण सहकारी संस्थाले हालसम्म आइपुग्दा ठूलो फड्को मार्न सफल भएको छ । मकवानपुर जिल्लाको मार्खु क्षेत्रका महिलाहरुलाई लक्षित गरेको स्थापना भएको उक्त सहकारी संस्थाले स्थापनाको २५ बर्षमा आइपुग्दा उल्लेख्य प्रगति गर्न सफल भएको हो ।

२०५६ सालमा भदौमा बहुउद्देश्यीय सहकारीको रुपमा उक्त संस्था सुरु भएको थियो । ५ बर्ष पछि संस्थाको उद्देश्य परिर्वतन गरी २०६५ सालबाट बचत तथा ऋण सहकारी बनाएको संस्थाकी व्यवस्थापक सुनिता कार्कीले बताइन् । सुरुमा २५ जना महिला र २ हजार ५ सय रुपैयाँ पुँजीबाट संस्था सुरु गरिएको उनले जानकारी दिइन् । संस्थाले सुरुका दिनमा ग्रामीण क्षेत्रमा कृषि वा ससाना घरेलु व्यवसायमा आश्रित रहेका न्युन आय भएका महिलाहरुलाई संस्थामा एकिकृत गरी सहकारीको माध्यमबाट उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यले संस्था सुरु गरेको र त्यो उदेश्य प्राप्तिमा संस्था सफल बन्दै गएको उनले सुनाइन् । ‘उत्कृष्ट एवं दिगो सहकारी’ भन्ने मुल नारा सहित संस्थाले मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको तत्कालिन मार्खु गा.वि.स.र हालको इन्द्रसरोबर गाउँपालिकाको १ नं वडालाई कार्यक्षेत्र बनाएर वित्तीय कारोवार गर्दै आएको छ ।

२०५३  सालमा प्लान इन्टरनेशनल मकवानपुरले साविक मार्खु गा.वि.स.का आर्थिक तथा सामाजिक रुपमा पिछडिएका महिलाहरुलाई समुहमा आवद्ध गराई उनीहरुबाट मासिक ५ रुपैया संकलन गर्ने गरेको थियो । पछि त्यहि समुहलाई सहकारीमा रुपान्तरण गरेको उनले सुनाइन् । ५६ सालमा २५ जना महिला र २५ सय पुँजीबाट सुरु भएको संस्थामा अहिले ११ सय भन्दा बढी महिला आवद्ध भएका छन् । संस्थाले महिलाहरुलाई सहकारीमा आवद्ध गराई बचत गर्ने बानीको विकास गरेको छ भने उनीहरुमा सीप विकास गरी आयआर्जनमार्फत् आत्मनिर्भर बनाउने कार्यमा पनि सघाउँदै आएको छ । संस्थामा आवद्ध अधिकांश सदस्यले नियमित बचत गर्दै आएको र कुल कारोबारमा नियमित बचतको हिस्सा ४५ प्रतिशत रहेको व्यस्थापक कार्कीले जानकारी दिइन् ।

संस्थाले संस्थागत सुशासनलाई पनि त्यतिकै पालना गरेको छ । नीति, विधि र प्रविधिलाई आत्मसात गर्नुपर्छ भन्ने मान्यताले संस्था विगत ५ बर्ष देखि नेफस्कूनले सुरु गरेको प्रोवेशन कार्यक्रममा आवद्ध छ । उक्त ब्राण्डिङ कार्यक्रममा सहभागी भएर आन्तरिक नीति नियमलाई समय सापेक्ष परिमार्जन गर्दै आवश्यक कार्यविधिहरु थप गरी संस्थालाई सुरक्षित र व्यवसायिक बनाउन लागि परेको उनले बताइन् । संस्थाले सदस्यहरुलाई सरल र सर्वसुलभ तरिकाले ऋण प्रवाह गर्दै आएको र पल्र्स र प्रोवेशन अनुसार भाखा नाघेको ऋण कुल सम्पत्तिको अनुपातमा ५ प्रतिशतभन्दा तल ल्याउन कोशिस गरिरहेको उनकोे भनाई छ । संस्थाले आफ्नो वित्तीय सूचकहरुलाई पनि समयसापेक्ष बलियो बनाउँदै लगेको छ । संस्थाले आफ्नै दुई तल्ले भवनबाट सदस्यहरुलाई वित्तीय लगायत विविध सेवा प्रदान गर्दै आएको छ ।

