'महापण्डित’ उपाधि पाएका बहुआयामिक,३६ भाषाका ज्ञाता,भारतीय विद्वान राहूल सांकृत्यायन (१८९३–१९६३) हिन्दीका चर्चित साहित्यकार हुन् । जीवनी लेखक, यात्रा विवरण (नियात्रा साहित्य), इतिहासविद्, तत्वान्वेषी, तिब्बतदेखि श्रीलंकासम्मको खोजयात्रा गरेका बौद्धधर्मका अनुसन्धाता पनि हुन् राहुल ।
यिनलाई साम्यवादी चिन्तक, सामाजिक क्रान्तिका अग्रदूत, विश्व दृष्टिकोण र १९२३ बाट शुरू भएको यात्रा र यात्रा–साहित्यका अद्वितीय व्यक्तित्व मानिन्छ । महामानव गौतम बुद्धका अतिरिक्त कार्ल मार्क्स, लेनिन, स्तालिन, माओ जस्ता कम्युनिस्ट नेताहरूका जीवनी लेखक हुन् उनी ।
नेपालीहरूसँग राहुलजीको सम्बन्ध, नेपाली काँग्रेसका महामन्त्री (वि.सं.२००९) धनमानसिंह परियारकी बहिनी, चर्चित हिन्दी तथा नेपाली साहित्यकार डा.कमला परियार (१९२०–२००९) सँग उनले तेस्रो विवाह गरेका थिए र उनीबाट कमलाजीले दुई छोरा (जेथा र जयन्त) र एक छोरी (जया) लाई जन्म दिइन् ।
राहुलजी पहिलोपटक, वि.सं.१९८० मा शिवरात्रीको अवसरमा १५ दिनको बसाई लिएर नेपाल आएका थिए। त्यसपछि धेरैपटक नेपाल आए । लुम्बिनी लगायत तराईका धेरै ठाउँ पुगे । बौद्धका लामा भिक्षुसँग कुरा मिलाएर लुकीछिपी तिब्बत पुगे । उनको नेपाल भ्रमण र बौद्धधर्मको विषयमा अलका आत्रेय चूडालले पीएच्डीको शोधपत्र नै लेखेकी छन् । पछिल्लोपटक उनी २०१० सालमा आए । धर्मरत्न यमीको घरमा केही महिना बसे । साहित्यिक, राजनीतिक, धार्मिक (विशेषगरी बौद्धमार्गी) आदि विभिन्न व्यक्तिहरूलाई भेटे । गुम्बा वा बिहारहरू घुमे ।
त्यही अवसरमा हो, उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट अत्यन्तै प्रभावित भएछन्, भने, “मैले यस्तो (देवकोटाजी सरहको) अद्भुत प्रतिभा देखेको थिईंनँ । (भारतीय छायावादी साहित्यका) तीन महान् कविहरू प्रसाद, पन्त र निराला (जयशंकर प्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’) को प्रतिभा एउटै देवकोटाजीमा पाएँ ।”
उनले हिन्दु धर्मलाई पढेर खर्लप्पै निलेका थिए,आलोचनात्मक दृष्टिकोणका साथ । हिन्दूहरूको बली प्रथाको विरोध गर्ने हुँदा अयोध्याका पण्डित–पुजारीहरू लाठी लिएर पिट्नै आईलागेका थिए। बौद्धधर्म अँगाले पनि त्यसको ‘पुनर्जन्मवाद’ को विरोध गरिरहे । जीवनको उत्तरार्धमा मार्क्सवादी भए, तर सोभियत कम्युनिस्ट पार्टीमा घुसपैठ गरेका सुविधाभोगी, पाखण्डी र सत्तालोलुप नेताहरूको भण्डाफोर गर्ने हुँदा सोभियत संघ छोडेर हिंड्नु पर्यो । भारतमा ‘हुँकार’ पत्रिकाको सम्पादक हुँदा तत्कालीन ब्रिटिश शासनले भारतीय काँग्रेस र उसको ‘भारत छोड् आन्दोलन’ को विरोध गर्ने ‘गुण्डाहरूसँग भिडौं’ शीर्षकको, काँग्रेसलाई संकेत गरेका चित्रसहितको ठूलो धनराशीको विज्ञापन छाप्ने कुराको विरोध र प्रकाशकसँग असहमति भएपछि पत्रिकालाई तिलान्जली दिएर हिंडे । विहारका किसानहरूको आन्दोलनमा लाग्दा जमिन्दारहरूबाट चुटाई र टाउको फोराई भोग्नुपर्यो ।
राहुल सांकृत्यायन भारतको उत्तरप्रदेशस्थित आजमगढ़ जिल्लामा पर्ने पन्दहा गाउँमा, धार्मिक विचारधाराका किसान, सांकृत्य गोत्री ब्राम्हण पिता गोबर्धन पाण्डेय र आमा कुलवन्तीबाट केदारनाथ पाण्डेयको नाममा जन्मेका थिए । यिनी बालक हुँदै आमाको निधन भएपछि केदार (राहूल) को लालनपालन मावलमै भयो। प्राथमिक शिक्षा गाउँकै मदरसाबाट प्रारम्भ भयो । पहिलो विहे गाउँमै भयो ।
किशोरावस्थाका राहूल घर छोडेर हिंडे र साधुसन्तका संगतमा पुगे । साधुहरूले उनको नामकरण ‘रामोदर साधु’ गरिदिए । सन् १९३० मा उनी श्रीलंका पुगेर बौद्धधर्मबाट दीक्षित तथा गौतम बुद्धको छोरा सम्झाउने ‘राहूल’ र आफ्नो गोत्रबाट ‘सांकृत्यायन’ भए । हरेक विधामा उनको अद्भुत र अजेय तर्कशक्ति पाएर बनारसका पण्डितहरूले ‘महापण्डित’ उपाधि दिएका हुन् ।
१९३७ मा रुसको लेनिनग्रादको एक विद्यालयमा संस्कृतको अध्यापक भएर बस्दा उनले लोला एलिना नामकी रुसी महिलासँग दोस्रो विवाह गरेका थिए । उनीबाट एक छोराको जन्म भयो । तर ११ वर्षपछि १९४८ मा उनी भारत फर्किए । उनी स्थिर मानिस थिएनन्, हिंडिरहनु पर्थ्यो । १९५० मा नैनितालमा बस्ने चाँजोपाँजो मिलाए । तर किन हो त्यसपछि उनले दार्जिलिङ्गलाई बसोबासको स्थान बनाए, जहाँ उनको मधुमेहको कारण ७० वर्षको उमेरमा निधन भयो ।
भारत सरकारबाट पद्मभूषण लगायत अनेकौं प्रतिष्ठित पुरस्कार र सम्मानद्वारा विभूषित, जन्मगाउँमा उनकै नाममा पुस्तकालय स्थापित छ भने सन् १९९३ मा शतवार्षिकी जन्मजयन्तीको अवसर पारेर उनको चित्रअंकित हुलाक टिकट प्रकाशित गर्यो ।

प्रस्तुत फोटो -
वि. स. २०१० मा सांकृत्यायन काठमाडौं आएको बेला तत्कालीन नेता धर्मरत्न यमी (हिसिला यमीका पिता) को घरमा बसेका थिए। त्यसै परिवेशको तस्बिर।

नेपाली मूलकी कमला परियार, जो सांकृत्यायनकी तेस्री पत्नी बनिन् ।
साभार : गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम