बुधबार, भाद्र ३ गते २०८३

आमूल सामाजिक रुपान्तरणका निम्ति कृषि क्रान्तिको आवश्यकता


कार्तिक २५, २०८० शनिबार
आमूल सामाजिक रुपान्तरणका निम्ति कृषि क्रान्तिको आवश्यकता
 
कमरेड पुष्पलालले भनेका थिए : ‘जबसम्म किसान बर्गको समस्या समाधान हुँदैन तबसम्म राष्ट्रको मूलभूत समस्या पनि समाधान हुँदैन’ । नेपालका अर्थ–राजनीतिक तथा सामाजिक–साँस्कृतिक आमूल रुपान्तरणको सन्दर्भमा यो अत्यन्तै गम्भीर महत्वको अहं प्रश्न हो र अहिले पनि यो प्रश्न ज्यूँकात्यूँ रहेको छ । हामीले २००७ देखि अहिलेसम्मको अर्थात २०६२/६३ सम्मको राजनीतिक परिवर्तनलाई हे-यौं र त्यस परिप्रेक्षमा देशका किसान र कृषिको अबस्थालाई बिश्लेषण ग¥यौं भने यो कुरा धेरै मात्रामा छर्लङ्ग हुन्छ । जे जस्ता परिवर्तन राजनीतिमा आए पनि किसानको जीवनमा कुनै तात्विक परिवर्तन आउन नसक्नुले जुन समस्या नेपाली आम किसानले हिजोदेखि नै झेल्दै आएका थिए र आज पनि झेलिरहेका छन् । ती समस्याहरुको सही समाधान ननिस्केकै परिणाम हाम्रो देशको आजको दयनीय अबस्थ हो । त्यसैले नेपाली किसान र कृषिको समस्या आज पनि राष्ट्रको सबैभन्दा ज्वलन्त राष्ट्रिय समस्या हो । यसको अग्रगामी, उन्नत र आम किसान–मैत्री समाधान नखोजीकन राष्ट्रको उन्नति र प्रगतिले सही दिशामा पाइला सार्न सक्तैन । यो अकाट्य तथ्य र यथार्थ कुरा हो ।
बास्तबमा जुन किसान बर्गलाई आफ्नो कष्टपूर्ण र एकदमै पिछडिएको जीवनस्तरबाट मुक्ति चाहिएको हो त्यो बर्ग नै आज पनि ठूलो गरीबी, अभाव, अशिक्षा, असुरक्षा, अन्धबिश्वास, कुरीति र अन्ध मान्यताबाट आक्रान्त छ । यो स्थितिबाट किसान बर्ग मुक्त नभइकन नेपालको उन्नति, प्रगति, बिकास र समृद्धि केही पनि हुन सक्तैन, भएको मानिदैन । अहिलेसम्म नमानिएको कारण पनि यही हो । बस्तुतः नेपाल पिछडिएको अबस्थबाट गुज्रिरहेको बिकासोन्मुख देश हो भन्नुको कारण पनि यही हो । हामी बिकासशील हने अबस्थामा पनि पुग्न नसकेर बिकासोन्मुखै अबस्थामा अझै एक दशक रहने निबेदन अर्थात हार–गुहार गर्नुको कारण पनि यही नै हो ।
devkotq.jpg
हामी प्रष्ट देखिरहेका र अनुभव गरिरहेका छौ कि आज एकातिर देशमा किसान बर्ग जीवन यापन गर्न नक्सने धौधौको अबस्थाबाट गज्रिरहेको भने अर्कोतिर दुइ नम्बरी कालो धनको बिगबिगी देशको अर्थतन्त्र, राजनीति, समाजिक तथा साँस्कृतिक संरचना सर्बत्र ब्याप्त छ । हामी बन्ने गरेका कुनै पनि सरकारलाई किसानका समस्यासँग कुनै वास्ता छैन, पर्वाह छैन । उनीहरु भोटमा बेलामा लाइन बसिदिने खाश खाश दलहरुलाई भोट खसालिदिने ‘गँवार कृतदास सरह’ मात्रै हुन् । अरु बेला ती किसानहरुको कुनै अर्थ संसद र सत्तामा पुगेका दलहरुले राख्दैनन् । भ्रष्टाचारी,तस्कर, कालाबजारीया, भूमाफिया, जलमाफिया, कमिशनखोर दुइ नम्बरियाहरुलाई जोगाउन, संरक्षण गर्न र उनीहरुको कालो धनको रक्षा गर्न भने टुप्पीदेखि पैतालासम्मको बल लगाउने गर्दछन् । त्यसका निमित्त बेला बेलामा ‘कालो धनलाई सेतो घोषणा गरेर’बिकास र समृद्धि ल्याउन (?) छुट दिने र त्यस्तै महान(?) बिचार प्रबाह गर्ने गर्दछन् । तर्क पनि गजबको गर्ने गर्दछन् – ‘देशमा कालो धन छ, भूमिगत अर्थतन्त्र मौलाएको छ । यो करा सबैलाई थाहा छ । अनि त्यसलाई त्यत्तिकै निष्कृय राखेर खेर जान दिने ? त्यसको सदुपयोग गर्न परेन ? कति कालोधन–मैत्री बिचार !