सहकारी अभियन्ता ज्ञानु पौड्यालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आसन्न ३२औं अधिवेशनमा सञ्चालक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सहकारी अभियानमा करिब दुई दशकदेखि क्रियाशील पौड्याल रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१५, कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष हुन्। संस्थाको अध्यक्षका रुपमा पौड्यालको यो दोस्रो कार्यकाल हो ।
कोही पनि व्यक्ति नेतृत्वमा जान रहर गर्नु र नेतृत्वको लागि सबल र सक्षम हुनु नितान्त फरक कुराहरु भएको उनको धारणा छ । सहकारी अभियानमा सम्बन्धित विषय र संस्थामा दक्षता एवं विशेषज्ञता हासिल गरी पदमा जान खोज्ने व्यक्तिहरुलाई पक्कै पनि सहज छैन । तर, सहकारी अभियन्ताबीच सहमति सहकार्य गरी नेफ्स्कून सञ्चालकमा सक्षम नेतृत्वको टीम आउने वातावरण बनाएर अघि बढ्नुपर्ने पौड्यालको भनाई छ ।
प्रारम्भिक संस्था अब्बल बनाएका नेतृत्वहरू सहकारी सिद्धान्त र वित्तीय अनुशासनको पालना गरेका सस्थाको सुशासन र सुरक्षा पहिलो प्राथमिकतामा राखेका अनुभवी, शेयर सद्स्यको हित र केन्द्रमा राखेर नीति निर्माणमा पैरवी र योगदान दिन सक्ने क्षमतावान नेतृत्व नेफ्स्कुनको सञ्चालकमा जाने वातावरण बनाउनुपर्नेमा उनको जोड रहेको छ । नेफ्स्कुनले चलाइरहेका प्रोबेशन, एक्सेस र स्थिरिकरण कोषमा योगदान दिने संस्थाको मूल्याकंन पनि जरुरी रहेको उनको भनाई छ । नेतृत्वदायी भूमिकामा सही व्यक्तिलाई सही भूमिकामा ल्याउने वातावरण मिलाउने अभियानको पनि जिम्मेवारी भएको उनको ठम्याई छ ।
“वि.सं. २०६३ सालदेखि ‘पहुँच महिला बचत तथा ऋण सहकारी संस्था’ को स्थापना गरे पश्चात सहकारी क्षेत्रमा सक्रिय रही २०७३ सालमा पहुँच बचत तथा ऋण सहकारी संस्था र ‘जनउत्थान बचत तथा ऋण सहकारी संस्था’ को एकीकरणपछि बनेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेकी छु। यस अवधिमा आफुले सहकारी क्षेत्रमा प्राप्त गरेका अनुभवलाई नेफ्स्कुनमार्फत साकोस अभियानको प्रवर्धनमा लगाउन चाहन्छु,” उनले भनिन् ।
पौड्यालले कमाण्ड सम्हालिरहेको रुपन्देही जिल्लाभर कार्यक्षेत्र भएको ४१ हजार सदस्यहरु आबद्ध रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानमा सफल संस्थाको रुपमा छवि बनाएको छ ।
पौड्यालले उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार, २०७५, नेफ्स्कून, सुप्रबल जनसेवाश्री मानपदवी २०७९, नेपाल सरकार, जनसेवा मानपदवी पुरस्कार २०७३, नेपाल सरकार प्राप्त गरिसकेकी छिन् भने आइसीए–एसिया एण्ड प्यासिफिक कमिटी अन वुमनको सदस्य, स्थिरीकरण कोष सञ्चालन समिति सदस्य र प्रदेश बचत तथा ऋण सहकारी संघको समेत अनुभव रहेको छ ।
भारत, मलेसिया, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, अमेरिका, अष्ट्रेलिया, स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, निदरल्याण्ड, स्वीडेन तथा जर्मनीका सहकारीरुको उहा पुगेर त्यहाँ सञ्चालित सहकारीबारे जानकारी समेत लिएकी छिन्।
साकोस ऐन नियमावलीको लागि आवश्यक पैरवी र पहल गर्न, ऋण असुली न्यायाधिकरण, सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन गरी सदस्यहरुलाई बचत सुरक्षणको प्रत्याभूति दिन,संस्था सञ्चालकहरुलाई सुरक्षित संस्थाको रुपमा आश्वस्त बनाउन, स्वनियमनमार्फत सुशासन प्रवर्धन गर्न, साकोस अभियानमा सुशासनको अक्षरस पालना गराउन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
त्यस्तै अभियान सुधारका लागि अभियानकर्मीहरुको ऐक्यद्धतामा सुसम्बन्ध स्थापना गर्न, साकोश तथा नेफ्स्कुनको छविलाई अझै उच्च र सम्मानजनक बनाउन, सबैको मानसपटलमा बस्ने साकोस अभियानको संस्कृति स्थापना गर्न, साकोसको समस्या र चुनौतीलाई लिएर नीतिगत बहस पैरवी गर्न, साकोस सहजीकरण को पुन:संरचनामा आवश्यक नीतिगत पैरवी गर्न, दीगो सञ्जाल व्यवस्थापन ढाँचा विकास गर्न, सबै सदस्य साकोसहरुलाई आवश्यकता पहिचान गरी तालिम तालिम तथा शिक्षाको व्यवस्था गर्न, उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्न सदस्यहरुको व्यवस्थापन सहजीकरणमार्फत अविभावकत्व, प्राविधिक रुपमा सञ्जालीकरण र न्यून लागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरुमार्फत परिचालन गर्ने उद्देश्यका साथ आफुले उम्मेदवारी दिन लागेकाे उनको बताइन् ।
नेपालपत्र संवाददाता