भक्तपुरको जगातीमा रहेको सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्य संस्थालाई कृषि सम्बन्धी सेवा दिन शुरु गरेको छ ।
संस्थाले तरकारी, अन्नबाली र फलफूलमा लाग्ने रोग किरा तथा अन्य समस्याको पहिचान र समाधान गर्ने उद्देश्यका साथ परामर्श सेवा थालनी गरेको जनाएको छ ।
संस्थाका कुल सदस्यहरुमध्ये ७० प्रतिशत कृषि पेशामा आवद्ध रहेको र उनीहरुले लगाएका तरकारी फलफूल तथा अन्नबालीमा आउने समस्याहरुको पहिचान र सहज रुपमा समाधान दिन उद्देश्यका साथ उक्त सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक सानुकाजी चिकंबञ्जारले बताए ।
संस्थाले आर्थिक कारोबारमात्र नगरी सदस्यहरुलाई कृषि सम्बन्धी परामर्श दिन सो सेवा थालनी गरिएको उनको भनाई छ ।
कृषकहरुले लगाएको तरकारी फलफूल र अन्नबालीमा लागेका रोगको माइक्रोस्कोपको माध्यमबाट परीक्षण गरी आवश्यक औषधी उपलब्ध गराउन थालिएको उनले बताए ।
संस्थाले त्यसका लागि ल्याब सहित कृषि प्राविधिकको समेत व्यवस्था मिलाएको छ । भदौ १ गतेबाट सेवा शुरु गरिएकाले सबै सदस्यहरुमाझ यसका बारेमा जानकारी पुर्याउन बाँकी रहेको उनले जनाए ।
भक्तपुरमा विशेषतः धान र गहुँ खेती हुने र अहिले धानको सिजन रहेकाले धानको हाँगा कुहिने समस्या बढेर गएको कृषकहरुले बताएका छन् ।
संस्थाले सोही अनुरुप कृषकहरुलाई परामर्श तथा औषधी उपलब्ध गराउँदै आएको छ । संदस्यले ल्याएका नमूनाहरु ल्याबमा परिक्षण गर्ने गरेको र प्राविधिकलाई चित्त नबुझेमा फिल्डमै गएर समस्याको समाधान गर्न सघाउने गरिएको उनले जनाए ।

संस्थाले सदस्य कृषकहरुले ल्याएको नमूनाको परिक्षण गर्दा २०० रुपैया र गैरसदस्य कृषकलाई ३०० रुपैया शुल्क लिने गरेको छ । यदि प्राविधिकले फिल्ड भिजिट गर्नुपरेमा भने थप ५०० रुपैया शुल्क लाग्छ । तीन साताका अवधिमा ५० जनाले कृषि सम्बन्धी परामर्श तथा सेवा लिएको संस्थाले जनाएको छ । सदस्यहरुकै मागको आधारमा यस्तो सेवा शुरुवात गरिएको व्यवस्थापक चिकंबञ्जारले उल्लेख गरे ।
संस्थाले कृषि र शिक्षा क्षेत्रमा अन्य क्षेत्रको तुलनामा १ प्रतिशत न्यून ब्याजदरमा ऋण लगानी गर्दै आएको छ । संस्थामा हाल १३०० सदस्य १ करोड २८ लाख शेयरपुँजी, १३ करोड ऋण लगानी गरी कुल कारोबार १७ करोड पुगेको छ । कोभिड १९ बाट बच्न सरकारले गरेको निषेधाज्ञाको अवधिमा समेत संस्थाले बिहान ८ बजेदेखि १ बजेसम्म नियमति कार्यालय सञ्चालन गरी सदस्यहरुलाई सेवा दिएको उनको भनाई छ ।
निषेधाज्ञाका ३ महिनाको ब्याजमा छुट दिनुका साथै हर्जाना मिनाहा गरिएको उनले जनाए । कोभिडका कारण सदस्यहरुको व्यापारव्यवसाय प्रभावित हुँदा आउनुपर्ने किस्तामा कमी आउँदा केहि असहज भएको उनको भनाई छ ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले उक्त सेवाको शुभारम्भ गरेका थिए । नगरप्रमुख प्रजापतिले अन्नबालीमा लाग्ने रोगको पहिचान गरी कृषकलाई परामर्श तथा सल्लाह दिने कार्यको शुरुवात हुनु आफैंमा सुखद भएको धारणा राखेका थिए । कृषि उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर बनाउन जोड दिँदै आएको अवस्थामा सरकारले मुलुकमै रासायनिक मल उत्पादनको प्रक्रिया अगाडि बढाउनुपर्ने उनले जनाएका थिए ।