बिश्वमा धर्म र राष्ट्र दुइटा यस्ता धारणा रहेकाछन् जसमाथि लामो बहस अझै गर्न सकिन्छ । मानिसको ठूलो मेधा लामो समयदेखि यसमा उल्झिदै आएको पनि छ । झण्डै झण्डै दुइ शताब्दीदेखि यसको गुत्थी सुल्झाउनका लागि कयौं दार्शनिहरु, बिचारकहरु र इतिहास–पुरुषहरुले बेग्ला बेग्लै किसिमले ब्याख्या गर्ने कोशिश पनि गरे । तर मानौं, कुनै दुष्चक्रको जस्तो यसको पहेली पनि जहाँको तही खडा रह्यो । बिडम्बना नै देखिन्छ कि यी दुइ धारणाले मानिस र उसको संसारलाई अझ सुन्दर बनाउने दाबी गर्दछन् । तर के यस्तो भएको छ र ? यो अत्यन्तै गम्भीर प्रश्न छ ।
बितेका शताब्दीहरुको इतिहास खोतल्ने हो भने यी नै धर्म र राष्ट्रको नाममा सबैभन्दा धेरै रगत बगेको छ । यी दुबैको एक भएर मेल हुँदा त झन भयंकर दुष्परिणाम उत्पन्न हुने गर्दछ । जसका अनेक उदाहरण इतिहासका पाना भरी छरपष्ट भएर रहेका छन् । अनि तिनै कुरा – धर्म र राष्ट्र – लाई रक्तपात, अत्याचार, उत्पीडन शोषण, घोर अमानबीय ब्यबहार, यतिसम्मक ब्यभिचारलाई पनि जायज ठहराउने कुराको समेत बहना पनि मजाले बनाइएको पाइन्छ । फेरि पनि यी दुबैको (धर्म र राष्ट्रको) सत्ता अहिले पनि मजाले कायम छ । त्यसैले यसमा निश्चित रुपले कुनै न कुनै यस्तो तत्व छ या कारण छ, जसको सहारामा मानिस यी दुइ तत्वकातिर आकर्षित हुन्छ या खिचिन्छ ।
शायद यसै कारणले समेत प्रसिद्ध बिश्व दार्शनिक कार्ल मार्क्सले बिस्तृत बिश्लेषण गरेर अर्थात् धर्मशास्त्र, कर्मकाण्ड र यसबाट आम मानिसमा परेको प्रभाव र त्यसमा उनीहरु अभ्यस्त हुने भावनात्मक कारणहरुको समेत संश्लेषण गरेर यसलाई अन्ततः सकारण ‘अफिम’ भन्ने संज्ञा दिएका थिए । अहिले बिश्वमा चलिरहेको ‘आतंकबाद’को एउटा पक्ष त धर्मसँगनै जाेडिएर रहेको छ । बिद्यमान काल खण्डमा बिश्वभरीमै र कतिपय क्षेत्रका देशहरुमा धर्मका नममा अत्यन्तै ठूल्ठूलाे तनाबको बातावरण पैदा हुन थालेको या त्यस्ताे बातावरणा सिर्जना गर्न गराउन थालिएकाे देखिन्छ । कपितय बिद्वानहरुले यसलाई बेग्ला बेग्लै सँस्कृतिको संघर्ष भनेर पुट दिन पनि खोजेका छन्

। त्यसैले धर्म नितान्त नीजी मामिला हो भन्ने फैसला कतिपय बिश्वका न्यायमूर्तिहरुले गरिसकेका पनि छन् । उनीहरुले त्यसो गर्दा धर्म र आस्थालाई कुनै पनि ब्यक्तिको नितान्त निजी मामिला मानेका छन् र यसरी त्यसलाई निजी मामिला मानेर राजनीतिबाट त्यसलाई टाढा राखिनु पर्ने दलील दिएका छन् । अनि धेरै जसो देशका संविधानहरुले लोकतन्त्रलाई अबलम्बन गरेका देशका संविधानहरुले ब्यक्तिगत स्वतन्त्रता र नीजताको सुरक्षालाई सुनिश्चितता(ग्यारेण्टी) पनि दिएका छन् ।
तर प्रश्न फेरि पनि किन उठ्छ भने जब कुनै कसैको धर्मले अरु कसैको आस्थामा बाधक बन्न पुग्दछ र त्यसैको नाममा कुनै किसिमको भेदभाव या अन्याय पनि गरिने गरिन्छ । यसमा पनि एउटा सीमा रेखा खिच्ने हो भने कि धर्म र आस्थालाई त अलग राखियोस् नै तर त्यसकोे नाममा चल्ने गरेका कुप्रथाहरु मेटाउनका लागि मानिसहरुमा एउटा यथेष्ट जागरुपता पैदा गरियो भने सापेक्षरुपमा राम्रो हुन सक्तछ कि ! कोशिश के हुनु पर्दछ भने जुन समजमा जुन कुप्रथा या खराबी ब्याप्त छ त्यसका बिरुद्ध त्यसै समाज भित्रैबाट आवाज उठ्नु पर्दछन । अरु कसैमाथि केही थोपर्ने प्रबृत्तिबाटै कट्टरता पैदा हुन्छ, जसको परिणाम जहिले पनि बिनाश लिएर आउने गर्दछ । बिश्वभरी जहाँ पनि बिगतदेखि यो पनि इतिहासमा दोहोरिइरहेको कुरा हो ।