संस्थागत पुँजी १० प्रतिशत माथि

संस्थाको सबै भन्दै बलियो आधार भनेको संस्थागत पुँजी हो । गत असार मसान्तसम्म संस्थाको संस्थागत पुँजी १०.८२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी ९९ लाख ४६ हजार, बचत संकलन ७ करोड ४८ लाख २६ हजार, ऋण लगानी ७ करोड ८४ लाख १३ हजार रहेको छ । त्यस अवधिमा संस्थाको जगेडा कोषमा १ करोड १३ लाख ५५ हजार पुगेको छ भने कुल वासलात १० करोड ४९ लाख २२ हजार छ । संस्थाले सदस्यहरुलाई लक्षित गरी विभिन्न बचत योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत नियमित , ऐच्छिक, खुत्रुके, आवधिक, दैनिक, बाल, शिक्षा, कर्म, किशोरकिशोरी र पर्व जस्ता बचत योजना सञ्चालनमा रहेको छ । संस्थाले सहकारी ऐन २०७४ मा व्यवस्था भएको संरक्षित पुँजी फिर्ताको कार्यलाई पनि अगाडी बढाएको छ । बचतमा सदस्यले प्राप्त गरेको ब्याज र ऋणमा सदस्यले भुक्तानी गरेको ब्याजका आधारमा संस्थाले संरक्षित पुँजी फिर्ता गर्दै आएको छ ।

सामाजिक कार्यसँगै सदस्य राहत कार्यक्रम सञ्चालन

संस्थाले बचत ऋणको कारोवारसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको छ । सामाजमा हुने ससाना घर झगडालाई समेत संस्थाले मिलाउँदै आएको छ भने समुदाय र सदस्यको आवश्यकता अनुसार सामाजिक कार्यहरु गर्दै आएको छ । 

त्यसैगरी संस्थाले सदस्यहरुलाई भैपरी आउँदा विभिन्न राहत समेत उपलब्ध गराउने गरेको छ । सदस्य राहत कार्यक्रम अन्तरर्गत सदस्यको मृत्यु भएमा आश्रित परिवारलाई १२ हजार र हकवालालाई मृत्यु राहत अन्तर्गत १३ हजार रकम उपलब्ध गराउने गरेको व्यवस्थापक कार्की बताउछिन् । त्यसैगरी महिला सदस्य सुत्केरी हुँदा २ हजार र शारिरीक रुपमा अशक्त सदस्यहरुलाई पनि संस्थाले राहत प्रदान गर्ने गरेको छ । संस्थाप्रति सदस्यको अपनत्व वृद्धि गर्न सदस्य सम्मानलाई पनि संस्थाले निरन्तरता दिएको छ । साधारण सभाका अवसरमा सदस्यहरुले गरेको वित्तीय कारोवारका आधारमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, जेष्ठ सदस्य र शारिरिक रुपमा अशक्त सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।

ऋण लगानीमा बीमा

संस्थाले सदस्यहरुलाई अधिकतम २० लाखसम्म ऋण लगानी गर्दै आएको छ । ऋणको जोखिमलाई न्युनिकरण गर्ने उदेश्यका साथ संस्थाले नेशनल लाईफ र सिटिजन्स लाईफ इन्स्योरेन्ससँग सम्झौता गरी सदस्यको ऋणको बीमा गर्दै आएको हो । त्यसका साथै कृषि पेशामा लागेका सदस्यहरुलाई सहुलियत प्रदान गर्ने उदेश्यले इन्द्रसरोबर गाउँपालिकासँगको सहकार्यमा ७० प्रतिशत ब्याज अनुदानमा १० लाखसम्म ऋण लगानी गर्दै आएको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुलाई रेमिटान्स सेवा समेत प्रदान गर्दै आएको छ ।