शनिबार, आश्विन १७ गते २०८३

अन्धकार युगमा जनजागरण फैलाउने योगमाया

भाद्र २५, २०७८ शुक्रबार
अन्धकार युगमा जनजागरण फैलाउने योगमाया
Gautamchandramani.jpg
—चन्द्रमणि गाैतम
कुल त हाम्रो ब्राम्हण हो छैनौँ कुलैमा
जातमा सत्य छैन हाम्रो राख चुलैमा।
- समाज सुधारक योगमाया
 
इतिहास निर्माता नारी, योगमायाबारे खासगरी पूर्वेली समाजमा अघिपछि चर्चा हुने गरेकै हो । सोही विषयवस्तुमा साहित्यकार नीलम कार्की निहारिकाले लेखेको उपन्यासले २०७४ को मदन पुरस्कार पाएपछि योगमाया चर्चाको जिउँदो जाग्दो अवस्थामा पुगेकी छन्।
जातीय भेदभाव, छुवाछुत, महिला दमन र स्वेच्छाचारी जहानीया शासनबाट ग्रस्त अन्धकार युगमा जनजागरण फैलाउने योगमाया नेउपाने (बि.सं. १९२४–१९९८) ले आफ्नै जीवनमा भोगेका हण्डर र ठक्करबाट ऊर्जा लिँदै पूर्वी नेपालमा जनजागरणको नौलो हलचल ल्याएकी थिइन्।
भोजपुरको नेपालेडाँडास्थित सिम्ले गाउँमा जन्मेकी योगमायाको पहिलो बिहे इश्वर कोइरालासँग भयो । तर बेलाबखत माइत जान नपाएकी विवाहित बालिका योगमाया माइतीको नियास्रोका कारण एक रात बिहे गरेको घरबाट भागेर माइती पुगिन् । बिहे गरेर पठाएकी छोरी भागेर माइतीमा आउँदा बाबुआमालाई समस्या भयो । घरले फर्काएर भित्य्राउन अस्वीकार गर्यो । समाजको निन्दा सुनेर माइतीमा पनि बस्न नसकेपछि उनी भारतको आसामतिर जाने भइन् ।
आसामको फूलबारी बस्ने एक कँडेल युवकले उनलाई साथ दिए। कालान्तरमा उनैसँग योगमायाको दोस्रो दाम्पत्य जीवन प्रारम्भ भयो । एउटी छोरी नैनकला जन्मिन् । तर दोस्रो पति पनि मरे । अब योगमायाले समाजबाट ‘पोई टोकुई’ को खतरनाक सँज्ञाका साथ पशुवत तिरस्कार भोग्न थालिन् । यसै क्रममा उनले डोटेल थरधारी अर्का पुरुषको साथ पाइन् ।
आसाममा उनको साधु–सन्तको सत्सङ्ग बढेर गयो । परिपक्व हुँदै गएपछि उनी स्वदेशमै फर्केर केही गर्नुपर्छ भन्ने निष्कर्षका साथ भोजपुर फर्केर छोरीको बिहे गरिदिइन् र भोजपुरकै अरुण नदी तटमा एउटा आश्रम बनाएर तपस्या, योग, ध्यान, भजन, प्रवचन र सामाजिक शोषण बिरुद्ध जनजागरणमा लागिन् । यसबाट उनका अनुयायीहरू दिनानु दिन बढ्दै गए, प्रभाव विस्तार हुँदैगयो । शासन–प्रशासनमा सुधार ल्याउन उनले जुद्ध शम्शेरलाई पहिले आफैँले काठमाडौँमा भेटेको र दोस्रोपटक विन्तीपत्र लेखी आफ्ना अनुयायीहरूलाई भेट्न पठाइन् ।
सुधार नहुने हो भने आफ्ना २४० अनुयायी सहित अरुण नदीमा अग्निसमाधी लिने (आत्मदाह) भन्ने चेतावनी पनि विन्तीपत्रमा थियो । उनका विन्तीको कुनै वास्ता नभएपछि अग्निसमाधी लिने भनी घोषणा गरेको अघिल्लै दिन धनकुटा गौँडाबाट राणाका सैनिकहरू समाधी लिने भनिएको स्थान मझुवाबेँसी पुगेर उनी र अनुयायीहरूलाई पक्राउ गरे । पक्राउपछि सबै रिहा भएको अवसर पारी १९९८ साल असार ७ गते शुक्रबार ठूलो एकादशीका दिन योगमाया सहित ६८ जना अनुयायीहरूले अरुण नदीमा जल समाधी लिए ।
समाधी लिनेमा पं. प्रेमनारायण भण्डारीदेखि काईँली कमिनी, चमेली घर्ती जस्ता अनुयायी पनि थिए । समाजमा पानी पनि नचल्ने अछुतहरूलाई योगमायाको आश्रममा कुनै निषेध थिएन। उनी आशुकवि थिइन्। भन्न खोजेको कुरा उनी तत्कालै कविता वा श्लोक बनाएर अभिव्यक्त गर्न सक्थिन्।
(मूख्य स्रोत : निलम कार्की निहारिका)