शुक्रबार, कार्तिक ७ गते २०८३

नेफ्स्कुनको सञ्चालक पदमा राधा कडरियाको उमेदवारी

पौष ५, २०८० बिहीबार
नेफ्स्कुनको सञ्चालक पदमा राधा कडरियाको उमेदवारी

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने भएकी छिन्। 

नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा पौैष ७ र ८ गते हुँदैछ । सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले कडरियाले उक्त पदमा उमेदवारी दिने घोषणा गरेकी हुन् । 

नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय संघ भएपनि प्रारम्भिक सहकारीहरुले अभिभावकत्वको अनुभव गर्न नसकिरहेको बर्तमान परिप्रेक्ष्यमा सबै संस्थाको अभिभावकत्व महसुस गर्ने गरी आफुले काम गर्ने उनले बताइन् । समस्या पर्दा प्रारम्भिक संस्थाहरुलाई नेफस्कुनले सघाउँछ भन्ने विश्वास दिलाउने गरी आफु सञ्चालक पदमा रहेर भूमिका खेल्ने उनको प्रतिवद्धता छ । 

पछिल्लो समय सहकारीप्रति हेर्ने आम दृष्टिकोण नकारात्मक बनिरहेकाले त्यसलाई चिर्न पनि आफ्नो सक्रियता रहने उनले बताइन् । सहकारीलाई सहकारीकै रुपमा स्थापित गरी लक्षित समुहको आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेल्ने उनको भनाई छ । 

विगत २६ वर्षदेखि सहकारीमा जोडिएको र पूर्ण रुपमा सहकारीलाई नै आफ्नो लक्ष्य बनाएर क्रियाशील रहेकाले साकोस अभियानलाई नेतृत्व दिन आफु सक्षम रहेको उनको दावी छ । प्रारम्भिक संस्था सञ्चालनको लामो अनुभव सँगालेकी कडरिया बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको सञ्चालक समेत रहेकी छिन् । सहकारी ऐनको कार्यान्वयन र अभियानका छविलाई उच्च बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने उनको प्रतिवद्धता छ । 

कडरियाले राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित ‘डिल्पोमा इन को९अपरेटिभ म्यानेजमेन्ट’ का फस्ट ब्याचबाट दिक्षित भइसकेकी छिन् । ऐनमा भएको व्यवस्था अनुसार सहकारी अभियानमा महिला नेतृत्व बढाउनका लागि यसपटक आफू नेतृत्वमा जाने र आगामी दिनमा अरुहरुलाई पनि प्रेरणा दिन कोशिस गर्ने उनले जनाइन् ।   मुलुकभरका बचतऋण सहकारीकर्मीबाट साथसहयोग पाएर नेतृत्वमा पुग्ने अपेक्षा उनको छ ।