शनिबार, आश्विन १७ गते २०८३

बागलुङ महोत्सवमा राष्ट्रपतिले भनेः गण्डकी प्रदेश सबैभन्दा राम्राे


पौष १२, २०८० बिहीबार
बागलुङ महोत्सवमा  राष्ट्रपतिले भनेः गण्डकी प्रदेश सबैभन्दा राम्राे


बागलुङ उद्योग वाणिज्य संघको मुल आयोजनामा गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, तथा औद्योगिक व्यापार मेला एवं सातौं बागलुङ महोत्सव बुधबार देखि सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेललले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई आर्थिक विकासमा परिचालन गरी व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्ने र  चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने बताएका छन्।

पौडेलले सबै प्रदेश भन्दा गण्डकी राम्रो प्रदेश बनेकाले त्यसबाट फाइदा उठाउनुपर्ने अभिब्यक्ति दिए। ‘यो गण्डकी प्रदेश निकै नै व्युटिफुल प्रदेश बनेको छ, यसले उत्तरमा चीन र दक्षिणमा भारत दुबै देशलाई छुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यी दुई देशको उन्नतिबाट लाभ लिनका लागि चीन र भारतको सिमाना जोड्ने मार्ग बनाउनुपर्छ। त्यसका लागि कोरला र त्रिवेणी जोड्नुपर्छ।’ 

baglung.jpg

उनले आफू स्थानीय विकास मन्त्री हुँदा बागलुङ बुर्तिबाङ र बागलुङ कुस्मीसेरा सडकको निर्माण सुरु गरेको बताउँदै अहिले लोकमार्ग बनेकोले त्यसलाई पूरा गर्नका लागि सबैले ध्यान दिनका लागि आग्रह गरे। ‘मध्य पहाडी लोकमार्ग, कालिगण्डकी करिडोर जस्ता राष्ट्रिय योजनाहरूलाई पूरा गर्नका लागि माननीयहरूले सम्बन्धित ठाउँमा आवाज उठाउनुस्, म तपाईहरुको साथमा छु,’ राष्ट्रपतिको अभिब्यक्ति थियो।

स्थानीय र प्रदेश सरकार तथा निजी क्षेत्रको सहकार्यमा पहाडी र हिमाली क्षेत्रमा मनोरञ्जनात्मक पर्यटक लागि साहसिक तथा  हिल स्टेसन लगायत निर्माण गर्नुपर्ने बताए। राष्ट्रपति पौडेलले पञ्चायत विरुद्ध आन्दोलनको सुरुवात गर्न बागलुङ आएको बखत २०४६ साल मंसिरमा आफू पक्रा पर्दा सँगै बन्दी जीवन बिताएका राजनीतिक सहयात्री र सहयोगीहरूलाई पनि स्मरण गरे। 

बागलुङ महोत्सव उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसी, पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचन, गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरणमन्त्री दीपेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले महोत्सवले समग्र धौलागिरि क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउनका लागि महोत्सवले टेवा पुग्ने बताए।उनिहरुले बागलुङ लाई पर्यटन भौतिक पुर्वाधार, स्वास्थ्य शिक्षा लगायतमा जोड दिने बताए ।

बुधबारबाट सुरु भएको भएको महोत्सव पुस २१ गतेसम्म चल्नेछ। महोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू राखिएको छ। खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी राखिएको बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष नरेश कँडेलले बताए।